११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

गण्डकीमा विषयगत समिति सक्रिय: विधेयकमाथि सघन छलफल

गण्डकीमा विषयगत समिति सक्रिय: विधेयकमाथि सघन छलफल
अ अ+ अ-

गण्डकी । गण्डकी प्रदेश सरकारले गत बर्खे अधिवेशनमा ल्याएका दुई विधेयक प्रदेशसभाको विषयगत समितिमा दफाबार छलफलका क्रममा छन् । प्रदेश मामिला तथा कानुन समितिमा आमसञ्चार र सामाजिक विकास तथा कृषि समितिमा बीउबिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल भइरहेको छ ।

प्रदेशसभामा सैद्धान्तिक छलफलपछि दुवै विधेयकलाई दफाबार छलफलका विषयगत समितिमा पठाइएको छ । सामाजिक विकास तथा कृषि समितिका सभापति फणिन्द्र देवकोटाले विधेयकमाथि सघन बहस र छलफल भइरहेको बताउनुभयो । “विधेयकमाथि प्रक्रियासम्मत ढङ्गबाट विषयगत समितिमा छलफल भइरहेको छ”, उहाँले भन्नुभयो, “कानुन निर्माणको प्रक्रियामा समितिको भूमिका र सक्रियता बढेको छ ।”

सभापति देवकोटाका अनुसार बीउबिजनसम्बन्धी विधेयकमाथि छलफलका लागि समितिका दशवटा बैठक बसिसकेका बताउनुभयो । “सुरुमा समिति सञ्चालनको आन्तरिक कार्यविधि बनाएर समितिको काम र भूमिकालाई व्यवस्थित गर्यौँ”, उहाँले भन्नुभयो, “पहिले विधायन समितिमा मात्र विधेयक जाने गरेको अवस्था थियो, अहिले सम्बन्धित समितिमा विधेयकमाथि छलफल हुन थालेको छ ।”

समितिमा दफाबार छलफल सकेपछि विधेयकलाई प्रतिवेदनसहित प्रदेशसभामा पठाइने सभापति देवकोटाले बताउनुभयो । समितिले उक्त विधेयकमाथि चरणबद्ध छलफल गरेको थियो । पहिलो बैठकमा प्रदेशसभामा भएको सैद्धान्तिक छलफलबारे समीक्षा, दोस्रो बैठकमा कृषि तथा भूमि व्यवस्था मन्त्रालयका मन्त्री, सचिवलगायत विधेयक मस्यौदाकर्ताबीच विधेयकको औचित्यमाथि छलफल गरिएको थियो ।

विधेयकमाथि परेको संशोधन प्रस्तावमा छलफल गरी सो प्रस्तावलाई ग्रहण गरिएको सभापति देवकोटाले बताउनुभयो । समितिले राष्ट्रिय बीउबिजन समितिका पूर्वसदस्यसचिव मदन थापा, बालीविज्ञ बेनीबहादुर बस्नेत, राष्ट्रिय बीउबिजन कम्पनीका पूर्वकेन्द्रीय अध्यक्ष बालकृष्ण गिरीलगायत कृषि क्षेत्रका विज्ञलाई बैठकमा बोलाएर विधेयकका सम्बन्धमा सुझाव मागेको थियो । त्यस क्रममा विज्ञहरूले कार्यान्वयनमुखी विधेयक बनाउनुपर्नेमा सुझाव दिएका थिए ।

सभापति देवकोटाले किसान, बीउबिजन उत्पादक, वितरकलगायत सरोकार भएका पक्षसँग पनि विधेयकबारे छलफल गरिएको जानकारी दिनुभयो । “समितिका सदस्य, विज्ञ, सरोकारवालालगायतबाट विधेयकमाथि महत्त्वपूर्ण सुझाव तथा पृष्ठपोषण प्राप्त भएको छ, कानुन निर्माणको प्रक्रियालाई परिपक्व र समृद्ध बनाउन यसबाट ठूलो मद्दत पुग्नेछ”, उहाँले भन्नुभयो ।

प्रदेश मामिला तथा कानुन समितिका सभापति चम्पादेवी खड्काले आमसञ्चार विधेयकमाथि छलफल गर्न समितिका ११ पटक बैठक बसिसकेको जानकारी दिनुभयो । “विधेयकमाथिको दफाबार छलफल सकिएको छ, दलका नेताहरूसँग पनि छलफल गर्दैछौँ, आगामी हिउँदे अधिवेशनमा विधेयकलाई प्रदेशसभामा लैजाने तयारी छ”, उहाँले भन्नुभयो ।

विधेयकका सम्बन्धमा सञ्चारक्षेत्रका विज्ञसहित पत्रकार र सरोकार भएका पक्षसँग पटकपटक बैठक बसी छलफल गरिएको सभापति खड्काले बताउनुभयो । प्रदेशसभाको अघिल्लो कार्यकालमा तत्कालीन सरकारले पनि उक्त विधेयक ल्याएको थियो । विषयगत समितिमा छलफलकै क्रममा रहेको आमसञ्चार विधेयक प्रदेशसभाको कार्यकाल समाप्तिसँगै निष्क्रिय भएको थियो ।

अहिलेको सरकारले गत भदौ ३० गते उक्त विधेयकलाई प्रदेशसभामा पेस गरेको थियो । नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारीले लामो र गहन छलफल भएकाले आमसञ्चार कानुन समृद्ध भएर आउने बताउनुभयो । “पाँच–छ वर्षदेखि यो विषयमा घनिभूत छलफल भएको छ, गण्डकी प्रदेशको आमसञ्चार ऐन उत्कृष्ट बन्ने हाम्रो विश्वास छ”, उहाँले भन्नुभयो । उहाँले सञ्चार संस्था र पत्रकारको व्यावसायिक सुरक्षाको हितलाई हेरेर प्रदेश सरकारले कानुन बनाउनुपर्ने बताउनुभयो । अध्यक्ष भण्डारीले दिगो र कार्यान्वयनमुखी कानुन निर्माण गर्न प्रदेश सरकारलाई सुझाव दिनुभयो ।

प्रदेशसभा सचिवालयका कानुन अधिकृत कुमार रिजालले कानुन निर्माणका प्रक्रियामा विषयगत समितिको सक्रियता बढेको बताउनुभयो । “दुवै विधेयक अहिले ‘मिनी संसद्’ मानिने विषयगत समितिमा छलफलका क्रममा छन्, समितिबाट टुङ्गिएर प्रदेशसभामा आएपछि दफाबार छलफल गरेर विधेयकलाई अन्तिम रूप दिने र पारित गर्ने गर्ने प्रक्रिया अगाडि बढ्छ”, उहाँले भन्नुभयो । रासस