काठमाडौं । प्रतिनिधिसभाको बैठक दिउसो १ बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वटा वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ । संघीय संसद सचिवालयले विहिबार सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा प्रधानमन्त्री ओलीले लोक सेवा आयोगको ६१ औं वार्षिक प्रतिवेदन २०७७ र राष्ट्रिय मानवअधिकार आयोगको आर्थिक बर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पेश गर्नुहुने छ ।
यसै गरी अन्य कार्यसूचीमा सभामुख अग्नीप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम २१० को उपनियम ९४० बमोजिम प्रतिनिधिसभा सदस्यहरुबाट प्राप्त अनुपस्थितिको सूचनाहरु स्वीकृतिका लागि बैठकमा प्रस्तुत गर्नुहुने छ । आजको बैठकमा राष्ट्रिय सभाका पूर्व सदस्य एवम् संविधानसभा सदस्य अशोक कोइरालाको निधनमा शोक प्रस्ताव बैठकमा प्रस्तुत गर्ने कार्यसूचीसमेत तय गरिएको छ ।











