४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

गोरखा-लिगलिगकोट बसाइ पछिका केही चिन्तन केही अनुभूति

गोरखा-लिगलिगकोट बसाइ पछिका केही चिन्तन केही अनुभूति
अ+ अ-

निजी/ऐतिहासिक

१. पछिल्लो चरणमा ग्रामीण अर्थतन्त्रको तीब्र विघटन र बढ्दो शहरीकरण संगसंगै गाउॅ रित्तिदैछ भने शहरहरू कंक्रिट जंगल बन्दैछन्। क्षेत्रीय विकास योजनाको विद्यार्थीको नाताले यो प्रवृत्तिलाई रोक्न आफैं गाउॅ फर्केर केही गर्नपर्छ भन्ने मेरो चाहना हो।आफ्नो पुर्ख्यौली घरको रेट्रोफिटिंग,बन्दै गरेका भौतिक पूर्वाधारहरूको निरीक्षण, गाउॅलेहरूसंगको अन्तरसंवाद पछि ‘गाउॅको शहरीकरण’ गरेर मानिसहरूलाई त्यहीं राख्न सकिन्छ भन्ने विश्वास बढेको छ।अब खाॅचो गाउॅमै कृषिको आधुनिकीकरण,साना तथा मध्यम उद्योग र पर्यटनको प्रबर्धन आदि गरेर सम्मानजनक र आयमूलक रोजगारी सिर्जनाको छ।

२. केही अगुवा साथीहरू र परिवार सहित ऐतिहासिक लिगलिगकोट भ्रमणको विशेष अर्थ छ।पन्ध्रौं सोह्रौं शताब्दीसम्म वर्तमान नेपालको अधिकांश भूभागमा कविलाइ (Tribal ) प्रथा थियो।लिगलिगकोटमा बर्सेनी दौड प्रतियोगिताबाट नायक/राजा छानिन्थ्यो।त्यस्तो स्थानीय कविलाइ प्रथाको अन्त्य गरेर बलियो र ठूलो केन्द्रिकृत राज्य बनाउनु ऐतिहासिक आवस्यकता थियो।संसारभर र छरछिमेकमा सामन्तवाद र राजतन्त्रात्मक प्रणाली छाइसकेको थियो।

त्यही आवस्यकता पूर्ती गर्न द्रव्य शाहलाई लिगलिगकोटमा ल्याएर राजा बनाइएको थियो! त्यही वंशानुगत राजतन्त्र विस्तारित भएर नेपालमा बिसौं शताब्दीसम्म ( वीरेन्द्र शाहको पालासम्म) कायम रह्यो।तर एक्काइशौं शताब्दीसम्म आइपुग्दा संसारभर ळोकतान्त्रिक गणतन्त्र आधुनिक राज्यको मुख्य चरित्र बनिसकेको थियो। केही ढिलो भए पनि हामीले निकै ठूलो वलिदानीपूर्ण संघर्ष मार्फत २१ औं शताब्दीको शुरूमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यव्यवस्था कायम गर्यौं। यसरी कविलाइ गणतन्त्रबाट वंशानुगत र केन्द्रीकृत राजतन्त्र हुॅदै संघीय लोकतन्त्रिक गणतन्त्रसम्मको ऐतिहासिक यात्राको महत्व बुझ्न सबैले एकपटक लिगलिगकोट पुग्नैपर्छ।

वैचारिक/राजनीतिक

३. विश्व उत्तर-पुॅजीवादी पुनर्संचना ( post-capitalist restructuring ) को प्रसव वेदनामा छ। नेपाल भने अझै पुॅजीवादी संक्रमण ( capitalist transition ) को अवस्थामा छ। यो २०० बर्षको ऐतिहासिक दूरी छोटो भन्दा छोटो अवधिमा पूरा गरेर समग्र विश्व र नेपाललाई आपसी पदचाप मिलाउॅदै अग्रगमनको दिशामा उन्मुख गराउनु अबको मुख्य कार्यभार बनेको छ।

४. मानव समाजलाई यसको उत्पत्तिदेखि अहिलेसम्म तत्कालीन भौतिक परिस्थितिमा आधारित उन्नत चेतनाद्वारा संश्लेषित विचार ( ideology ) ले दिशावोध गरेर नै यहाॅसम्म ल्याएको हो। अहिलेका विभिन्न ‘धर्म’ प्राचीन कालका समाजका दिशावोधक विचार हुन्। १७ औं-१८ औं शताब्दीको वैज्ञानिक क्रान्ति, औद्योगिक क्रान्ति संगसंगै स्वतन्त्रता,समानता र भ्रातृत्वमा आधारित उन्नत विचारको रूपमा आधुनिक प्रवोधन (Enlightenment) को विकास भयो! २१ औं शताब्दी संगसंगै विश्व चौथो औद्योगिक क्रान्तिको चरणमा प्रवेश गरेको मानिन्छ र विश्वले नव-प्रवोधन ( New Enlightenment ) को खोजी गरिरहेको छ। पहिलो औद्योगिक क्रान्तिको चरणमा रहेको नेपालले एकै साथ चारवटै औद्योगिक क्रान्तिका चरण पार गर्नु छ! अतः हामीले सबै प्रकारका रूढीवाद ( dogmatism ) वा अनुभववाद ( empiricism ) बाट मुक्त भएर समय र परिस्थिति सापेक्ष नयाॅ अग्रगामी विचार निर्माण र ग्रहण गर्नु छ। त्यसनिम्ति ’स्वतन्त्रता’ मा जोड दिने ‘उदारवाद’ र ‘समानता’ मा जोड दिने ‘साम्यवाद’ भन्दा अघि बढेको स्वतन्त्रता,समानता र समृद्धिको समुचित सन्तुलन सहितको नयाॅ र उन्नत विचारको संश्लेषण आजको आवस्यकता हो।

