११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

पोखरा विमान दुर्घटनाको एक वर्ष: प्रियजन गुमाउनेहरुको उस्तै छ पीडा

पोखरा विमान दुर्घटनाको एक वर्ष: प्रियजन गुमाउनेहरुको उस्तै छ पीडा
तस्बिरः रासस
अ अ+ अ-

पोखरा । माघे सङ्क्रान्ति भएकाले त्यस दिन प्रतिभा अधिकारी पोखरा फूलबारीस्थित घरमा व्यस्त हुनुहुन्थ्यो । श्रीमान् त्रिभुवन पौडेल काम विशेषले काठमाडौँमा हुनुहुन्थ्यो । एक सातापछि पाँचौँ विवाहोत्सव काठमाडौँमै मनाउने योजना भए पनि माघे सङ्क्रान्ति परेकाले त्रिभुवन दिउँसो ढिलो भए पनि घर आउनुहुने जानकारी प्रतिभालाई थियो । तर नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य पौडेलको योजना भने त्यस्तो थिएन । परिवारलाई ‘सप्राइज’ दिन रुचाउने पौडेलले दिउँसोको नभई बिहानै घर पुग्ने योजनाअनुसार विमानको टिकट काट्नुभएको थियो । उहाँले टिकट काटेको यति एयरलाइन्सको ९ एन–एएनसी एटीआर–७२ विमान जुन त्यसै दिन बिहान १०:५७ बजे विमानस्थल नजिकैको नयाँगाउँस्थित सेती खोँचमा खस्यो । दुर्घटनामा परी चालक दलका चारसहित ७२ जनाले ज्यान गुमाए ।

दुर्घटनासम्बन्धी समाचार, तस्बिर र भिडियो समाचार सामाजिक सञ्जाल र सञ्चारमाध्यममा छ्याप्छ्याप्ती हुँदा पनि प्रतिभालाई श्रीमान् पनि त्यही विमानमा सवार हुनुहुन्थ्यो भन्ने हेक्का थिएन । त्यस दिन दिउँसोसम्म सामाजिक सञ्जालमा मृतकको सूचीमा श्रीमान्को नाम देख्दा पनि उहाँलाई विश्वास लागेको थिएन ।

“उहाँ (श्रीमान् पौडेल) हरेक समय मलाई ‘सरप्राइज’ दिनुहुन्थ्यो, अझै पनि ढोकामा आएर के छ बुढी भनेर बोलाउनुहुन्छ जस्तै लाग्छ”, प्रतिभाले भन्नुभयो, “आज घर आउन पाउँदिन भन्ने अनि टुप्लुक्क आइपुग्ने, अबेर हुन्छ भनेका दिन पनि छिट्टै घर आएर सरप्राइज दिनुहुन्थ्यो ।”

दुर्घटना भएको आज एक वर्ष बित्यो तर प्रतिभालाई एउटा कुराले अहिले पनि सोचमग्न बनाएको छ । “त्यो बेला त्रिभुवन काठमाडौँ जानुअघि साइत हेरेर जानुभएको थियो, त्यसभन्दा अगाडि कतै जाँदा कहिल्यै साइत जुराएको मलाई याद छैन”, प्रतिभाले श्रीमान् काठमाडौँ जानुअघिको दिन सम्झँदै भन्नुभयो, “सायद त्यो मृत्युको साइत रहेछ भन्ने आज लागेको छ ।”

प्रतिभाको काँधमा श्रीमान् गुमाउनुको पीडासँगथै छोरा र परिवारको पनि जिम्मेवारी छ । त्यसैले छोराकै लागि भए पनि उहाँ आफूलाई सामान्य अवस्थामा ल्याउने प्रयासमा हुनुहुन्छ उहाँ । छोरा इभान अहिले पाँच वर्षमा प्रवेश गर्दैछन् । अटिज्म भएकाले छोराको नियमित उपचार गराइरहनुपर्छ । छोरालाई निको पारेर उनीबाटै श्रीमान्को सपना पूरा गर्ने अठोट पनि प्रतिभासँग छ । “म आफ्नो भविष्यबारेमा अहिले केही भन्नसक्ने अवस्थामा छैन ।”

