२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामुदायिक वनमा ‘रिचार्ज पोखरी’ निर्माण र मूल संरक्षण गरिँदै



अ+ अ-

ढोरपाटन (बागलुङ) : गण्डकी प्रदेशले बागलुङ नगरपालिकाको उच्च पहाडी भेगमा ‘रिचार्ज पोखरी’ निर्माण र पानीको मुहान संरक्षण गर्ने भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत ‘रिचार्ज पोखरी’ र पानीको मुहान संरक्षण गर्न थालिएको हो ।

सुरुमा बागलुङ नगरपालिका–११ रायडाँडा हलहले क्षेत्रमा रहेको पानीको मुहान संरक्षण गरिने भएको छ । यस क्षेत्रमा खानेपानीको अभाव हुँदा घण्टौँ टाढाबाट पानी लिएर उपभोग गर्नुपरेको स्थानीय रणबहादुर थापाले बताउनुभयो ।

हलहले क्षेत्र नजिकै बौद्ध गुम्बा रहेको र त्यहाँ पर्यटक आउँदा पिउनका लागि पानी अभाव रहेको भन्दै स्थानीयले करिब दुई घण्टा टाढाबाट गाग्रीमा पानी बोकेर उपभोग गर्दै आएको थापा बताउनुहुन्छ । नजिकै रहेको पानीको मुहान सुक्दै गएपछि टाढा रहेको कुवाबाट पानी बोकेर ल्याउनुपरेको उहाँको भनाइ छ । गुम्बा आउने पर्यटक र स्थानीयलाई पिउने पानीको व्यवस्थापन गर्नका लागि एक जना कामदार राखेको उहाँले बताउनुभयो ।

“यो क्षेत्रमा पहिलेदेखि नै खानेपानीको अभाव थियो, अहिले पनि हलहल क्षेत्रमा बढी समस्या छ, यहाँ बौद्ध गुम्बा छ, पर्यटक आउँदा पानी पिउन दिन नसकिने अवस्था छ, अहिले गुम्बा क्षेत्रका स्थानीय आकाशे पानीको भरमा छन्, पिउनका लाग एक घण्टा टाढा कुवाबाट गाग्रीमा ल्याउनुपर्छ”, थापाले भन्नुभयो, “दिनभरि पानी बोक्नका लागि एक जना मान्छे राखेका छौँ, सरकारले मुहान संरक्षण गरेर नजिकै पानी ल्याउने योजना बनाएको छ, मुहान संरक्षित भयो भने धेरै सहज हुनेछ ।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु पाँच लाखले यहाँ पानीको मुहान संरक्षणसँगै विभिन्न ठाउँमा ‘रिचार्ज पोखरी’ निर्माण गर्ने स्थानीयसमेत रहनुभएका गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले बताउनुभयो । यस वर्ष जैमिनी नगरपालिका–३ को दमेक, काठेखोला गाउँपालिका–७ रेश, बागलुङ नगरपालिका–११ रायडाँडा र वडा नम्बर ९ को तित्याङ, वडा नम्बर ८ को सिगाना र वडा नम्बर १० को भकुण्डेका सामुदायिक वनलाई रिचार्ज हुने गरी चारवटा ‘रिचार्ज पोखरी’ निर्माण गर्ने मन्त्री थापाले जानकारी दिनुभयो ।

समुद्री सतहदेखि करिब दुई हजार दुई सय मिटर उचाइमा रहेको हलहल क्षेत्रमा पानीको मुहान संरक्षण गर्नका लागि अध्ययन गरेको मन्त्री थापाको भनाइ छ । पछिल्लो समय वन जङ्गलमा पानीको मुहान सुक्दै गएपछि धेरै ठाउँमा खानेपानीको हाहाकार हुने र जङ्गलका बोटबिरुवा मर्ने समस्या देखिएको उहाँले बताउनुभयो । वन संरक्षण गर्ने नीतिअनुसार यस वर्ष प्रदेश सरकारले ११ वटै जिल्लामा ‘रिचार्ज पोखरी’ निर्माण गर्नका लागि बजेट व्यवस्थापन गरेको उहाँको भनाइ छ ।

मन्त्री थापाले भन्नुभयो, “वन, जङ्गल संरक्षण गर्ने दायित्व हाम्रो हो, पानीको मुहान सक्दै जाँदा अहिले धेरै ठाउँमा खानेपानीको समस्या बढ्दै गएको छ, वन जङ्गलमा वन्यजन्तुले पानी पिउन नपाउँदा गाउँ झर्न थालेका छन्, त्यसले गर्दा जङ्गलको बीच–बीचमा ‘रिचार्ज पोखरी’ निर्माण गर्दा वन्यजन्तुले प्रसस्त पानी पिउन पाउँछन्, पानीका मुहान संरक्षण हुन्छन् र जङ्गलको संरक्षण पनि हुन्छ ।”रासस