५. निजी मुनाफाको आधिक्यीकरण ( maximization of private profit ) मा आधारित अर्थ-राजनीतिक प्रणाली र राष्ट्र-राज्य रहुन्जेल राज्यहरू वीच प्रभुत्व विस्तार र विभिन्न रूपका युद्धको चक्र चलिरहन्छ।आगामी दशकहरूमा यस हिमाली क्षेत्रमा विश्व पुॅजीवादको बजारकब्जा र प्रभुत्वको लडाइॅ अरू तीब्र हुॅदैछ।क्षेत्रीय एकाधिकार पुॅजीवाद र राज्य-पुॅजीवादको वर्चस्वको प्रतिस्पर्धा पनि भीषण हुॅदैछ। पुॅजीवादी वैचारिक संकटलाई ‘सभ्यता राज्य’को खाष्टोले छोपेर नेपालको भौगोलिक अखण्डता, स्वतन्त्रता र सार्वभौमिकतामाथि गम्भीर चुनौति र अतिक्रमण हुने खतरा मडारिदैछ। यो स्थितिमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली मार्फत लोकतान्त्रिक राजनैतिक स्थीरता कायम गर्ने र देश भित्रका विभिन्न वर्ग,जाति, क्षेत्र,लिंग र समुदाय वीचमा संघीयता र समावेसी लोकतन्त्रको सही अभ्यास गरेर आन्तरिक राष्ट्रिय एकतालाई अझै बजवुत पार्ने विषय नेपालकोनिम्ति अत्यन्त महत्वपूर्ण भएको छ।

६. युवा वेरोजगारी र विदेश श्रम पलायन तत्काल देशको सबभन्दा ठूलो चुनौति बनेको छ। परम्परागत निर्वाहमुखी कृषि अर्थतन्त्रको तीब्र विघटन, उत्पादनमूलक औद्योगिक क्षेत्रको विकासमा सुस्तता, वित्तीय र आसेपासे पुॅजीवादको विगविगी, सबै क्षेत्रमा चरम भ्रष्टाचार र वेथिति आदि कारणले देश अल्पविकासको संरचनात्मक दुष्चक्रमा फसेको छ! यसको अन्त्य गरेर नेपाललाई आगामी केही दशकभित्र विकसित मुलुकको स्तरमा पुर्याउनु छ। त्यसनिम्ति अहिलेको सारसंग्रहवादी,दिशाविहीन,कछुवा गतिको विकास नीतिले हुॅदैहुन्न। त्यसकालागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति मातहतको राष्ट्रिय विकास प्राधिकरणले २० बर्षे आर्थिक क्रान्तिको गुरूयोजना बनाएर तीन तहका सरकार मार्फत कडाइपूर्वक लागू गरिनुपर्दछ।”दुइ अंको वृद्धिदर दुइ दशक निरन्तर” लाई मूल नारा बनाएर तीब्र वृद्धि, समन्यायिक वितरण, पर्यावरणीय दिगोपन र मानवीय खुशीका चार आयामलाई सन्तुलित ढंगले अघि बढाइनुपर्छ। आगामी दशकमा पहिलो र तेश्रो ठूलो अर्थतन्त्र हुने चीन र भारतको मूल्य शृंखलासंग जोड्ने, बजार/राज्य/समुदायको सन्तुलित भूमिका हुने विकास नीति अनुसरण गरिनुपर्छ।

७. परन्तु प्रसिद्ध नीतिकथामा ‘बिरालोको घाॅटीमा घण्टी कसले बाॅध्ने?’ भने झैं यी सबै काम कसले गर्ने? भन्ने प्रश्न निर्णायक महत्वको छ! लोकतन्त्रमा राज्यको नेतृत्व दलहरूले नै गर्ने हो! कुनै चमत्कारिक पुरूष खोज्ने युग यो हैन। विद्यमान प्रमुख दल र नेताहरू प्रतिको जनताको आक्रोश जगजाहेर छ।नयाॅ उदयमान दलहरूप्रति जनताको आशा बढ्दै जानु सकारात्मक छ। तर कसैले पनि यी अहम् वैचारिक, भूराजनीतिक, आर्थिक प्रश्नहरूको समस्टीगत समाधानको वस्तुसंगत मार्गचित्र प्रस्तुत गर्न सकेको देखिन्न।यो स्थितिमा हामीले विगतका कमीकमजोरीहरूको निर्मम आत्मसमीक्षा गर्दै र विचार,नीति, कार्यक्रम, कार्यशैली मिल्ने शक्ति/व्यक्तिहरूसंग सहकार्य गर्दै देशलाई भरपर्दो अग्रगामी वैकल्पिक शक्ति निर्माणमा योगदान गर्नैपर्छ।

डा. बाबुराम भट्टराईको फेसबुकबाट