२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

‘जङ्गी अड्डा’ कृतिलाई नियाल्दा …

‘जङ्गी अड्डा’ कृतिलाई नियाल्दा …
अ अ+ अ-

सूर्य तेजले समुद्रबाट वाष्पीकृत हुदै मेघाच्छन्न आकाशबाट बर्सेर बन्ने नदी र त्यसको सिञ्चनद्वारा उत्पन्न अन्न खाएका मानिसहरुको वेग वा प्रवाह राष्ट्रव्यापी बन्दै अन्तत: फेरि सागरोन्मुख हुन्छ ।

पहिले अस्तित्व नै नरहेको जल प्रवाहले आफ्नो क्षणिक र अलग स्वतन्त्र अस्तित्व कायम गरेजस्तै सर्वप्राचीन पेसाहरुमध्येको एक मानिने सैनिक महासागरको नेपाली रुपान्तरणमा अकस्मात् ‘जङ्गी अड्डा’ बारेको यो मोहनी तरङ्ग कहाबाट आयो ? ‘जङ्गी अड्डा’ कृतिको पाण्डुलिपीमा डुबुल्की मारिरहदा मभित्र यो प्रश्नले राम्रैसंग जरा गाड्न सफल भयो ।

म बीरेन्द्र सैनिक महाबिद्यालय, सल्लाघारी, भक्तपुरको सुधारात्मक शिक्षण बिभागमा कार्यरत (वि.सं.२०४३–२०६५) हुंदा मोहन थापा समयसमयमा उच्च सैनिक अधिकृतहरुसंग क्यामेरा र माइकसहित त्यहाँ भइरहेका गतिबिधिहरुलाई ‘फोटोजेनिइज’ र आवाजहरु रेकर्ड गर्न आउंथे । म ‘क्लिनिकल इन्ष्ट्रक्टर’ भएकाले आफ्नो ठाउं“का जुन गतिबिधिहरुको ‘पिक्चराइजेसन’ अर्थात् तस्वीर समेटियोस् र आवाजहरु सङ्ग्रहित होस् भन्ने चाहन्थें । उनको दृष्टि भने अरु कुनै ‘एङ्गलतिर’ ढल्केजस्तो लाग्दथ्यो । शायद उनी त्यसबेला म जस्तो जन–सामान्यले देखेका सौन्दर्यको भद्दा प्लटभन्दा पनि परको परम सौन्दर्यलाई ढाक्ने वा कुरुप बनाउने सम्भावना राख्ने ती कारकतत्वहरुलाई चिनेर हटाउंदै सारवस्तुलाई आफ्नो क्यामेरा र क्यासेटमा प्रतिबिम्बित गर्न तल्लीन थिए । तैपनि, मैले उनका हसिलो अनुहारमा रहेको कालो कोठीलाई भने सम्झि नै रहें“ ।

सैनिक जीवनको तालमेलभित्र रेडियो प्रसारण, पत्रपत्रिकामा स्तम्भलेखन, प्रकाशन र उच्चपदस्थ सैनिक अधिकारीहरुको भाषण सम्पादनका क्रममा हुने सतर्कताले नेपाली सेनाको सेवा स‌गसगै सैनिक मुख्यालय वा जङ्गी अड्डालाई हेर्ने मोहन थापाका आंखाको शक्तिमन्यता अरुभन्दा नितान्त फरक भएको हो भन्ने मेरो अनुमान छ ।

क्यास्पियन समुद्रका छेउछाउबाट उठेर पर्सियामा आइ झण्डै दुई सय चालीस वर्षसम्म प्रारम्भिक राज्य ब्यवस्थाका अग्रणी कश्यप गोत्रीहरुको एउटा झुण्ड ऋक्सेनसम्म आइपुग्दा ऋग्वैदिक परम्पराको एउटा अहम् अङ्ग बन्न पुग्छ, तापनि सद्य वर्तमानमा आफ्ना पितामह हर्कबहादुर गोदारका सैनिक जीवनको तीब्रतम प्रभाव नै नाति मोहन थापामा आएर विस्तार भएको पाइन्छ । मानिसको मन स्मृतिहरुको सङ्ग्रह हो । सैनिक सौन्दर्यप्रेम र कर्तव्यनिष्ठ सौर्य परायणता नै यिनको यस सम्बन्धी खुराक हो ।

