१७ भाद्र २०८३, बुधबार
,
Latest
एमाले अध्यक्ष ओलीद्वारा धादिङ र नुवाकोटका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन (तस्बिरसहित) पहिरोका कारण अवरुद्ध तिब्बतको केरुङ नाका जोड्ने सडक पुनः सञ्चालन देशको कार्यकारीले प्रत्यक्ष सूचना पाउनुपर्छ, राष्ट्रिय अनुसन्धान प्रधानमन्त्री मातहत नै ठीक छः कानूनमन्त्री गौतम प्रधानमन्त्रीले सदनमा केही कुरा गलत बोल्नुभयोः दाहाल एनभिएलको विजेताले २० लाख पाउने सरकारले घमण्ड त्यागेर सबै राजनीतिक दलसँग संवाद गरोस्ः अर्जुननरसिंह केसी विपद् व्यवस्थापनमा सरकारको कामलाई अहिले नै असफल भन्नु हतारो हुन्छः मनिष झा विपद् व्यवस्थापनमा सरकारले नेतृत्व लिन सकेन, अहंकार र दम्भ त्यागौँः प्रमुख सचेतक महर भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकले गर्‍यो २ करोड ११ लाख रुपैयाँ सहयोग शाही युवा शक्ति नेपालद्धारा रसुवा बाढीपिडित नागरिकलाई राहत बितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

करेसाबारीको तरकारी दिवा खाजामा



अ+ अ-

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ डाँडाखेतमा रहेको बालमन्दिर आधारभूत विद्यालयले आफैँ तरकारी उत्पादन गरेर दिवा खाजाका लागि प्रयोग गरेको छ ।

विद्यालय परिसरमा करेसाबारी बनाएर दिवा खाजाका लागि आवश्यक पर्ने तरकारी आपूर्ति गरेको हो । विद्यालयका प्रधानाध्यापक रामप्रसाद शर्माले ‘जङ्कफुड’ निषेध र बालबालिकालाई सीपमूलक शिक्षा प्रदान गर्न करेसाबारीमा तरकारी उत्पादन गरेर खाजामा प्रयोग गरेको जानकारी दिनुभयो ।

“स्थानीयस्तरमा पर्याप्त मात्रामा तरकारी नपाइने हुँदा विद्यालयमै उत्पादन गरेर दिवा खाजामा प्रयोग गरेका छौँ”, उहाँले भन्नुभयो, “विद्यालय परिसरको खाली जग्गामा तीन ठाउँमा मौसमी, बेमौसमी तरकारी लगाएका छाँै । दिवा खाजाका लागि ताजा तरकारी किन्नुपरेको छैन ।” बिदा र छुट्टीको समयमा शिक्षकले तरकारी लगाउने, गोडमेल र पानी लगाउने काम गर्छन् । कक्षा ६, ७ र ८ का विद्यार्थीलाई प्रयोगात्मक कक्षाका लागि करेसाबारीको प्रयोग गरिएको छ । बन्दा, काउली, केराउ, मुला, साग, गाँजर, मटरकोसा, सिमी, केराउ प्रजातिका तरकारी लगाएका छन् ।

करेसाबारी निर्माण र व्यवस्थापन गर्न विद्यालयले शिक्षक अर्जुन खत्री, सुनिता गौतम र लक्ष्मी शर्मालाई जिम्मेवारी तोकेको छ । शिक्षक खत्रीले विद्यालयमै उत्पादन भएको तरकारी प्रयोग गर्दा विद्यार्थीले कम खर्चमा पर्याप्त र स्वस्थकर खाजा खान पाउनुका साथै तरकारी खेतीका बारेमा ज्ञान हासिल गरेका बताउनुभयो । शिक्षक गौतमले तरकारीमा प्रयोग नहुने बन्दा, मुला र काउलीको पातलाई प्रशोधन गरेर विद्यार्थीले गुन्द्रक बनाएका बताउनुभयो । उहाँका अनुसार विद्यार्थीलाई दुना टपरी बनाउने सीप पनि सिकाइएको छ । स्थानीय पाठ्यक्रमको पठनपाठन गराउने क्रममा विद्यार्थीलाई स्थलगतरूपमा खेतबारी, गोठ र फार्ममा लैजाने गरिएको छ ।

कक्षा ८ सम्म पठनपाठन हुने विद्यालयमा हाल ९२ विद्यार्थी छन् । कक्षा ५ सम्मका विद्यार्थीलाई दिवा खाजाका लागि सरकारले प्रतिविद्यार्थी रु १५ अनुदान दिने गरेको छ । विद्यालयका सहयोगीले नै दिवा खाजाका परिकार तयार पार्ने गर्दछन् । अर्का शिक्षक तीर्थबहादुर बानियाँले विद्यालय परिसरको खाली जग्गामा तरकारी खेती विस्तार गर्न लागिएको बताउनुभयो । खाली र बाँझो जग्गाको सदुपयोग भएको छ । विद्यालय परिसरमा सौन्दर्यकरण गर्ने उद्देश्यले फूलको बगैँचा पनि स्थापना भएको छ । विद्यालय हराभरा बनेको छ ।

रमणीय वातावरणमा व्यावहारिक, जीवनोपयोगी र व्यावसायिक शिक्षा हासिल गर्न पाउँदा विद्यार्थीको सिकाइ उपलब्धि पनि बढ्न थालेको छ । फुर्सदको समयमा कमजोर सिकाइ उपलब्धि भएका विद्यार्थीका लागि उपचारत्मक कक्षा सञ्चालन गरेको छ । आठजना दरबन्दी, एकजना निजी स्रोतका शिक्षक, एकजना बालविकास र एकजना कर्मचारी छन् । रासस