५ श्रावण २०८३, मंगलवार
,
Latest
कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जङ्गली हात्तीबाट गहुँबाली जोगाउन रातभर जाग्राम



फाईल फोटो
अ+ अ-

कञ्चनपुर । जङ्गली हात्तीको बथानबाट गहुँबाली जोगाउन शुक्लाफाँटा नगरपालिका– ३ का किसान रातभर जाग्राम बस्न बाध्य भएका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आउने हात्तीको बथान भगाउन स्थानीय किसान खेतमै आगो बालेर रातभर जाग्राम बस्दै आएका छन् ।

झण्डै एक महिनादेखि नियमित रुपमा हात्तीको बथान स्थानीय किसानका खेतमा छिरेर गहुँबालीमा व्यापक नोक्सानी पुर्‍याउँदै आएको छ । हालसम्म तीस भन्दाबढी किसानको १५ बिघा खेतको गहुँबालीमा नोक्सानी गरिसकेको स्थानीयवासी महेश महराले बताउनुभयो ।

प्रत्येक दिन राति १२ बजे निकुञ्जबाट दशदेखि पन्ध्रको सङ्ख्यामा छावासहितको हात्तीको बथान स्थानीय किसानको खेतमा छिर्ने गरेको उहाँको भनाइ छ । गहुँबालीले पेट भरेर बिहान ४ बजेपछि हात्ती निकुञ्जतर्फ लाग्ने गरेका छन् । “हात्तीको बथान लगातार खेतमा छिर्न थालेपछि भगाउन रातभर जाग्राम बस्नु परेको छ” गोविन्द चौधरीले भन्नुभयो, “एक महिनादेखि राम्ररी सुत्न पाएका छैनौँ ।”

दश कठ्ठा जग्गामा लगाएको गहुँबाली खाएर र खुट्टाले कुल्चेर पूरै नोक्सानी पुर्‍याएको उहाँको भनाइ छ । “हात्ती निकुञ्जबाट खेतमा छिरेको मात्रै थाहा पाइने गरिएको छ” अर्का किसान डगौराले भन्नुभयो, “थाहा पाउँदासम्म खेतको गहुँबाली खाइसक्छ ।”हात्ती धपाउन स्थानीय बासिन्दाले पालो मिलाएर सुत्ने गरेका छन् । पटाका पड्काउँदासमेत पड्केको ठाउँतर्फ आक्रमण गर्न हात्ती आउने गरेकाले भगाउन निकै सकस रहेको उहाँ बताउनुहुन्छ ।

स्थानीयस्तरमा बन्दुक बनाई पड्काउने, उज्यालो बनाउन बत्ती बाल्ने, आगो बाल्ने, हो हल्ला गर्ने गरेपछि विस्तारै निकुञ्जतर्फ हात्तीको बथान जाने गरेको उहाँको भनाइ छ । “खेतकै गहुँ बेचेर घरखर्च चल्थ्यो” जीतेन्द्र चौधरीले भन्नुभयो, “वर्षभरिका लागि खान पुग्थ्यो, हात्तीले गहुँका बोटनै उखेलेर खान थालेपछि निकै तनावमा रहेका छौंँ ।”

गहुँ खेतीलाई मात्रै सिँचाइ, जोताइ, मलखाद गरी रु बीस हजार जति खर्च भएको उल्लेख गर्दै उहाँँले खेती गर्दा लागेको खर्च नउठ्दा मजदुरी गर्न जानुपर्ने अवस्था आइलागेको उहाँले बताउनुभयो । हात्ती नियन्त्रण गर्न निकुञ्ज कार्यालयलाई गुहार गरेपनि बेवास्ता गरिएको वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताउनुभयो ।

“किसानको गहुँबालीमा हात्तीको बथानले निकै ठूलो नोक्सानी गरेको छ” उहाँले भन्नुभयो, “किसानलाई क्षतिपूर्तिसहित हात्ती नियन्त्रणका लागि भरपर्दो उपाय गरिनुपर्छ ।” स्थानीय किसानले हात्ती नियन्त्रणका लागि साइरन जडानसँगै लाइट, सौर्यबत्ती उपलव्ध गराउनुका साथै मचान निर्माण गरिदिन निकुञ्ज कार्यालयसँग माग गरेका छन् । रासस