पूर्वको दुम्जा–झाँगाझोली, कांँशीखर्क–खनियांखर्क तिर बसेर मोहन थापाले, काठमाडौं खाल्डोभित्रको राजन्यवर्गीय उतार–चढावका चाखिला घटनाहरुमा आफू कसरी असम्पृक्त बन्ने वा निर्लिप्त नहुने भन्ने सिप आर्जित गर्न सफल भएका रहेछन् । त्यसै पनि कुनै वस्तु वा घटनाको सौन्दर्य ठीक अगाडिबाट भन्दा डाँडाको टुप्पा वा खर्कका भिराला पाखाबाट तल झनै राम्रो देखिन्छ ।

सामान्यत: मैं हुंँ भन्ने सैनिक अधिकृतहरुका लागि समेत सपनाको स्वर्ग जस्तै रहेको सैनिक मुख्यालय वा जङ्गी अड्डाको जागिर वा बसाइ लेखक मोहन थापाका लागि फिटिङ वा सामान्य सरसफाईबाट सुरु भएर सैनिक सेवाको प्रारम्भिक दिनदेखि नै सुलभ–सुगम बन्यो । अझ उनीभित्रको लेखकीय रस एवं सम्भाषण लेखनले गर्दा लामो समय धेरैले रोजे–खोजेको प्याम्पर्ड चाइल्डका रुपमा बित्यो । यसले गर्दा यिनले सैनिक इतिहास, संस्कार–संंस्कृति र नेपाली सेनाको वीरताको अन्तर्यलाई छाम्ने मौका प्रशस्तै पाए । नेपाली सेनाका बिशिष्टस्तरका सभा–समारोहमा थापाले ‘माष्टर अफ सेरेमोनी’ का रुपमा लामो समय बिताए ।

मानिसमा सङ्गत गुनाको फल विकसित हुन्छ । वि.सं.२०४७ चैतदेखि सैनिक मुख्यालयको सेरोफेरोमा परमसेनाधिपतिका नाताले राजा, प्रधानसेनापतिदेखि तल्लोतहका अफिसरहरुसंगको सङ्गत बाहेक आफ्नै नन् अफिसर समूहका सदस्यहरुको चालचलन, रहनसहन र खासगरी उध्र्वमुखी कारक तत्वहरुको चयनमा मोहन थापाको छैटौं ज्ञानेन्द्रियले राम्रो साथ दिएको देखिन्छ ।

जङ्गी अड्डामा कार्यरत रहेर रेडियो नेपालमार्फत प्रसारण हुने शाही नेपाली सैनिक रेडियो कार्यक्रम र सिपाही बार्षिक/मासिक/पाक्षिक मार्फत मोहन थापाले आम श्रोता र पाठकमाझ प्रवाह गरेका नेपालको सैनिक सङ्गठन र राष्ट्रहितबारेका गहकिला सामग्रीहरु अझैपनि मानसपटलमा ताजै छन् ।

मोहन थापाबाट लिखित र सम्पादित भई प्रसारित हुने सैनिक समाचार एवं प्रस्तुति र पत्रपत्रिकामा प्रकाशित हुने लेख, रचनाहरु परिणाममुखी हुन्थे, तर पनि सेनामा त्यसका प्रतिक्रियाहरु विस्तारै गौण ठानिन लागेको, जे जे गरिन्थ्यो वा गर्न लगाइन्थ्यो तिनका बीचमा कतै तालमेल नभएको आभाष हुन थालेपछि मोहन थापाको मन भांचियो र उनले पेन्सन हुनासाथै सैनिक सेवा छाडे । यसबाट उनको स्मृतिमा सैनिक सङ्गठनको सङ्केन्द्र मानिने जङ्गी अड्डा र नेपाली सेनाका बारेमा अमिट तर धमिलो भावभूमि बन्यो । त्यसैले पनि होला उनका ‘ती सैनिक – २०७०’, ‘मेघबहादुर थापा – २०७४’ ‘सुबेदार : सैनिक सङ्गठनको गौरव – २०७४’ आदि कृतिहरुमा मृत्युमुखी वा हत्या गरिएका नेपालका सैनिकहरुप्रति सहानुभूति जनाउन भगीरथ प्रयत्न गरिएको छ ।

