• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo
Latest
★   ३९ जिल्लाका १ सय ६५ ठाउँमा डढेलो, ठाउँठाउँमा आगलागी ★   राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस आज मनाइँदै ★   च्याम्पियन्स लिगः डर्टमण्डले पिएसजीलाई हरायो ★   आईपीएलमा पञ्जाबले चेन्नईलाई लगातार पाँचौं पटक हरायो ★   नागरिक उड्डयनमन्त्री तामाङ्गद्वारा त्रिदेवीनगर, कोटेश्वरको सडक चौडा गर्न स्थलगत निरीक्षण ★   रोहितको कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा ★   हार्दिक पाण्ड्यालाई २४ लाख जरिवाना ★   विभिन्न देशका ओलम्पिक खेलाडी विराटनगरमा ★   यी ४ टोली टी–२० विश्वकपको सेमिफाइनल पुग्ने, इंग्ल्याण्डका पूर्व कप्तानले गरे भविष्यवाणी ★   पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि नि:शुल्क गरिने

प्रधानमन्त्रीलाई प्रेम सुवालको सुझाव: देश विकास गर्न नसके राजीनामा दिनुस्



काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई देश विकास नसके राजीनामा दिन सुझाव दिनुभएको छ ।

२६ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा मंगलवार भक्तपुरमा आयोजित जनचेतनामुलक शैक्षिक प्रदर्शनीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनअघि मात्रै राजनीतिक दलका नेताहरुको बैठक राखेर आफू प्रधानमन्त्री बनेको एक वर्ष मात्रै भएको र देशको अर्थतन्त्र आफूले अहिलेको अवस्थामा नपुर्‍याएको बताउनुभएको भन्दै सुधारका काम गर्न नसके राजीनामा दिएर घरमा बस्न सुझाव दिनुभयो ।

उहाँले अघिल्लो सरकारहरुले गरेको भएपनि प्रधानमन्त्री भइसकेपछि जिम्मेवारी लिनुपर्ने बताउनु भयो । राणा शासन र पञ्चायत बिरुद्ध लडेकाहरुले गणतन्त्रमा अब केही गर्न सकिँदैन भनेर जनतालाई धोका दिन नपाइने बताउनु भयो । उहाँले जनतालाई धोका दिएर सिंहदरबार कब्जा गरेर नबस्न चेतावनी दिनुभयो । उहाँले नेपालका प्रधानमन्त्रीहरुसँग देश विकासको खाका नरहेको जिकिर गर्नुभयो । गणतन्त्रका प्रधानमन्त्री र मन्त्रीहरुले देशलाई नर्क बनाएको उहाँको आरोप छ ।

उहाँले भन्नुभयो, ‘हाम्रा प्रधानमन्त्रीहरुसँग देश विकासको खाकै छैन । अस्ति प्रधानमन्त्रीले हामीसँग बैठक बोलाएर भन्नुभयो, अर्थतन्त्र मैले यस्तो बनाएको होइन, म त एक वर्ष मात्रै भयो, देशको अर्थतन्त्र ध्वस्त भयो । प्रधानमन्त्रीको भनाइ । अघिल्लो सरकारहरुले ध्वस्त भएको भए आफूले सम्हाल्ने हो नि । होइन भने राजीनामा दिएर घर बसे भइहाल्यो नि । राणा शासनको बिरुद्ध लडेको, पञ्चायतको बिरुद्ध लडेको बहुदल र गणतन्त्र अब केही गर्न सकिँदैन भनेर हुन्छ । जनतालाई धोका दिने सिंहदरबार कब्जा गरेर ।’

