११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

विपद्मा सरकारी संयन्त्रको प्रभावकारिता वृद्धि भएको छ: प्रधानमन्त्री

विपद्मा सरकारी संयन्त्रको प्रभावकारिता वृद्धि भएको छ: प्रधानमन्त्री
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका तुलनामा विपद्पछिको खोज, उद्धार र राहतमा सरकारी संयन्त्रको प्रभावकारिता अनुभूति हुनेगरी वृद्धि भएको बताउनुभएको छ । ललितपुरमा आज आयोजित भूकम्प प्रभावित क्षेत्रमा विपद् व्यवस्थापन तथा पुन:निर्माणसम्बन्धी कार्यक्रममा उहाँले सरकारका तीनै तहको सक्रियता र समन्वयका कारण जाजरकोट भूकम्पमा उद्धार, उपचार र राहतको अभियान सफल भएको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले भूकम्पपूर्वको तयारी, भूकम्पपछि तत्काल उद्धार, उपचार र राहतको प्रबन्ध तथा दीर्घकालीनरूपमा त्यसको प्रभावको समाधानमा सबैका प्रयास केन्द्रित गर्नुपर्ने बताउनुभयो । जाजरकोट भूकम्पबाट प्रभावितको उद्धार र राहतसँगै पूर्ण क्षति भएका घरका परिवारलाई तत्कालका लागि अस्थायी आवास निर्माण गर्न प्रतिघरपरिवार रु ५० हजार उपलब्ध गराइएको जानकारी दिँदै उहाँले सांसद विकास कोषको बजेटसमेत थप गरी रु १० अर्ब विपद् व्यवस्थापन कोषमा राखिएको बताउनुभयो ।

अस्थायी आवास निर्माणमा स्थानीय तहको नेतृत्व स्थापित हुनेगरी प्रक्रिया अगाडि बढाइएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले प्रदेश र स्थानीय तहले पुन:निर्माणका लागि पहल लिनुपर्नेमा जोड दिनुभयो । “स्थानीय सरकार जति सक्रिय हुन्छन् त्यति छिटो जनताले पैसा पाउँछन्, म स्थानीय स्वशासन स्थापित हुनेगरी काम गरेर देखाउन स्थानीय जनप्रतिनिधिलाई आह्वान गर्दछु”, उहाँले भन्नुभयो ।

प्रभावित क्षेत्रमा क्षतिको आकलन तथा आवश्यकता पहिचानको काम लगभग सम्पन्न भएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले यसका आधारमा उपयुक्त कार्ययोजना तय गरी प्रदेश र स्थानीय तहको अगुवाइ तथा तीनै तहको समन्वयमा पुन:निर्माणको कार्य प्रारम्भ गरिने बताउनुभयो । उहाँले यसका लागि सम्बद्ध सबैलाई आ–आफ्नो क्षेत्र र तहमा तीव्रताका साथ तयारी गर्न निर्देशन पनि दिनुभयो ।

“निजी आवास मात्रै बनाएर पुग्दैन, सार्वजनिक संरचनाको पुन:निर्माण तथा आर्थिक, सांस्कृतिकसहित समग्र पुन:निर्माणको योजना बनाएर अघि बढ्ने योजना हुनुपर्दछ”, प्रधानमन्त्री दाहालले भन्नुभयो । उहाँले कर्णाली र सुदूरपश्चिमका जनताको सामाजिक, सांस्कृतिक पहिचान र संस्कृतिको सम्मानका साथै उनीहरूसँगको छलफल र सहमतिका आधारमा पुन:निर्माणको अभियान थालनी गरिनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री दाहालले पुन:निर्माणको कार्यमा स्थानीय स्रोतसाधनको उपयोग र परिचालन, सीप विकास तथा रोजगारी सिर्जनाको अवसर, मौलिक तथा भूगोल र जलवायु अनुकूल बस्ती विकासमा ध्यान दिन आग्रह गर्नुभयो । उहाँले भूकम्प या प्राकृतिक विपद्पछि उद्धार वा त्यसबाट जोगिने विषयमा केही समय चर्चा हुने गरे पनि विपद्को पूर्वजोखिमको आकलन गरी सोहीअनुरूपको संरचना र तयारीका काममा उदासिनता रहने गरेको उल्लेख गर्नुभयो ।

“यसपटक शृङ्खलाबद्धरूपमा आएका भूकम्पले जोखिम प्रतिरोधी संरचना र सोहीअनुरूपको निरन्तर तयारीका लागि घच्घच्याएको छ, अब पुन:निर्माणका लागि गतिलो तयारी गर्ने, भूकम्पप्रतिरोधी डिजाइन तयार पार्ने, बलियो संरचना बनाउने तथा पर्याप्त बजेटको व्यवस्था गर्ने विषयमा मेरो जोड रहेको छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो ।

विगतका अनुभवबाट पाठ सिक्दै नेपाललाई कसरी विपद् र जलवायु परिवर्तन उत्थानशील बनाउने भन्ने चुनौती नेपालसामु रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत नै पुन:निर्माणको काम अघि बढाइने बताउनुभयो । भूकम्पका असर र प्रभावलाई राम्रोसँग विश्लेषण गरेर यसपछि आउनसक्ने विपत्तिको व्यवस्थापन गर्न व्यावहारिक र प्रभावकारी नीतिगत आधार तयार गर्नुपर्छ भन्दै उहाँले क्षति भएका र जोखिममा रहेका संरचनामात्र नभई कमजोर तथा जोखिममा रहेका संरचनालाई पनि प्रबलीकरण गर्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री दाहालले हालैका भूकम्पलाई जोखिमको पूर्वसङ्केतको रूपमा लिँदै ठूला विपद्को सामना गर्न सक्ने क्षमता विकास गर्न जोखिम आकलन, न्यूनीकरण, पूर्वतयारी र पूर्वसूचना प्रणालीको काम अझै घनिभूत गर्न निर्देशन दिनुभयो । सबै प्रदेश, जिल्ला र स्थानीय तहमा पर्याप्त मात्रामा खोज तथा उद्धार उपकरणको व्यवस्था, टेन्टलगायत राहत सामग्रीको व्यवस्था गर्न प्राधिकरणलाई निर्देश गर्दै उहाँले अर्थ मन्त्रालय र योजना आयोगले पुन:निर्माणाका साथै जोखिम न्यूनीकरण र पूर्वतयारीको लागि थप बजेटको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

नेपाल भूकम्प, प्राकृतिक प्रकोप र जलवायु परिवर्तनको उच्च जोखिममा रहेकाले निजी आवासलगायत सबै भवन तथा संरचनाको बीमा गराउने सम्बन्धमा मुख्यसचिवको नेतृत्वमा अध्ययन थालिएको उहाँको भनाइ छ । प्रधानमन्त्री दाहालले भूकम्प प्रभावितलाई उद्धार, राहत तथा नेपाललाई विपद् र जलवायु परिवर्तनको प्रभावबाट सुरक्षित राख्न सहयोग प्रदान गर्न खटिएका राष्ट्रसेवक, सुरक्षा निकाय, स्थानीय तह, नागरिक समाज, विकास साझेदार सामाजिक सङ्घसंस्थालगायतलाई धन्यवाद दिँदै आगमी दिनमा पनि समन्वय, सहकार्य र सहयोगका लागि आह्वान गर्नुभयो । कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री, जाजरकोट र रुकुमपश्चिमका जनप्रतिनिधिलगायतको सहभागिता थियो । रासस