मानिसले आफूलाई वा आफ्नो भित्री अस्तित्वलाई चिन्न सक्नुलाई ठुलो सफलता मानिन्छ । सुबेदार मेघबहादुर थापालाई ऐतिहासिक अन्याय भयो भन्ने मोहन थापाको सैनिक सेवाको अन्तिम पद सुबेदार हो । शायद मनको कतै कुनामा मोहन थापालाई जङ्गी अड्डामा बस्दाका दिनहरुमा आन्तरिक पदोन्नतबाट उच्चअधिकृत हुन पुगेका कतिपय भाग्यमानी अधिकृतमा जस्तै नजानिंदो ख्वावको एउटा घाउ वा आलो दाग थियो ।

त्यसलाई मेटाउने क्रममा यिनले नेपालका मात्र नभएर विश्वका प्राय: उच्चपदस्थ नामचिन (प्रसिद्ध) व्यक्तिहरु प्रारम्भिक सैनिक जीवनमा सुबेदारबाटै माथि उठेको देख्न थाले । बास्तवमा मोहन थापालाई नेपाली सैनिक इतिहासज्ञका रुपमा स्थापित गर्ने कृति पनि ‘सुबेदार : सैनिक सङ्गठनको गौरव’ नै हो । भावनाका निर्मलीकरणको यही प्रयास मोहनले सुबेदारी पदलाई अनेकौं राष्ट्रिय विभूतिसंग दांजेका छन् र यस प्रकारको लेखनले यिनलाई सैनिक इतिहासकै महारथी बनाइदिएको छ ।

कुण्ठा, कल्पना र भावुकतालाई पन्छाएर यथार्थको धरातलमा आउं“दा सम्पूर्ण नेपालीलाई देशको सुरक्षामा लड्दालड्दै मर्न सिकाउने यही ‘जङ्गी अड्डा’ नै नेपालीको अन्तिम भरोषा भएकोमा मोहन थापा बिश्वस्त बन्न पुगे । जसलाई अरुले उपभोगको विषय ठाने त्यसैलाई यिनले आराध्य माने । त्यसैले लेखक थापाले यस कृतिमार्फत समग्र नेपाली सेनाको उत्थान र पतनको नालीबेली भन्न चाहे । जुनसुकै योग्यतम सदस्यलाई आफूटाढा बसेर हेर्दा आफ्नो सङ्गठन वा आराध्यालय गौरवशाली बनिरहोस् भन्ने चाहना त हुन्छ नै ।

म सैनिक इतिहासविद् भएर यस पुस्तकको भूमिका लेख्न लागेको होइन्, तर पनि नेपाली सेनाप्रति मेरो गहिरो र सकारात्मक लगाव भने यथावत् छ । त्यसैले म मोहन थापाप्रति कृतज्ञ हुंदै यस सम्बन्धमा उनकै शब्दहरु दोहोर्याइ रहेको हुन्छु । नेपाल एकीकरणको सन्दर्भमा पृथ्वीनारायण शाह हनुमानढोका राजगद्दीमा बसेपछि त्यस समय सैनिकहरुको मुख्यालय पनि यही नै हुने भयो । पछि भीमसेन थापाले राजा राजेन्द्रबिक्रम शाहबाट लिएको मुख्तियारीको लालमोहरमा जङ्गी मुलुकी शब्दको उल्लेख हुनुले सैनिक सम्बन्धी बिषयलाई ‘जङ्गी काम’ भन्न थालियो । सैनिक सुदृढीकरणका सन्दर्भमा जनरल कम्याण्डर–इन्–चीफ भीमसेन थापाले छाउनीमा सामानहरु राख्ने जङ्गी असबाब खाना लगायतका सैन्य निकाय स्थापना गरेका थिए, तापनि सेना सम्बन्धी सबै बिषयको सङ्केन्द्र चाहिं हनुमानढोका राजदरबार नै थियो ।

जङ्गबहादुर कुंवर राणाले वि.सं.१९०३ मा शक्ति आफ्नो हातमा लिएपछि उनकै निवासबाट चल्दै आएको सैनिक सम्बन्धी निर्देशन र खटनपटन, वि.सं.१९०७ मा उनी बेलायत यात्राबाट फर्केपछि, निजामति र जङ्गी प्रशासनसमेत दुई अलग बिभाग सृजना गरी, जङ्गी फांट हेर्ने सैनिक अड्डाको प्रारम्भिक स्वतन्त्र स्वरुप खडा गरे । यही सैनिक वा जङ्गी सम्बन्धी स्वतन्त्र स्वरुप नै आजको ‘जङ्गी अड्डा’ हो अर्थात् नेपालको राष्ट्रिय सेना – नेपाली सेनाको मुख्यालय ( Army Head Quarter ) मा परिवर्तन भएको हो ।

