८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने

च्याउ खेतीमा जमेका वीरबहादुर

च्याउ खेतीमा जमेका वीरबहादुर
अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–६ कसरौलका २७ वर्षीय वीरबहादुर राना अष्ट्रेलिया जाने मौका रद्द गरी व्यावसायिक च्याउ खेतीमा लाग्नुभएको छ ।

अठारमहिने कृषि जेटिए पढेका राना पाँच वर्षदेखि बाह्रै महिना च्याउ खेती गर्दै आउनुभएको छ । घरपरिवार आफन्तले निकै दबाब दिएपछि रानाले अष्टे«लिया जानका लागि आवेदन दिनुभयो । “स्वदेशै स्वरोजगार भएर बस्ने मनभित्रकै इच्छा थियो”, उहाँले भन्नुभयो, “त्यही भएर कृषि जेटिए पढेँ, विदेश जानका लागि निकै दबाब दिए पनि प्रवेशाज्ञा नै रद्द गरी च्याउ खेतीमा लागँे ।”

रानाले वर्षमा रु २० लाखदेखि रु २७ लाखसम्मको च्याउ बिक्री गर्दै आएको बताउनुभयो । सोबाट उहाँले च्याउ उत्पादन गर्दा लाग्ने खर्च कटाएर रु १० लाख जति रकम बचत गर्दै आएको बताउनुभयो । च्याउ खेतीका लागि उहाँले रु ३० लाखभन्दा बढी लगानी गर्नुभएको छ ।

उहाँ दैनिक बिहानदेखि साँझ अबेरसम्म च्याउ उत्पादनका लागि राखिएका परालका पोकामा पानी छर्कने, च्याउ टिप्ने र बजारसम्म लगेर बिक्री गर्ने कार्यमा व्यस्त हुनुहुन्छ । च्याउ उत्पादनका लागि नगरपालिकाको कृषि शाखाबाट पाइएको रु १२ लाख अनुदान रकमबाट उहाँले उच्च प्रविधिको प्लास्टिक टनेल निर्माण गर्नुभएको छ ।

प्लास्टिक टनेल र आफ्नै लगानीमा निर्माण गरिएका सात टनेलमा रानाले च्याउ उत्पादन गर्दै आउनुभएको छ । हिउँदका बेला कन्या जातको, गर्मीका बेला मिल्की जातको र गर्मी तथा चिसो बीचको मौसममा पिङ्की जातको च्याउ रानाले उत्पादन गर्दै आउनुभएको छ ।

“यस वर्षको साउनदेखि हालसम्म पिङ्की चार क्विन्टल र मिल्की च्याउ तीन क्विन्टल उत्पादन भएको छ”, रानाले भन्नुभयो, “पिङ्की रु चार सय प्रतिकिलोका दरले बिक्री भयो, कन्या च्याउ ४० क्विन्टल बिक्री भइसकेको छ, जुन प्रतिकिलो रु एक सय ३० का दरले बिक्री भएको छ ।”

उहाँका अनुसार टनेलमा अझै ६० देखि एक सय क्विन्टल कन्या जातको च्याउ उत्पादन हुने क्रममा रहेको छ । स्थानीय बजारमै च्याउ खपत हुने भएकाले बेच्नका लागि रानालाई झन्झट भने छैन । कन्या च्याउ जस्तै पिङ्की र मिल्की च्याउको उत्पादन बढाउनका लागि कार्य अगाडि बढाइएको रानाले बताउनुभयो ।

“दुवै जातका च्याउको बजारमा निकै माग छ, उत्पादन बढाउनका लागि लागेको छु”, उहाँले भन्नुभयो, “उत्पादन गर्न मेहनत र लागत खर्च बढी लाग्ने भएकाले मूल्य बढी राखेका हौँ ।” नगरपालिकाबाट पाइएको अनुदान रकमबाट रानाले उच्च प्रविधिको टनेलसँगै पाँच पराल काट्ने मेसिन, च्याउ सुकाउने ड्रायर मेसिन, दुई पानी छर्कने विद्युतीय मोटर जडित ‘फोगर सिस्टम’ खरिद गर्नुभएको छ ।

“पहिला च्याउ उत्पादन गर्न बीउसहित राखिएका परालका पोकामा हातैले ट्याङ्कीबाट पानी छर्कने गरेका थियौँ”, उहाँले भन्नुभयो, “एकजना मजदुर पानी छर्कनका लागि मात्रै राख्नुपर्ने अवस्था थियो, टनेलमा फोगर सिस्टम जडान गरिएपछि विद्युत्को स्विच थिच्ने बित्तिकै स्वचालित रुपमा आफैँ पानी लहरै झुन्ड्याएका परालका पोकामा पुग्ने गर्दछ ।” सो प्रणालीका कारण समय र मजदुरमा लाग्ने खर्च बचत भएको उहाँको भनाइ छ ।

रानालाई विदेश जान दबाब दिने परिवारका सदस्य र आफन्त च्याउ खेतीबाट गरेको कमाई देखेर दङ्ग छन् । परिवारका सदस्यले पनि च्याउ खेती गर्नमा रानालाई सहयोग गर्दै आएका छन् । भविष्यमा च्याउको बीउ उत्पादन गर्न उहाँले ‘ल्याब’ स्थापना गर्ने सोच पनि राख्नुभएको छ । उहाँले हाल निजी स्तरबाट सञ्चालित ल्याबमा च्याउको बीउ उत्पादन गर्दै आउनुभएको छ ।

उत्पादित बीउ आधा ल्याब सञ्चालकका लागि र आधा आफूलाई राख्ने गरी उत्पादन गर्दै आएको उहाँले बताउनुभयो । आठजनाको परिवारको खर्च च्याउ खेतीले धानिएको रानाले सुनाउनुभयो ।

नगरपालिकाको कृषि शाखाका प्रमुख करनसिंह बुढाऐर राना नगरपालिका क्षेत्रमै च्याउ खेती गरेर बढी कमाई गर्ने किसानका रुपमा परिचित रहेको बताउनुहुन्छ । व्यावसायिक च्याउ खेतीमै लागेर कार्य गरेको देखेर प्रोत्साहित गर्नका लागि गत आवमा च्याउ पकेट कार्यक्रमअन्तर्गत अनुदान रकम उपलब्ध गराइएको उहाँ बताउनुहुन्छ ।

रानाले उत्पादन गरेको च्याउ स्थानीय बजारसँगै महेन्द्रनगर र धनगढीसम्म बिक्री हुने गरेको उहाँले बताउनुभयो । व्यावसायिक च्याउ खेती गर्न इच्छुक किसानलाई नगरपालिकाबाट प्रत्येक वर्ष बीउ र प्रविधिमा सहयोग हँुदै आएको उहाँले जानकारी दिनुभयो ।

वडाध्यक्ष दानसिंह ऐर च्याउ खेतीमा लागेर रानाले गरेको प्रगति प्रशंसायोग्य रहेको बताउनुहुन्छ । “च्याउ खेतीबाटै रानाले आफ्नो परिचय मात्रै बनाउनुभएको छैन, वडालाई चिनाउनुभएको छ”, उहाँले भन्नुभयो, “राना नगपालिकाकै गर्व गर्ने पात्रका रुपमा हुनुहुन्छ ।” रासस