११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

लाहुरेको सपनाबाट गायनमा मोडिएका गर्बुजा

लाहुरेको सपनाबाट गायनमा मोडिएका गर्बुजा
अ अ+ अ-

म्याग्दी । भिरबाट खसेर घाइते नभएको भए लोकगायक खड्ग गर्बुजा यतिबेला सेवानिवृत लाहुरेको पहिचानमा सीमित हुनुहुन्थ्यो । बेलायती सेनामा भर्ति हुन पहिलो चरणको शारीरिक अभ्यासको परीक्षामा उत्र्तीण भएपछि थप तयारीका लागि गाउँ फर्किएका धवलागिरि गाउँपालिका–६ मराङ, अर्बाङका गर्बुजा भिरबाट खसेर शारीरिक अपाङ्गता भएपछि उहाँको लाहुरेको सपना गायनतर्फ मोडियो ।

विसं २०४३ पुस ८ गते घाँस काट्ने क्रममा भीरबाट खसेर घाइते हुनुभएका गर्बुजाको शरीरको मेरुडण्डदेखि तल्लो भागले काम गर्न नसक्ने भएपछि शारीरिक अपाङ्गता हुनुभयो । लाहुरे बनेर घरपरिवारको सपना पूरा गर्ने उहाँका पाइला भीरबाट लर्किएपछि अधुरा रहे नै साथै उहाँको परिवारमा सङ्कट, अभाव र समस्या झनै झाङ्गिने निश्चित भयो ।

आर्थिक अभाव र स्वास्थ्य सेवाको पहुँच नभएका कारण समयमै उपचार गराउन नसकेर अपाङ्गता हुनुभएका गर्बुजा आफ्नै हिम्मत र निरन्तरताको प्रयासले सफल र लोकप्रिय गायकको पहिचान बनाउन सफल हुनुभएको छ ।

ह्विलचेयरमा चढेर जब गर्बुजा मञ्चमा माइक समाउन पुग्नुहुन्छ, तब युवायुवतीदेखि वृद्धवृद्धासम्मलाई नचाउने गर्नुहुन्छ । परम्परागत लोक भाकामा गीत गाउने गायक गर्बुजाले धौलागिरि क्षेत्रमा गुञ्जने शिरफूल, यानीमाया, सालैजो, सोरठी, ख्याली, झ्याउरे, लस्केलगायतका लोकभाकाको संरक्षण हुने गीत तयार गर्नुभएको छ ।

दु:खसुख, मायाप्रेम, गाउँघरका उकाली ओरालीका कथा व्यथालाई टपक्कै टिपेर आफ्नो सिर्जनामा राख्न सिपाली गायक गर्बुजालाई नयाँ कलाकारले मौलिक कला संस्कृतिका सर्जक र संरक्षकका रुपमा चिन्ने गरेका राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेश समितिका सदस्य अमित विश्वकर्माले बताउनुभयो । “सङ्घर्षको भूमरीबाट फर्किएको सुन्दर फूल जस्तै हो उहाँ । गाउँमा मेलापात गर्दा सिर्जना भएका भाकालाई अभिलेख गराउने र राष्ट्रियस्तरमै पहिचान गराउन उहाँले सिर्जना गरेका गीतसङ्गीतले ठूलो योगदान पुर्‍याएका छन्”, उहाँले भन्नुभयो ।

शारीरिक रुपमा अपाङ्गता रहनुभएका गर्बुजा अहिले स्वदेशमा मात्रै होइन, प्रवासमा रहेका नेपालीमाझ पनि उत्तिकै लाकेप्रिय कलाकारका रुपमा परिचित हुनुहुन्छ । हेर्दाहेर्दै मायाले सोलेडाँडा काट्यो मायाले, बेनी बजार कालीगण्डकी, पानी खायो बाघैले, सुन मुरलीलाई, छ फूल बनैमा लगायतका मर्मस्पर्शी भाका सिर्जना गर्नुभएका उहाँको गायनयात्रा जीवनकै कहालीलाग्दो दुर्घटनाबाट सुरु भएको थियो ।

“परिवारको पनि चाहना म लाहुरे भैदिए हुने भन्ने थियो । भारतीय सेनामा भर्ति हुन फाइनलसम्म पुगेर बाहिरिएको थिएँ । त्यतिबेलै गलेश्वरमा बेलायती सेनाको भर्ति लिन गल्ला आएको सूचना पाएपछि, त्यहाँ गएर शारीरिक व्यायामको परीक्षा दिएँ । पहिलो चरणमा उत्र्तीण भएर गाउँ गएको थिएँ, घाँस काट्न भीरमा गएको बेला लडेपछि रुखमा अड्किन पुग्यो । त्यो घटनाबाट म त बाँचे तर मेरो लाहुरे बन्ने सपना त्यहीँ मर्‍र्यो”, गायक गर्बुजाले भन्नुभयो ।