वि.सं.१९११–१२ मा भएको तिब्बतस“गको युद्ध पुर्व टुडिखेलको पूर्व दक्षिणको डिलमा स्थापना भएको जङ्गी अड्डालाई ब्यवस्थित गर्नका लागि पछि श्री ३ जङ्गले पुतली महारानीतर्फबाट जन्म भएका आफ्ना छोरा ले.ज.बबरजङ्ग कुंवर राणालाई नियुक्त गरेका थिए ।

सैनिकहरुका लुगा, हतियार, तालिम, खानगी, झै–झगडा, खटनपटन, राज्यारोहण, राज्याभिषेक, राजपरिवारका सदस्यहरुको विवाह, व्रतबन्ध, मृत्युसंस्कार बाहेक विदेशी पाहुनाहरुको स्वागत तथा बिदाइको परम्परालाई सुरक्षित राख्नमा बबरजङ्ग सिपालु थिए । बृटिस इण्डियामा सैनिक तालिम लिएका हुनाले प्रिन्स अफ वेल्स र उनीसंग नेपालमा सिकारका लागि सवारी भएका पाहुनाहरुसग संवादका लागि भाषिक समस्या उनमा थिएन । दुर्भाग्यवस वि.सं.१९३३ मा क्षयरोगका कारण उनको अल्पायुमा निधन भयो ।

‘जङ्गी अड्डा’ नामक यो कृति नेपाली सैनिकहरुका समग्र उत्थान र पतनको साध्य भाव बोकेको एउटा अनुसन्धानात्मक इतिवृत्त बनेको छ । एउटा फरक प्रकृतिको अनुसन्धानको प्रारुप पनि कसै न कसैले छाडेर गएको विरासतको क्रमिक इतिवृत्त हो । १९४० साल असारमा नक्सालमा जन्मेका डम्बरशमशेर गोदार थापाले हालको लाइब्रेरी साइन्स भनेजस्तै पुराना कागज स्रेस्ता मिलाउने विषयमा कलकत्तामा तालिम लिएका थिए । अंग्रेजी भाषाको दक्षता बाहेक उनी नेपाली भाषामा नियमित आफ्नो डायरी लेख्दथे । उनको ‘डायरीका पाना’ अनुसार वि.सं.१९८९ मा जङ्गी बन्दोबस्ती अड्डा र जङ्गी अड्डा गाभिएर थप भवन निर्माण गरी एउटै जङ्गी अड्डा बनाएर काम गर्न थालिएको थियो । २००७ साल फागुन ७ को परिवर्तनअघि डम्बरशमशेर थापा जङ्गी अड्डाका हाकिम र पछि रक्षा सचिब भए ।

वि.सं.२००९ मा नेपाली सेनाको पुनर्गठनपछि यसलाई थप ब्यवस्थित बनाउने सिलसिलामा प्रधानसेनापति (कमाण्डर– इन्–चीफ) यसका हाकिम हुनथाले । ब्यवस्थापन समुहका रुपमा उच्चस्तरीय सैनिक सम्मिलित (पिएसओज) कमिटीहरु रहन लागे र बलाधिकृत, बलाध्यक्ष, प्रबन्धरथी, कार्यरथी, निरीक्षणाधिकृत जस्ता बिभाग अन्तर्गत निर्देशनालय र शाखाहरु सृजना गरिएका हुन् ।

लेखक मोहन थापाको एउटा फरक धार चाहिं अलिक ध्यानावस्थामा पुगेर सोच्नुपर्ने किसिमको छ । लेखक थापाका अनुसार हालको जङ्गी अड्डाको यो भवन खर्चिलो र विलासी प्रकृतिको छ । यहाको बसाई नेपाली सेनाको परम्परित गजुरमुखी सुगन्ध वा वीरत्वको धारिलो इतिहासलाई मेटाएर भुत्ते बनाउने प्रकृतिको छ । ब्यस्त शहरको बीचैबीचमा यस्तो भवन हुनुभन्दा यो अड्डा शहरबाहिरको कुनै एकान्तमा आफ्नो जातीय अस्तित्वलाई जोगाउने हिङलाई टालोले झैं छोपेर राखी यस ठाउंमा त ती वीर सैनिकहरुको सङ्ग्रहालय राखिनु पथ्र्याे जसले नेपाली वा गोर्खाली वीरताको वैभव बुझ्नलाई एकीकृतरुपमा मद्दत गरोस् । झट्ट हेर्दा नकारात्मकजस्तै लागे पनि मोहन थापाको यो दृष्टिकोणले विश्वका विभिन्न देशका सेनामा भर्ती हुन जाने र आफ्नै देशभित्र पनि अन्योलका अवस्थामा दिन बिताएर उद्देश्यहीन तरिकाले पेन्सन पकाउनेहरुका मूलश्रोतको एकत्वतिर सङ्केत गरेको छ ।

