• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo
Latest
★   सन्दीपलाई न्याय माग्दै सर्वोच्च अगाडि नाराबाजी गर्ने निकोलस भुसाल पक्राउ ★   तोलामा तीन सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   सभामुख घिमिरे र प्रधानमन्त्री दाहालबीच टेलिफोन वार्ता ★   जेठ महिनाको लागि बैंकहरुले घटाए ब्याजदर ★   उपेन्द्र यादवले दिए राजीनामा ★   कांग्रेस संसदीय दल र संसदीय दल कार्यसमिति बैठक सर्यो ★   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कपडामा लेपन गरि ल्याईएको सुन बरामद ★   बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम ल्याइनेछ: प्रधानमन्त्री ★   कोशीका मुख्यमन्त्री कार्कीलाई नेकपा एसले विश्वासको मत दिने ★   सामाजिक–लोकतान्त्रिक अवधारणाको आर्थिक नीति आवश्यक छ: वरिष्ठ उपाध्यक्ष खाँन

मुस्ताङका किसानलाई याक वितरण



file photo

म्याग्दी । नश्ल सुधारका लागि मुस्ताङका किसानलाई याक वितरण गरिएको छ । गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयअन्तर्गतको पशु तथा मत्स्य विकास निर्देशनालयले १० याक वितरण गरेको हो ।

सोलुखुम्बुको स्याङबोचेमा रहेको याक आनुवांशिक स्रोत केन्द्रबाट खरिद गरेर ल्याइएका याक मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले मङ्गलबार पोखरामा भएको कार्यक्रममा मुस्ताङका प्रदेशसभा सदस्य विकल शेरचन र नाम्दु गुरुङलाई हस्तान्तरण गर्नुभएको थियो ।

कृषि तथा भूमि व्यवस्थामन्त्री जिसीका निजी सचिव डिल्लीराम रेग्मीले सोलुखुम्बुबाट ल्याइएका १९ मध्ये नौ मनाङका किसान समूह र समितिलाई दिइने जानकारी दिनुभयो । “एकै ठाउँको याकबाट धेरै वर्ष प्रजनन क्रिया हुँदा हाडनाताको समस्या हुने भएकाले सोलुखुम्बुबाट ल्याएर चौँरीपालक किसान, समूह र सहकारीलाई वितरण गरिएको हो”, उहाँले भन्नुभयो, “नश्ल सुधार भई चौँरीपालक किसानलाई लाभ पुग्ने अपेक्षा गरेका छौँ ।”

मुख्यमन्त्री पाण्डेले उन्नत जातको याकबाट नश्ल सुधारमा मद्दत पुग्ने र हिमाली क्षेत्रका किसानलाई फाइदा हुने बताउनुभयो । गण्डकी प्रदेशको मुस्ताङ र मनाङमा व्यावसायिक चौँरीपालन हुने गरेको छ । म्याग्दी र कास्कीको लेकाली क्षेत्रमा पनि चौँरीपालन गरिएको छ ।

यातायात सुविधा नभएको ठाउँमा याकलाई भारी बोकाउन र मासुका लागि प्रयोग गरिन्छ । चौँरीको दूध, घिउ र छुर्पी बिक्री हुन्छ । याक चौँरीको आलो रगत निकालेरसमेत बिक्री गरिन्छ । मुस्ताङ र म्याग्दीमा साउन र चैतमा चौँरीको रगत पिउने मेला लाग्छ । धार्मिक कार्यमा प्रयोग हुने याकचौँरीको पुच्छर महँगो मूल्यमा बिक्री हुन्छ ।

मुस्ताङमा झण्डै चार हजार याकचौँरी रहेको हिमालयन चौरीपालन तथा संरक्षण समितिले जनाएको छ । थासाङ गाउँपालिकामा २२ घरधुरीले व्यावसायिकरूपमा एक हजार पाँच सयभन्दा बढी याकचौँरी पालेका छन् ।

घरपझोङ गाउँपालिकाको मार्फा, स्याङ र जोमसोम गरी आठ घरधुरीले करिब पाँच सय याकचौँरी पालेका छन् । बर्खामा हिमालको फेदी र लेकाली क्षेत्रमा लगिएका याकचौँरीको गोठ चिसो याममा बेँसी झारिएको छ । रासस