६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलम्चीको पानी चार दिनपछि काठमाडौँ आउने



अ+ अ-

काठमाडौँ । बाढी, पहिरोका कारण क्षति भएर अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको पानी अबको चार दिनमा काठमाडौँ आउने भएको छ । अवरुद्ध भएको ठाउँमा मर्मत गरेपछि मेलम्चीको पानी बुधबार साँझदेखि पुन:काठमाडौँमा पथान्तरण गरिएको छ ।

यही पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाडौँ ल्याउने सहमति भएअनुसार बुधबार साँझदेखि काठमाडौँका लागि पानी पथान्तरण गरिएको मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इञ्जिनियर पदमबहादुर कुँवरले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “निर्माण व्यवसायीको माग सम्बोधन गरेर मेलम्चीको पानी काठमाडौँ पथान्तरण गरिएको छ, २७ किलोमिटर लामो सुरुङमा आधाजति पानी रहेकाले अबको चार दिनमा मेलम्ची खोलाको पानी काठमाडौँको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पुग्नेछ ।” करिब २८ दिनको कार्ययोजनासहित पानी पथान्तरणको काम सुरु गरिएको भए पनि २१ दिनमा हेलम्बुदेखि सुन्दरीजल पानी पथान्तरण गरिएको उहाँले बताउनुभयो । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले आगामी माघ १ गतेदेखि काठमाडौँ उपत्यकावासीका लागि मेलम्चीको पानी वितरण गर्ने तयारी गरेको जनाइएको छ ।

मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँ आउने मेलम्ची खानेपानी विकास समितिका आयोजना निर्देशक जक्की अहमद अन्सारीले जानकारी दिनुभयो । आयोजनाले अम्बाथानको २१ नम्बर गेट, पानी पथान्तरण गर्ने ९ नम्बर गेट र १ नम्बर गेटको मर्मत गरेर बुधबार साँझदेखि काठमाडौँका लागि पानी पठाइएको सिनियर डिभिजनल इञ्जिनियर कुँवरले बताउनुभयो ।

उहाँका अनुसार बाढीले क्षति बनाएको संरचना निर्माण गर्न निर्माण व्यवसायीले दैनिक ४५ जनाभन्दा बढी कामदार र आवश्यक मेसिन परिचालन गरेको थियो । खानेपानीमन्त्री महिन्द्रराय यादवले पुस अन्तिमसम्म मेलम्चीको पानी काठमाडौँ ल्याउने घोषणासमेत गर्नुभएको थियो । मेलम्चीको पानी तत्काल काठमाडौँ ल्याउन मन्त्री यादवले तीन पटक स्थलगतरुपमा अनुगमनसमेत गर्नुभएको थियो ।

बाढीका कारण रोकिएको पानी काठमाडौँ ल्याउन मन्त्री यादवसहित खानेपानी सचिव सुरेश आचार्य र मेलम्ची खानेपानी विकास समितिका आयोजना निर्देशक अन्सारी सक्रियरुपमा लाग्नुभएको मन्त्री यादवका स्वकीय सचिव टङ्क धमलाले जानकारी दिनुभयो । रासस