६ श्रावण २०८३, बुधबार
,
Latest
आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक छ : सञ्चारमन्त्री तिमिल्सिना बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश महासंघका आठ वटा विषयगत समितिले पाए पूर्णता, सदस्यलाई मनोनयन पत्र हस्तान्तरण वैज्ञानिक उपायहरू समेटिएको स्पष्ट कार्ययोजना तयार गर्न मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन टास्क फोर्सले मन्त्री चौधरीको निर्देशन आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल,आयुर्वेदिक पर्यटन प्रवर्द्धनमा सरकारको जोड बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऐतिहासिक दस्ताबेज नष्ट गर्नेलाई राष्ट्रद्रोह सरहको मुद्दा चलाउनुपर्नेमा सांसदहरुको जोड (भिडियोसहित)



अ+ अ-

काठमाडौँ । सांसदहरुले राज्यका महत्वपूर्ण अभिलेख तथा ऐतिहासिक दस्ताबेजहरु नष्ट गर्नेलाई राष्ट्रद्रोह सरहको मुद्दा चलाएर कारबाही गर्नुपर्ने बताएका छन् ।

शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सांसदहरुले राज्यको ऐतिहासिक दस्ताबेज तथा अभिलेखहरुलाई नष्ट गर्नेलाई राष्ट्रद्रोह सरहको मुद्दा चलाउनुपर्ने धारणा राखेका हुन् । सांसदहरुले यस्तो काम गर्नेलाई कडाभन्दा कडा सजाय तथा जरिवाना हुनुपर्ने बताएका छन् ।

बैठकमा अभिलेख संरक्षण ऐन,२०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफलको कार्यसूचि रहेको थियो । सो विधेयकमा संशोधन राख्ने केही सांसदहरुलाई बैठकमा बोलाइएको पनि थियो । सांसदहरुले आफ्नो संशोधन राख्दै यस्तो धारणा राखेका हुन् । बैठकमा बोल्दै नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राज्यका महत्वपूर्ण अभिलेख नष्ट गर्नेलाई ३/५ वर्षको सजायले नपुग्ने बताउनु भयो । उहाँले विधेयकमा सजायको व्यवस्था कम भएको उल्लेख गर्दै कम सजायको व्यवस्था गरेर विधेयक ल्याउनु आपत्तिजनक भएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘बास्तवमा यो ३ वर्ष, ५ वर्ष मात्रै सजाय दिने यो के गर्न खोजेको ? राष्ट्रघाती काम हो नि यो त । महत्वपूर्ण अभिलेखहरु हुन्छन् । सजाय सम्बन्धी व्यवस्था कसरी कसले गरेको हो यो पनि प्रश्न उठ्छ । यति हल्का ढंगले विधेयक तयार गर्ने कुरा पनि आपत्तिजनक छ । राष्ट्रिय अभिलेखालय जहाँ राष्ट्रिय अभिलेखका महत्वपूर्ण दस्तावेजहरु हुन्छन् । त्यो कसैले बद्मासी गर्‍यो भने ३ वर्ष, ५ वर्ष, ३ हजार, ५ हजार हुनेकुरा आपत्तिजनक हुन्छ ।’

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीकि सांसद सुमना श्रेष्ठले ऐतिहासिक दस्ताबेज नष्ट गर्नेलाई राष्ट्रद्रोह सरहको कारबाही हुनुपर्ने बताउनु भयो । उहाँले २० वर्ष कैद र धेरै जरिवाना हुनुपर्ने बताउनु भयो । उहाँले अभिलेखहरुलाई विद्युतिय अभिलेखमा रुपान्तरण गर्नुपर्ने पनि बताउनु भयो । अभिलेखहरुलाई विभिन्न प्रकारका विपत्तिहरुबाट समेत बचाउने गरी सुरक्षित रुपमा राख्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हामीले हाम्रो इतिहासलाई जोगाउनुपर्छ । त्यसकारण यसको दण्ड सजाय एकदमै कडा गर्नुपर्छ । २ हजार र ३ वर्षको सजाय हुनै हुन्न । यो त राष्ट्रद्रोह लेभलको हुनुपर्छ । मलाई लाग्छ, हाम्रो सन्धिहरु, हामीले गरेका दस्तावेजहरु यदि कसैले नष्ट गर्छ, बिर्गाछ भने राष्ट्रद्रोहको लेभलमा कारबाही गर्नुपर्छ । पुरानो कागजातलाई सुरक्षित ढंगले राख्नुपर्छ । आगलागी, प्राकृतिक प्रकोपबाट सुरक्षाको प्रवन्ध मिलाइयोस् । सुरक्षा भनेको चोरी मात्रै सम्झनु भएन । डिजिटाइज गर्नुपर्‍यो अभिलेखहरु । विद्युतीय अभिलेख चाहिन्छ । दण्ड सजाय सान्दर्भिक हुँदै भएन । ३ हजारमा सारा नेपालको दस्तावेज उडाउन मिल्ने रहेछ । दण्ड सजाय, एक लाख, दुई लाख होइन । राष्ट्रद्रोहको लेभलमा कारबाही गरेर जेल २० वर्ष र धेरै जरिवाना पनि लगाउनुपर्छ ।’

बैठकमा बोल्दै नेकपा(एमाले)का सांसद रघुजी पन्तले राष्ट्रिय महत्वका कागजातहरु नेपाल बाहिर लैजान दिनु नहुनेमा जोड दिनुभयो । उहाँले त्यस्ता कागजात नेपाल बाहिर लानुपरे अपरिहार्य कारण खुलाउनुपर्ने व्यवस्था गर्नुपर्ने बताउनु भयो । नेपाल बाहिर कुनै कागजात पठाउनुपर्दा प्रतिलिपी मात्र पठाउनुपर्ने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘नेपाल सरकारले नेपाल राजपत्रमा सुचना प्रकाशित गरी तोकिएका राष्ट्रिय महत्वका कागजात कसैले पनि नेपाल बाहिर लैजानु नहुने । विशेष समयका लागि त्यस्तो कागजातको सक्कल प्रति नेपाल बाहिर लैजानुपरेमा लैजानुपर्ने अपरिहार्य कारण के हो खुलाइ भन्ने थप गर्नुपर्छ । नत्र भने प्रतिलिपि लानुपर्छ । तिनीहरुलाई सकेसम्म चलाउनुहुँदैन ।’

सांसद पन्तले विधेयकमाथि छलफल हुँदा मन्त्री अनिवार्य उपस्थित हुनुपर्ने माग समेत गर्नुभयो । मन्त्रीको अनुपस्थितिमा बैठक सञ्चालन गर्नु नहुने अडान उहाँले राखेपछि रास्वपा सांसद श्रेष्ठले पनि उहाँको कुरामा साथ दिनुभएको थियो । तत्पश्चात बैठक अगाडी बढेन र सभापति राजकिशोर यादवले बैठक स्थगित भएको जानकारी गराउनु भयो ।