१७ भाद्र २०८३, बुधबार
,
Latest
सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि जलवायू परिवर्तनबाट सिर्जित चुनौती: अन्तर्राष्ट्रिय स्तरमा नेपालले आफ्नो मुद्धा स्थापित गराउनु आवश्यक इजिप्टमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु, २८ घाइते ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा ‘अदालतलाई सूचना प्रविधि र जनमैत्री बनाउँदै लगेका छौँ’ ललितपुरमा ऐतिहासिक नृसिंह जात्रा सम्पन्न तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घद्वारा एक करोड एक लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिसोले खुम्बु क्षेत्रमा विकास निर्माण अवरुद्ध



अ+ अ-

सल्लेरी । सोलुखुम्बुको सगरमाथा क्षेत्रमा करिब एक महिनादेखि विकास निर्माण ठप्प भएको छ । अत्यधिक चिसोका कारण उक्त क्षेत्रमा विकास निर्माणअवरुद्ध भएको खुम्बु पासाङल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत मङ्सिरदेखि नै चिसोले हिउँ जम्न थालेपछि विकास योजनाका काम रोकिएको हो । “खुम्बुको माथिल्लो क्षेत्रमा यतिखेर हिउँ जमेका छन्, त्यसैले विकास निर्माणमा कङ्क्रिटका काम सबै ठप्प छ, हिउँ नपग्लेसम्म काम सुरु हुने अवस्था छैन”, वडाध्यक्ष अधिकारीले भन्नुभयो । रोकिएका विकास निर्माण फागुनको तेस्रो साताबाट सुरु हुने उहाँको भनाइ छ ।

हाल पालिकाको बजेटअन्तर्गत थुक्ला पुल निर्माण, खुम्जुङभित्र बाटो फराकिलो गर्ने योजना, खुम्जुङ छिर्ने मुख्यद्वार निर्माण, गुम्बा रङरोगन योजनालगायतका काम रोकिएको वडा कार्यालयले जनाएको छ । ती योजना कतिपय अन्तिम चरणमा पुगिसकेका छन् भने केही भर्खरै सुरु भएका योजना रहेको वडा सदस्य ङिमायाङ्जी शेर्पाले जानकारी दिनुभयो । पुस, माघमा खुम्बुको माथिल्लो क्षेत्र हिउँले पूरै ढाक्नुका साथै चिसोले जमिन नै जम्ने भएकाले सो क्षेत्रमा विकास निर्माणले गति लिन नसक्ने सदस्य शेर्पाले बताउनुभयो ।

आर्थिक वर्ष नै बाधक

सामान्यतय देशका अन्य स्थानमा आर्थिक वर्षको सुरुआतदेखि असार मसान्तसम्म नै विकास निर्माणले गति लिने गर्छन् । तर हिमाली क्षेत्र खुम्बुमा भने आर्थिक वर्ष नै विकासको बाधक बन्ने गरेको खुम्बु पासाङल्हामु गाउँपालिका प्रवक्ता ल्हाक्पाछिरी शेर्पाले बताउनुभयो । सरकारी बजेटको सामान्यतय भदौ–असोजमा मात्रै अख्तियारी आउने र कात्तिकबाट चिसो सुरु हुने भएकाले विकास निर्माणमा सिमेन्टका काम सुरु गर्न नसकिने उहाँको भनाइ छ ।

माथिल्लो क्षेत्रमा विकासका योजनाको काम फागुन अन्तिम साताभन्दा अघि सुरु गर्न नसकिने हुँदा आफूहरूका लागि साउनबाट सुरु भएर असार मसान्तमा सकिने आर्थिक वर्ष नै विकासको बाधक भएको खुम्बु पासाङल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले बताउनुभयो । भौगोलिक कारण यस क्षेत्रमा बाह्रै महिना विकासका काम सञ्चालन गर्न नसक्नु यहाँका नागरिकको बाध्यता हो । फागुन अन्तिमबाट सुरु गरिने विकासे काम असार मसान्तमा नसकिने स्थानीय लामाकाजी शेर्पाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अरु ठाउँमा एक आवभर नै विकासका काम गर्न सहज छ भने हामीलाई निकै कठिन छ, साउनबाट नयाँ आव सुरु हुन्छ, भदौ–असोजतिर बजेट निकासाको अख्तियारी आउँछ, कात्तिकबाट चिसो सुरु हुने भएकाले काम गर्न सकिन्नँ, त्यसो हुँदा चैतबाट करिब तीन महिनाभित्र सबै काम सक्नुपर्ने बाध्यता छ ।” अधिकांश समय चिसो हुने र हिउँले सेताम्मे हुने खुम्बुको माथिल्लो क्षेत्रका नागरिक हरेक समस्यासँग जुध्न बाध्य छन् । चिसो बढेसँगै धारामा पानीसमेत जमेर नआउने भएकाले यस क्षेत्रका नागरिक विभिन्न समस्या झेल्न बाध्य छन् । रासस