२२ मंसिर २०८२, सोमबार
,
Latest
एनपीएलमा आज खेल नहुने, भोलि पहिलो क्वालिफायर ओमानको कला प्रदर्शनी मस्कटमा सम्पन्न मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा जिल्ला प्रशासन कार्यालयद्वारा सबै सेवा प्रवाह भइराखेको छ : प्रजिअ अधिकारी मालढुङ्गा–बेनी सडकः स्तरोन्नतिपछि यात्राअवधि छोटियो तोरीबारीबीच चम्किने हिमशृंखला-फोटो फिचर वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन पहिलोपटक खलङ्गा बजारमा ‘फायर हाइड्रेन्ट’ जडान भएपछि… मुस्ताङका उच्चलेंंकमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै एकाबिहानै तातोपानीमा मह र कागती मिसाएर पिउँदा मिल्छ यस्ता फाइदा
तपाईं के खोज्दै हुनुहुन्छ ?

दश हजार किसानलाई दूधमा अनुदान दिँदै भरतपुर महानगरपालिका



फाईल फोटो
अ+ अ-

चितवन । भरतपुर महानगरपालिकाले महानगरभित्रका पशुपालक १० हजार किसानलाई दूधमा अनुदान दिने भएको छ । गत वर्ष ६८ वटा सहकारी र १० वटा फार्ममार्फत दूध बिक्री गरेका ती किसानलाई रु छ करोड ३७ लाख अनुदान दिन लागेको हो । उनीहरुले दुई करोड १० लाख लिटर दूध बिक्री गरेबापत यो अनुदान पाउने छन् ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल पहिलोपटक निर्वाचित भएपछि दूधमा अनुदान दिन थालिएको हो । उहाँका अनुसार पहिलो वर्ष प्रतिलिटर २५ पैसा अनुदान दिइएको थियो । त्यसपछिका दुई वर्ष प्रतिलिटर रु एक र त्यसपछिका योसहित तेस्रो वर्ष प्रतिलिटर रु तीन अनुदान दिइँदै छ । गत वर्षको दूधको अनुदान रकम यो वर्ष दिइँदै छ । बजेटमा रु पाँच करोड ५० लाख दूधको अनुदानमा विनियोजन गरिएकामा अपुग भएपछि पूरक बजेटमार्फत रु ८७ लाख थप गरिएको प्रमुख दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार यति ठूलो रकम दूधमा अनुदान दिने स्थानीय तह भरतपुर हो ।

किसानलाई दूधमा अनुदान दिएसँगै दूध उत्पादन बढेको छ । अघिल्लो वर्ष दूधमा अनुदान रु पाँच करोड १० लाख दिइएको थियो । दूधको उत्पादन बढेसँगै अनुदान रकम थपिएको हो । उहाँले भन्नुभयो, “अन्य क्षेत्रसँगै कृषि र पशुपालनमा महानगरले प्राथमिकता दिएर काम गरिरहेको छ ।”

महानगर उपप्रमुख चित्रसेन अधिकारीका अनुसार सहकारीमार्फत कृषकको बैंक खातामा अनुदान रकम पुर्‍याइनेछ । अनुदान पाउने भएसँगै कृषक उत्साहित भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले बाँड्ने रकम ठूलो छ । धेरै कृषक यसबाट लाभान्वित हुनुभएको छ ।” कृषि र पशुपालनमा कसरी राम्रो गर्न सकिन्छ भन्नेमा महानगर रहेको उहाँले जानकारी दिनुभयो ।

महानगरका पशुसेवा शाखा प्रमुख श्यामराज देवकोटाका अनुसार सहकारी र फार्मबाट आवेदन आइसकेकाले माघको पहिलो सातादेखि अनुगमन थालिँदै छ । यससँगै प्रक्रिया अघि बढाएर वैशाखसम्ममा अनुदान रकम कृषकको खातामा पुर्‍याइने उहाँले बताउनुभयो ।

चालु आर्थिक वर्षमा महानगरपालिकाले कृषिमा अनुदानका लागि रु आठ करोड विनियोजन गरेको थियो । पूरक बजेटमार्फत रु ८७ लाख थप गरिएको हो । यससँगै महानगरपालिकाले माछा पोखरीमा विद्युत्को ५० प्रतिशत अनुदान दिँदै आएको छ । पशुचौपायलाई नाम्ले जुकाको औषधि नि:शुल्क वितरण, घरमा गएर बाँझोपन परीक्षण, काउ म्याट वितरण, पशु स्वास्थ्य शिविर गर्दै आएको छ । निर्वाहमुखी कार्यक्रमअन्तर्गत, बाख्रा, बङ्गुर, कुखुरा, हाँसमा अनुदान दिँदै आएको छ । रासस