‘हामीले धोका दिन र भाग्न पाइँदैन भनेका छौँ । प्रधानमन्त्री भएर भाग्न पाइन्छ । यस्तो नेतृत्व भएसम्म सारा नेपाली विदेशमा छन् । २ हजार ३१८ जना एक वर्षमा नेपाली डाक्टर विदेश पठायो सरकारले । नेपाली जनताले उपचार गनुपर्दैन । असल चरित्रको प्रमाण पत्र दिने रे । तपाईको काम के हो भनेर सरकारलाई सोध्दा विदेश जाने डाक्टरलाई असल चरित्रको प्रमाणपत्र दिने । परराष्ट्रमन्त्रीलाई के हो काम भन्दा राहदानी बाँड्ने रे । हाम्रो प्रधानमन्त्री र मन्त्रीको काम कस्तो लाजमर्दो । परराष्ट्रमन्त्रीले एउटा बैठकमा मलाई अहिले साह्रै गाह्रो दिनको सात हजार राहदानी वितरण गर्नुपर्छ रे । देशलाई नर्क बनाउने काम भएको छ । निर्वाचनमा जित्नु मात्रै ठूलो कुरा होइन । अहिलेसम्मको बहुदल र गणतन्त्रका प्रधानमन्त्री र मन्त्रीहरुले यस्तो चासो नै राखेको छैन ।’

सांसद सुवालले मेलम्चीको पानी बारम्बार उद्घाटन गर्ने काम लज्जाजनक रहेको बताउनु भयो । उहाँले ८ पटकसम्म उद्घाटन भएको भन्दै एक पटक मात्रै उद्घाटन गरेर पानी वर्षदिन नै वितरण गर्ने काममा लाग्न सुझाव दिनुभयो । उहाँले हरेक प्रधानमन्त्री र मन्त्रीहरुलाई खानेपानीको धारा खोल्नैपर्ने रहरले समस्या निम्तिएको बताउनु भयो । उहाँले अहिलेसम्म मेलम्चीमा पानीका लागि ६० अर्ब खर्च भइसकेको र अब ६० अर्ब खर्च गरेपनि बाह्रैमास पानी काठमाडौं आउन नसक्ने बताउनु भयो । हेलम्बुको भूगर्भ अध्ययन गर्दा पहिरो कम गर्न नसकिने अवस्था रहेको भन्दै मेलम्चीको पानी निरन्तर आउने अवस्था तयार गर्न नेपालको खर्चले धान्न नसक्ने बताउनु भयो । काठमाडौं उपत्यकामा जमिनमुनिको पानी निकालेपनि पुन:भरण नगर्दा झनै विपद्का घटना बढ्ने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘उपत्यकाभित्र खाद्यान्न, आवतजावतको समस्या हुन्छ । देश विकास हुँदैन । खानेपानीको समस्या छ काठमाडौंमा । काठमाडौंमा मेलम्चीको पानी ८ पटक उद्घाटन भयो । एक पटक मात्रै उद्घाटन गरेर पानी ल्याइदिएको भए हुन्थ्यो नि । हरेक प्रधानमन्त्रीलाई धारा खोल्नुपर्ने छ । हरेक खानेपानी मन्त्रीलाई धारा खोल्नुपर्ने । हेलम्बुबाट यो पानी आउने रहेछ, त्यहाँको भूगर्भ यति जोखिमपूर्ण रहेछ की, ६० अर्ब रुपैयाँ खर्च भएको छ, मेलम्चीको लागि अर्को ६० अर्ब खर्च गरेपनि पहिरो रोकिँदैन । मेलम्चीको पानी निरन्तर आउने अवस्था तयार गर्न धेरै खर्च आवश्यक पर्छ, नेपालले धान्न सक्दैन । काठमाडौं उपत्यकामा जमिनमुनिको पानी निकालेका छौँ । निकालिसकेपछि पुन:भरणको काम गर्नुपर्छ । झनै भूकम्पको जोखिम हुन्छ ।’

२६ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा मंगलवार भक्तपुरमा जनचेतनामुलक शैक्षिक प्रदर्शनी गरिएको हो । भक्तपुर नगरपालिका, ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा जनचेतनामुलक शैक्षिक प्रदर्शनी भएको हो ।