त्यसै पनि यता आएर देशको शासन ब्यवस्था परिवर्तनमा नेपाली सेना अहस्तक्षेपकारी अथवा शून्य भूमिकामा रहेको छ । खासगरी २०५८ जेठ १९ को दरबार हत्याकाण्ड र ०५२–०६२ को सशस्त्र द्वन्दमा सेनाका उच्चअधिकारीहरु आ–आफ्नो भूमिका र जिम्मेवारीबाट उम्किन खोजेजस्तो देखिन्छ । राष्ट्रसंघीय शान्ति सेनामा नाम कमाउने सेनाले दाङ्ग हमलामा तत्परताकासाथ कार्य गरी आफ्ना हतियार फिर्ता लिन नसक्नुले, सेना परिणाममुखी नभएर सेवामुखी बन्दै गएको र पूर्वजका इज्जत–परम्परा त्यागी, विस्तारै, धन आर्जनतिर रमाएको समूहमा परिणत हुनसक्ने खतरा लेखकले देखिरहेका छन् ।

२०६३ वैशाख ११ गतेकोे परिवर्तनसम्म आउंदा आफ्ना १०५५ सैनिक गुमाएर पनि आफ्नै परमाधिपतिको खारेजीमा सन्तुष्ट र शान्त हुनु समयको माग थियो कि ? कर्तव्यपरायणताबाट विमुखतातिर ढल्किंदै जाने विश्वप्रसिद्ध गोर्खालीहरुको वीरताको क्षयीकरण वा अवसानको पूर्व सूचक हो ? यी र यस्ता प्रश्नहरु लेखकका मात्र नभएर इतिहास र मातृभूमिप्रति गौरव गर्ने प्रत्येक देशभक्त नेपालीका मनमा कालान्तरसम्मै उठिरहने अमिट प्रश्नहरु हुन् । लेखक मोहन थापाले ‘जङ्गी अड्डा’ नामको यस कृतिमा, यसबारे गहकिलो प्रश्न उठाएका छन् ।

वि.सं.२०६६ वैशाख २० को राती पटाक्षेप भएको प्रधानसेनापति–प्रधानमन्त्री (प्रचण्ड) बीचको विमतिको तरङ्ग राष्ट्रिय हितको दृष्टिले कतातिर ढल्केको हुनुपथ्र्याे ? राष्ट्र र सेनालाई युगान्तकारी छाप छाडेर जाने यी र यस्ता अनेकन् घटनामा सैनिक मुख्यालय : जङ्गी अड्डा निरीह बनेर, वीरताको क्षयीकरणलाई हेरेर बस्नु ठिक थियो की आफ्नो अस्तित्वको सङ्कटलाई परास्त गरी देशको ज्वलन्त उर्जाको रुपमा प्रवाहमान निरवछिन्न वीरताको उत्सर्जकका रुपमा स्थापित हुनु बेस् भन्ने एउटा जटिल प्रश्नलाई उठाएर सम्बन्धित सबैका निम्ति पठनीय–मननीय बन्दै यो ‘जङ्गी अड्डा’ पुस्तक टुङ्गिएको छ ।

एउटा सैनिकको मनोमष्तिष्कमा उठेका यी र यस्ता धेरै फरकधारमाथि सप्रमाण विवेचना गरिएको कृति ‘जङ्गी अड्डा : विगत र वर्तमान’ मा मलाई दुई–चार कुरा लेख्ने अवसर पाएकोमा धन्यवाद भन्दै कृतिको उच्चता र सृजनधर्मी स्रष्टाको निरन्तरताको कामना गर्दछु ।

डा.राम पौडेल
इन्द्रप्रस्थ, चन्द्रागिरी–१
काठमाडौं ।