दुर्घटना भएयता न सरकार, न जहाज कम्पनी कसैले पनि आफ्नो अवस्थाबारे सोधपुछ नगरेको उहाँको भनाइ छ । “अरूका लागि त्यो दुर्घटना एउटा दु:खलाग्दो घटना मात्रै होला, तर हाम्रा लागि त जीवन सकिएजस्तो अन्धकार भएको छ”, प्रतिभाले पीडा सुनाउनुभयो ।

सोही दुर्घटनामा ज्यान गुमाएका पत्रकार अनिल शाहीकी श्रीमती रेनु गुरुङ पनि त्यो दिन भुलाउन सकिरहनुभएको छैन । “भारतको केरलाबाट घर आउँदै हुनुहुन्थ्यो, म खाना बनाएर उहाँको प्रतीक्षा गरिरहेक थिएँ”, उहाँले भन्नुभयो, “तर त्यस दिनदेखि त मेरो एउटा पखेटा नै गुम्यो, यति छोटो समयमै म एक्लै हिँड्नुपर्छ भन्ने कहिल्यै लागेन ।” गुरुङ श्रीमान् गुमाउनुको पीडाबाट आफूलाई सम्हाल्दै दुई छोरा, सासूससुराको जिम्मेवारी निर्वाह गर्दै आउनुभएको छ ।

अनिल रेडियो एपोस्टलका प्रबन्धक हुनुहुन्थ्यो भने दुबईमा आइटीसम्बन्धी व्यापारको तयारीमा पनि जुट्नुभएको थियो । दुई साताअघि दुबईबाट नेपाल आउनुभएका शाही तत्काल कामविशेषले केरला पुग्नुभएको थियो । अनिलले आफू पोखरा आउने बित्तिकै सपरिवार दुबई घुम्न जाने योजना बनाउनुभएको थियो ।

प्रतिभा र रेनुको जस्तै त्यो दिन पोखराका मदनकाजी श्रेष्ठको परिवारमा पनि ब्रजपात भयो । मदनकाजीले कान्छा छोरा डा सुशील श्रेष्ठ, बुहारी डा सोना दिवाकर श्रेष्ठ र नाति शर्भिनलाई गुमाउनुभयो ।

सन्तान गुमाउनुको पीडाबाट मनदकाजी अझै बाहिर निस्कन सक्नुभएको छैन ।

“मानवीय त्रुटिका कारण भएको दुर्घटनाका दोषीले सजाय पाउनै पर्छ”, उहाँले भन्नुभयो ।

दुर्घटनाको छानबिन गर्न घटना भएकै दिन गठित दुर्घटना जाँच आयोगले गत पुस १२ गते सरकारलाई बुझाएको प्रतिवेदनमा मानवीय त्रुटिलाई कारक मानेको थियो । पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई हस्तान्तरण गरेको थियो । प्रतिवेदनमा ‘पाइलटले फ्लेप लिभर तान्नुपर्नेमा ‘कन्डिसन लिभर’ तानेको देखिएको र जसले गर्दा जहाज ‘फिदर कन्डिसन’ मा गएपछि अगाडिको ‘मोसन’ जहाजले नपाएकाले दुर्घटना भएको उल्लेख छ ।

आयोगले आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन वायुसेवा सञ्चालक, नियामक र मन्त्रालयलाई आठबुँदे सुझाव दिएको छ । उडान समयमा पोखरा अन्तरराष्ट्रिय विमानस्थलको मौसम, ‘भिजिबिलिटी’ तथा प्राविधिक पक्ष राम्रो रहेको जनाइएको छ । रासस