२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बिमस्टेक बैठकमा नेपालको प्रस्ताव : क्षेत्रीय विपद् संयन्त्र र संयुक्त कार्यदल गठन गर्नुपर्ने News Polar बिमस्टेक बैठकमा सहभागी भएर गृहमन्त्री गुरुङ आज स्वदेश फर्किँदै News Polar चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु News Polar १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियो, अनुमोदनको निर्णय हुन बाकी News Polar प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता News Polar देशभर २४ घण्टामा १५ विपद्का घटना, १० घाइते News Polar जुम्लाका २२० नागरिकले घरमै पाए राहदानी News Polar विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग News Polar सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै News Polar दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला

बिहेभोजका नाममा रातभर बजाइने डिजेले नागरिकलाई सास्ती

बिहेभोजका नाममा रातभर बजाइने डिजेले नागरिकलाई सास्ती
अ अ+ अ-

टीकापुर । कैलालीका गाउँमा विवाह तथा भोजका नाममा रातभरि बजाइने बाजा तथा डिजेले नागरिक दिक्क भएका छन् । गाउँघरमा विवाह तथा भोजका नाममा बजाइने बाजागाजाले नागरिकलाई सास्ती भएको छ ।

टीकापुर नगरपालिका–५ की सन्ध्या चौधरी सुत्केरी भएको सात दिन भयो । उहाँको छिमेकमा विवाह थियो । छिमेकमा चार दिनसम्म डिजे बजाइयो । भर्खरै सुत्केरी भएकी सन्ध्यालाई निकै तनाव भयो । उहाँले रातिको समयमा राम्ररी सुत्न पाउनुभएन । साथै भर्खर जन्मिएको बच्चा तर्सिन थाल्यो । “सुत्केरी अवस्थामा पर्याप्त आराम चाहिन्छ, छिमेकमा विवाह थियो, नबजाउनु भन्न सकिएन”, सन्ध्याले भन्नुभयो, “रातभर सुत्न सकिएन, बच्चा पनि ठूलो आवाजले होला तर्सन थालेको छ, बाजाले कस्तो असर पार्छ भन्ने बल्ल बुझेकी छु ।”

जानकी गाउँपालिकाका ७६ वर्षीय रुपराम कामीलाई पनि रातभर गाउँमा बजाइने डिजेको असर निकै पर्छ । उहाँको गाउँमा पनि विवाह तथा भोजमा मात्र होइन, कसैको जन्मदिन भएमा पनि रातभर ठूलो स्वरमा बाजा बजाइने गरिन्छ । “म बूढो मानिस गाउँमा रातभर बाजागाजा बजाएमा सुत्न सकिँदैन, मलाई उच्च रक्तचापको समस्या छ, रातभरि नसुत्दा स्वास्थ्यमा असर पर्छ”, उहाँले भन्नुभयो, “मैले त अत्ति भएपछि गाउँपालिकामा गएर वडाध्यक्षलाई रोक्न आग्रह गरे तर गाउँका मानिस अटेरी हुने रहेछन्, अहिले पनि यस्तै छ ।”

त्यस्तै रातिको समयमा ठूलो स्वरमा बाजागाजा बजाउँदा विद्यालय पढ्ने बालबालिकालाई बढी समस्या हुने गरेको छ । रातिको समयमा बाजाको आवाजले बालबालिकाले पढ्न नपाउने, निद्रा पूरा नहुँदा भोलिपल्टको पढाइमा असर पर्ने गरेको छ । विद्यार्थी सुलभ साउदले गाउँमा बजाइने डिजेका कारण आफूलाई बढी असर परेको बताउनुभयो । “ठूलो आवाजमा गाउँ नै थर्किने गरी बाजा बजाउँदा पढाइमा मन जाँदैन”, उहाँले भन्नुभयो, “सरकारले यसलाई रोक्नपर्छ, निश्चित समय तोक्नुपर्छ ।”

यसरी रातिको समयमा बाजागाजा बजाउँदा बालबालिका जम्मा हुने भएकाले गलत बाटोमा जानसक्ने डर पनि त्यत्तिकै छ । यसरी भीडभाड भएमा झैँझगडा हुनसक्ने, चोरी लुटपाटजस्ता जोखिम रहेको स्थानीयवासी झपट बुढा बताउनुहुन्छ । “रातिको समयमा बालबालिका जम्मा भएमा गलत बाटोमा लाग्न सक्छन्”, बुढा भन्नुहुन्छ, “रमाइलोका नाममा अरुलाई असर गर्ने गरी गर्न हुँदैन, यसरी गाउँलाई नै असर पार्ने गरी रातिको समयमा बजाइने बाजा नियन्त्रण गर्नुपर्छ, रमाइलो दिउँसो गरे भैहाल्छ नि ।”

अरुलाई असर हुने गरी बाजा बजाएमा टीकापुर प्रहरीले सम्झाउने र बाजा बजाउने काम बन्द गर्न लगाउने इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बम बताउनुहुन्छ । “कहिलेकाहीँ हामीलाई रातभर सुत्न पाइएन भनी छिमेकीले नै फोन गर्ने पनि गर्नुभएको छ, हामीले रातिको समयमा अरुको निद्रामा असर पार्ने गरी नबजाउन आग्रह गर्ने, बन्द गर्न लगाउने गरिरहेका छौँ”, प्रहरी निरीक्षक बलमे भन्नुभयो, “गाउँमा देखिने यस्ता समस्या समाधानका लागि हामीले बस्तीस्तरमा स्थानीयवासीकै सक्रियतामा सुरक्षा समिति गठन गरेका छौँ, समितिले अब समुदायका यस्ता समस्या हल गर्नेछन् ।”

जानकी गाउँपालिकाले भने सार्वजनिक सूचना जारी गरेर रातिको १०ः०० बजेपछि बाजा बजाउन रोक लगाएको छ । गाउँपालिकाले राति १०ः०० बजेपछि बाजा बजाउन नपाइने सहमति गरेर सबै वडामा निर्देशन दिएको वडा नं १ का वडाध्यक्ष धनीराम चौधरी बताउनुहुन्छ । “हामीले गाउँका बडघर तथा अगुवा नागरिकलाई भेला गरेर रातिको समयमा अरुलाई असर पार्ने गरी बाजा नबजाउने विषयमा छलफल र सहमति गरेका छौँ”, उहाँले भन्नुभयो, “तर नागरिकले अटेरी गर्दा डिजे आतङ्क नियन्त्रण गर्न सकिएको छैन ।” रासस