• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo

पूर्वराजाद्वारा राप्रपाका पाँच नेतासँग भैरहवामा भेट



काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह दुई साता देखि भैरहवामा व्यस्त रहनुभएको छ । उहाँ श्रीमती कोमल र नाति हृदयेन्द्रसहित भैरहवा पुग्नुभएको हो । उहाँ भैरहवास्थित पाँचतारे होटेल सिद्धार्थ भिलासामा बस्नुभएको छ ।

यसैबीच पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पाँच नेता बिहान त्यहाँ पुगेका छन् ।

पूर्वराजा शाहले राप्रपाका नेताहरूलाई भैरहवा बोलाउनु भएपछि अध्यक्ष राजेन्द्र लिङ्देनसहित बुद्धिमान तामाङ, रवीन्द्र मिश्र, धवल शमशेर राणा र दीपक सिंह पूर्वराजालाई भेट्न बुधबार बिहान त्यहाँ पुग्नुभएको छ ।

यद्यपि, नेताहरुलाई पूर्वराजा शाहले केका लागि बोलाउनुभएको भन्नेबारे केही खुलेको छैन । ज्ञानेन्द्रसँग बिहानको खानासँगैको छलफलपछि साँझ साढे छ बजे नेताहरु काठमाडौं फर्कने स्रोतले जनाएको छ ।

राष्ट्रिय प्रजातन्त्रभित्र फरक–फरक धारणा र मतकाबीच सो पार्टीले फागुन ७ गते देखि आन्दोलन गर्ने घोषणा गरेका बेला पूर्वराजा शाहले उनीहरूसँग छलफल गर्न भैरहवा डाक्नुभएको बुझिएको छ ।

भैरहवा मुकाम बनाएर बुटवलको जीतगढी किल्ला र निलकण्ठ धाम, देवदहको पाकरी वृक्ष, नारायणपुर दर्बहवा, शिव मन्दिर लगायतका स्थान भ्रमण गर्ने पूर्वराजा शाहको तयारी छ ।