बेनी, पोखरा हुँदै वीर अस्पतालसम्म उपचारका लागि गएपनि ढिला गरी अस्पताल आएकाले पूर्णरुपमा उपचार सम्भव नहुने चिकित्सकको जवाफ लिएर घर फर्किएका गर्बुजाले मौलिक बाजाको रुपमा चिनिने मौरीबाजा बनाउने र गाउँका स्थानीय भाका गाउन थालेको बताउनुभयो । उहाँका दाईसमेत सानै उमेरमा रुखबाट खसेर अपाङ्गता हुनुहुन्थ्यो ।

“घरका दुई छोरा त अपाङ्गता बन्यौँ । त्यही समयमा घरमा आमासमेत पक्षघातको बिरामी पर्नुभयो । हामी दुई अपाङ्गता भएका दाजुभाइको स्याहार गर्ने आमासमेत थला परेपछि म पुन:स्थापनाको खोजीमा घर छाडेर भौतारिएको थिएँ”, गर्बुजाले भन्नुभयो । घर छाडेपछि सदरमुकाम बेनीका चोकचोकमा गीत गाउने र मौरीबाजा बजाउने आफ्नो दैनिकी बनेको उहाँले स्मरण गर्नुभयो ।

बेनी, बागलुङका बजार हुँदै काठमाडौँ पुगेर गीत गाउँदै दु:खका कथा सुनाउँदै गर्बुजाले सडकबाट जीवनको कठिन सङ्घर्ष सुरु गर्नुभएको थियो । विसं २०४७ मा पुन:स्थापना र गीत रेकर्ड गर्ने सपना बोकेर काठमाडौँ पुग्नुभएका गर्बुजाले रेडियो नेपालको चौतारी कार्यक्रममा सहभागी बनेर आफूलाई गायनमा निखार ल्याउने अवसर पाउनुभयो ।

रेडियो नेपालको स्वर परीक्षणमा उत्तीर्ण भएपछि गीतसङ्गीतबाटै आफुलाई अघि बढाउने सङ्कल्प गर्नुभएका गर्बुजाको पहिलो गीत रेकर्ड गर्ने दिनमा घरमा आमाको निधन भएको थियो । “फोनको सुविधा थिएन, चिठी पठाउनुपथ्र्यो घरको हाल खबर बुझ्नलाई । मैले पहिलो गीत ‘दु:खको भूमरी’ रेकर्ड गराउने दिनमा नै आमा बित्नुभएछ, त्यो खबर मैले काठमाडौँमा भेटिनुभएका आफन्तबाट करिब तीन महिनापछि मात्रै थाहा पाएँ”, गर्बुजाले विगत सुनाउनुभयो ।

करिब नौ सय गीतमा स्वर भर्नुभएका गायक गर्बुजा दुई दर्जन विदेशी भूमिमा पुगेर आफ्नो साङ्गितिक प्रस्तुति राख्नुभएको छ । गायन संँगसँगै बाध्यबाधनतर्फसमेत सिपालु रहनुभएका गर्बुजाले विसं २०५४ देखि रेडियो नेपालमा करारमा नियुक्त भएर बाध्यबादनको कामसमेत गर्दै आउनुभएको छ । लोपउन्मुख नेपाली मौलिक मौरी बाजाका सर्जगसमेत रहनुभएका उहाँले मादल, बाँसुरी, हार्मोनियम लगायतका बाध्यबाधनसमेत बजाउनुहुन्छ ।

विसं २०५९ मा प्रवल गोर्खा दक्षिण बाहु पदकबाट सम्मानित गर्बुजा म्याग्दीमासमेत विभिन्न सङ्घ संस्थाबाट सम्मानित भइसक्नुभएको छ । हालै गर्बुजाको गृह गाउँपालिका धवलागिरिले गर्बुजालाई उत्कृष्ट श्रष्टाको रुपमा सम्मान गरेको छ ।

“अपाङ्गता भएपछि केही गर्न सकिँदैन भन्ने भाष्यलाई उहाँले गलत सावित गरिदिनुभएको छ । निरन्तरको मेहनत र लगाबले व्यक्तिमा रहेको फरक क्षमताको पहिचान र चिनारी सम्भव हुन्छ भन्ने उदाहरण गर्बुजा बन्नुभएको छ”, धवलागिरि गाउँपालिकाका उपाध्यक्ष प्रेम पुनले भन्नुभयो ।

गाउँमा कक्षा ६ सम्मको अध्ययन गर्नुभएका गर्बुजाले काठमाडौँ पसेर कलाकारितामा आफूलाई निखार मात्रै ल्याउनुभएन, बिचमा छाडेको पढाइलाई स्नातक तहसम्म निरन्तरता दिनुभयो । उहाँका दुई छोरी अध्ययनको सिलसिलामा अष्ट्रेलियामा हुनुहुन्छ भने उहाँ हाल श्रीमती र बुबासँग काठमाडौँमा बसोबास गर्नुहुन्छ । बाध्यबादन र गीत रेकर्ड गराउनुका साथै विभिन्न मेला, महोत्सव र साङ्गितिक कार्यक्रममा गर्बुजाको दैनिकी व्यस्त हुने गरेको छ । रासस