११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

चिसोका कारण पूर्वी तराईका विद्यालय बन्द गरिँदै

चिसोका कारण पूर्वी तराईका विद्यालय बन्द गरिँदै
अ अ+ अ-

सर्लाही । पछिल्ला केही दिनदेखि सर्लाहीसहित मधेश प्रदेशका जिल्लामा बढेको चिसोका कारण सर्लाहीका सामुदायिक विद्यालयमा अनिश्चितकालका लागि बिदा दिइएको छ । घाम लाग्न छाडेर कठ्याङ्ग्रीदो चिसो बढेपछि जनजीवन प्रभावित हुन थालेपछि जिल्लाका सामुदायिक विद्यालय बन्द गरिएको स्थानीय तहले बताएका छन् ।

विगत केही दिनदेखि सुरु भएको शीतलहरले स–साना विद्यार्थी प्रभावित हुन थालेका भन्दै जिल्लाका स्थानीय तहले सूचना जारी गरेर विद्यालय बिदा गरेका हुन् । हाल दिइएको बिदा जाडो र वर्षे बिदाबाट कट्टा हुने गरी व्यवस्था गरिने स्थानीय तहका शिक्षा शाखाले बताएका छन् ।

एक सातादेखि चिसो हावासँगै शीतलहर चल्दा बालबालिका, वृद्धवृद्धा, अशक्त, अपाङ्गता भएका व्यक्तिका साथै गरिब, विपन्न र खुल्ला आकाशमा काम गर्ने वर्ग बढी प्रभावित भएका ईश्वरपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख एवं उपसचिव हरिप्रसाद दाहालले बताउनुभयो । उहाँका अनुसार पुस २२ गतेदेखि माघ १ गतेसम्म जाडो बिदा दिइएकामा मौसम थप प्रतिकूल बनेपछि माघ ४ गतेसम्म बिदा थप गरेको हो ।

जिल्लाका अन्य पालिकाले माघ ७ गते सम्मका लागि जाडो बिदा दिएका दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार केही दिनदेखि चिसो थप बढेकाले पठनपाठन सञ्चालन गर्दा समस्या हुने भएपछि बालबालिकाको स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल असरलाई मध्यनजर गरी बिदा थप गरिएको हो ।

चिसोले जनजीवन प्रभावित भएपछि यहाँका अधिकांश पालिकाले विद्यालय बन्द गराएका छन् । एक सातादेखि घाम नलाग्दा तराई क्षेत्रको जनजीवन प्रभावित बनेको छ । निरन्तर बाक्लो हुस्सु लागेर चिसो स्याँठ र तुसारो चलिरहँदा जनजीवन कष्टकर बनेको छ ।

चिसोका कारण दम तथा रुघाखोकीको समस्याका बिरामी बढेका नगर अस्पतालका प्रमुख एवं स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा रामविश्वास रायले बताउनुभयो । उहाँका अनुसार चिसोका कारण अपाङ्गता भएका मानिस, दम, हाडजोर्नी तथा नशाका बिरामी बढी पीडित हुने गरेका छन् ।

लगातार बढेको चिसोका कारण जिल्लाका बजारमा चहलपहल पनि घटेको स्थानीय व्यापारीले बताएका छन् । शीतलहर तथा तुषारोका कारण आलु, गोलभेँडा, प्याजको बेर्नालगायत तरकारी बाली प्रभावित बनेको किसानले बताएका छन् ।

सुनसरीका विद्यालयमा पनि बिदा

केही दिनदेखि बढेको अत्यधिक चिसोका कारणले सुनसरीका विद्यालयमा बिदा दिइएको छ । सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाको देवानगन्ज, इटहरी उपमहानगरपालिकाले आजदेखि माघ ५ गतेसम्मका लागि विद्यालयमा बिदा दिएका इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले बताउनुभयो । चिसोका कारण बालबालिकाको स्थास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले त्यसलाई माध्यनजर गर्दै सामुदायिक, संस्थागत र धार्मिक विद्यालयमा बिदा दिइएको उहाँले जानकारी दिनुभयो ।

इटहरी उपमहानगरले नगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संस्था तीन दिनका लागि बिदा दिने  निर्णय गरेको छ । अत्यधिक चिसो बढेपछि विद्यालयको पठनपाठन लगायतका गतिविधि गर्न कठिनाई हुनुका साथै विद्यार्थीको स्वास्थ्यमासमेत प्रतिकूल असर भन्दै उपमहानगरले माघ ३, ४ र ५ गते बिदा दिने निर्णय गरेको नगरका शैक्षिक प्रशासन शाखा अधिकृत दोर्ण दाहालले जानकारी दिनुभयो ।

देवानगन्ज गाउँपालिका तथा इनरुवा नगरपालिकाले माघ ३, ४ र ५ गतेसम्मका लागि विद्यालयमा बन्द गर्ने निर्णय गरेका छन् । रासस