• ४ असार २०८१, मंगलवार
  •      Tue Jun 18 2024
  •   Unicode
Logo
Latest
★   औद्योगिक क्रान्तिमा परेका देशका चुनौती सम्बोधन गर्न प्रधानमन्त्रीको आग्रह ★   सूर्यविनायक–धुलिखेल सडक विस्तार सुस्त: डेढ वर्षमा २५ प्रतिशत प्रगति ★   भारतीय फुटबल महासंघले प्रशिक्षक इगोरलाई बर्खास्त गर्यो ★   लुक्लामा दश दिनदेखि हवाई उडान ठप्प, पर्यटक मर्कामा ★   साहिल चौहानले टी-२० आईको सबैभन्दा छिटो शतक बनाए, नेपालविरुद्ध नामिबियाका इटनले बनाएको कीर्तिमान तोडे ★   मध्यपहाडी लोकमार्ग : निर्धारित समयअगावै भालुखोला र मेवाखोलामा पुल निर्माण ★   आज पनि बजेटमा मन्त्रालयगत छलफल जारी ★   इजराइली प्रधानमन्त्रीद्वारा युद्ध मन्त्रिपरिषद् भङ्ग ★   युरो कपः फ्रान्स, स्लोभाकिया र रोमानिया विजयी ★   ४ ओभर, ४ मेडन र ३ विकेटः न्युजिल्यान्डका बलरले टी-२० विश्वकपमा रचे इतिहास

गुल्मीमा २३ करोडको सुन्तला उत्पादन



तम्घास । गुल्मीको धुर्कोट गाउँपालिका–१ नयाँगाउँका ५४ वर्षीय टीकाबहादुर हमालले विगत ३३ वर्षदेखि सुन्तलाखेती गर्दै आउनुभएको छ । सुन्तलाखेतीबाटै उहाँले वार्षिक लाखौँको आम्दानी गर्दै आउनुभएको छ ।

“एक वर्ष बिराएर सुन्तलाको उत्पादन राम्रो हुन्छ, पोहोर साल रु आठ लाखको बिक्री भयो”, हमालले भन्नुभयो, “यस वर्ष उत्पादन अलि घटेकाले रु छ लाखको सुन्तला बिक्री भयो ।” सुन्तला लिन घरमै व्यापारी आउने गरेका छन् । अहिले उहाँले प्रतिकिलो रु ६५ देखि ७० मा सुन्तला बिक्री गर्नुभएको छ । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने युवाको प्रतिस्पर्धा भए पनि हमाल भने घरमै बसेर मनग्य आम्दानी गरिरहनुभएको छ । “यो पुख्र्यौंली पेसा हो, मैले व्यवसायीकरण गरेको मात्र हुँ”, उहाँले भन्नुभयो ।

उहाँले कूल १२ रोपनी जग्गामा सुन्तलाखेती गर्दै आउनुभएको छ । अहिले २५ हजार बोटमा सुन्तला उत्पादन भइरहेको उहाँले बताउनुभयो । थप ४० हजार बिरुवा नर्सरीमा छन् । केही वर्षपछि ती बिरुवाले पनि उत्पादन दिँदा आम्दानी झनै बढ्ने हमाल बताउनुहुन्छ । सुन्तला बिक्रीको रकम घरखर्च चलाएर पनि बचत हुने गरेको हमाल बताउनुहुन्छ ।

नयाँगाउँकै कमला पोखरेलले पनि यस वर्ष सबै सुन्तला घरबाटै प्रतिकिलो रु ६५ मा बिक्री गर्नुभयो । गत वर्ष रु ८० हजारको सुन्तला बिक्री गर्नुभएकी उहाँले यस वर्ष पनि सोही रकमकै हाराहारीमा बिक्री गरेको बताउनुभयो । सुन्तला लिन व्यापारी घरमै आउने भएकाले बजारको कुनै समस्या छैन । “बारीमा तीन सय बोट छन्, केही साना बिरुवा पनि छन्”, उहाँले भन्नुभयो, “सुन्तला बिक्रीको रकमबाट घरमा चाहिने दैनिक उपभोग्य सामग्री किन्न सहयोग भएको छ ।” पोखरेल र हमाल त सुन्तला बिक्री गर्ने केही प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ । उहाँहरुजस्तै जिल्लामा धेरैले सुन्तला बिक्री गरेका छन् ।

यस वर्ष जिल्लामा रु २३ करोडको सुन्तला उत्पादन भएको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ । त्यसमा रु १२ करोड ८४ लाखको सुन्तला जिल्लाभन्दा बाहिर निर्यात भएको केन्द्रका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो । सरकारले गुल्मीलाई ‘सुन्तला जोन’ भनी घोषणा गरेको छ ।

गुल्मीमा कूल एक हजार २७ हेक्टर क्षेत्रफल सुन्तला उत्पादनयोग्य जग्गा छ । त्यसमध्ये यस वर्ष छ सय २३ हेक्टर क्षेत्रफलमा छ हजार पाँच सय ७२ दशमलव चार मेट्रिकटन सुन्तला उत्पादन भएको छ । अहिले कूल सुन्तला बगैँचाको ६० प्रतिशत बोट फलेका छन् । आव २०७९/८० मा कृषक, कृषि ज्ञानकेन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र पालिकाको लगानीमा एक सय ३० हेक्टर क्षेत्रफलमा थप सुन्तलाखेती विस्तार गरिएको केन्द्रका प्रमुख भण्डारीले बताउनुभयो ।

जिल्लाका पालिकाले पनि सुन्तलाखेती प्रवद्र्धन गर्न विभिन्न कार्यक्रम सञ्चालन गरेका छन् । जिल्लाको धुर्कोट, रेसुङ्गा, मदानेलगायत क्षेत्रमा सुन्तलाखेतीका लागि चक्लाबन्दी कार्यक्रम नै सुरु गरिएको छ । धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलले धुर्कोटमा सुन्तलाको बजारीकरणमा कुनै समस्या नभएको बताउनुभयो । उहाँले सुन्तलाको उत्पादन वृद्धिका लागि सिँचाइ, प्रविधिलगायत विषयमा पालिकाले सहयोग गर्ने प्रतिक्रिया दिनुभयो । रासस