२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुर्ख्यौली पेसा संरक्षण गर्दै भोजपुरका युवा



अ+ अ-

भोजपुर । धेरै युवामा विदेशप्रतिको मोह रहे पनि भोजपुर टेम्केमैयुङ गाउँपालिका–६ कोटका केही युवा पुर्ख्यौली कालिगड पेसामा रमाउँदै आएका छन् । पेसाको संरक्षणसँगै यसलाई पुस्तान्तरण गर्ने लक्ष्यले यो पेसालाई निरन्तरता दिएको स्थानीय महेन्द्रर साइलीले बताउनुभयो ।

पराम्परागत भोजपुरे खुकुरी बनाउने पेसा सङ्कटमा पर्ने अवस्था आएकाले यसको संरक्षणमा जुटेको उहाँले बताउनुभयो । आफ्नो उद्योगमा उत्पादन भएका खुकुरी भोजपुर सदरमुकामसँगै स्थानीय बजारमा बिक्री गर्दै आएको उहाँको भनाइ छ । आफूले भोजपुरे, सिरुपाते, चित्लाङ्गले, कोथीमोडालगायतका खुकुरी बनाउने उहाँको भनाइ छ । स्वदेशमा नै कालिगड पेसा गरेर परिवारको घर खर्च धान्दै आएको उहाँले बताउनुभयो ।

“विदेशप्रतिको मोह त्यागेर पुर्ख्यौली कालिगड पेसा गर्दै आएको छु”, उहाँले भन्नुभयो, “हामीजस्ता नयाँ पुस्ताले संरक्षणमा ध्यान नदिने हो भने यो पेसा सङ्कटमा पर्ने अवस्था छ । यसको संरक्षण गर्दै नयाँ पुस्तासम्म सीप हस्तान्तरण गर्ने मेरो लक्ष्य छ ।” विभिन्न प्रकारका खुकुरी बनाउँदै आएको भए पनि मोफसलमा व्यवसाय सञ्चालन गरेकाले बजारीकरणमा केही समस्या रहेको उहाँको भनाइ छ । कतिपय खण्डमा मेहनतअनुसारको आम्दानी लिन समस्या हुने गरेको उहाँले बताउनुभयो ।

“पछिल्लो समयमा यो पेसाप्रति युवाको आर्कषण घट्दो छ”, उहाँले भन्नुभयो, “यो काम गर्न अलि बढी नै मेहनत पर्छ । दुर्गम ठाउँमा व्यवसाय सञ्चालन गरिरहेकाले बजारसम्म पुर्याउन अलि समस्या हुन्छ ।” व्यवसाय सञ्चालनमा कच्चा पदार्थ र बजारको समस्या रहेको उहाँको भनाइ छ । सामुदायिक वनबाट सहजरूपमा कोइला ल्याउन पाउने अवस्था नहुँदा समस्या भएको कालिगडहरूको भनाइ छ । उत्पादन गरेको खुकुरीले पनि मेहनतअनुसार मूल्य पाउन नसक्दा मानिसको यस पेसाप्रति रुचि घट्दै गएको उहाँले बताउनुभयो । राज्यका तर्फबाट यसको विकास तथा संरक्षणमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

“समाजमा यो पेसालाई अझै पनि अपहेलनाका रूपमा लिने चलन छ”, उहाँले भन्नुभयो, “मेहनतअनुसारको प्रतिफल लिन अलि समस्या नै छ । कच्चा पदार्थको अभाव छ । फलामको मूल्य बढ्दो छ । तर उत्पादित सामग्रीलाई सोचेअनुसारको मूल्यमा बिक्री गर्ने बजार छैन । बिचौलियालाई बेच्नुपर्ने अवस्था छ । राज्यले उत्पादित वस्तुको सही मूल्य पाउने वातावरण निर्माणसँगै आवश्यक सहयोग गरे राम्रो हुने थियो ।”

दिनानुदिन कालिगड पेसा छाड्नेको सङ्ख्या बढ्न थालेपछि प्रोत्साहनका कार्यक्रमलाई अघि बढाएको टेम्केमैयुङ–६ का वडाध्यक्ष सूर्यप्रसाद नेपालले जानकारी दिनुभयो । “पछिल्लो समय वडामा भएका कालिगड पलायन हुँदै गएको अवस्था छ”, उहाँले भन्नुभयो, “अहिले हामी यो पेसाको संरक्षणमा जुटेका छौँ । गत वर्ष यहाँका कालिगडहरूलाई रु एक लाखबराबरको सहयोग गरेका छौँ ।”

भोजपुरे खुकुरीले नाम कमाएको जिल्लामा कालिगड पेसा सङ्कटमा पर्दै गएपछि संरक्षणमा जुटेको उहाँको भनाइ छ । पेसामा लागेकालाई लक्षित गरेर प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्दै आएको वडा कार्यालयको भनाइ छ । “विगतमा हाम्रो ठाउँमा कालिगड धेरैको सङ्ख्यामा थिए”, उहाँले भन्नुभयो, “अहिले व्यावसायिकरूपमा यो काम गर्ने छ–सात घरमात्र छन् । संरक्षण गरिएन भने यो पेसा सङ्कटमा पर्ने अवस्था छ । त्यसैले हामीले केही सहयोग गर्दै आएका छौँ ।” रासस