११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल

ऋण खोजेर उपचार गर्दै हात्तीपीडित घाइते

ऋण खोजेर उपचार गर्दै हात्तीपीडित घाइते
अ अ+ अ-

झापा । मेचीनगर–११ कालिका टोलकी ४२ वर्षीया सङ्गीता निरौला गहिरो निन्द्रामा हुनुहुन्थ्यो । ‘हात्तीले घरमा आक्रमण गर्यो भाग् भाग्’ भनेर गाउँलेले चर्को आवाजले चिच्याएको सुनेपछि ब्युँझिएर पति मेघनाथ निरौलालाई डोर्‍याउँदै उहाँ कोठाबाट बाहिर निस्कनुभयो । कोठाबाट आँगन छिचोल्न नपाउँदै निरौला दम्पतीलाई जङ्गली हात्तीले आक्रमण गर्‍यो । सङ्गीताका पति मेघनाथ दुईवटै आँखा देख्नुहुन्न । हात्तीले दुवैलाई सुँढले बेरेर पछार्यो । भुइँमा ढलेका दम्पती बेहोस भए । हात्ती हिँडेपछि गाउँलेले नजिकको मेची आम्दा अस्पतालमा उपचारका लागि पुर्याए ।

“आत्तिएर भाग्ने क्रममा थियौँ, अगाडि हात्ती उभिइरहेको रहेछ,” सङ्गीताले दुई साताअघिको घटनाबारे जानकारी दिँदै भन्नुभयो, “सुँढले च्याप्प समातेको थाहा छ, त्यसपछि एकैचोटि आम्दा अस्पतालमा मात्र हाम्रो होस खुलेको थियो ।”

हात्तीको आक्रमणमा मुस्किलले ज्यान जोगाएका निरौला दम्पतीले ऋण खोजेर उपचार गराउनु परेको बताएका छन् । आफ्नो जग्गा नभएका उहाँहरु झापाकै एउटा विद्यालयको १७ धुर जग्गामा वार्षिक ठेक्का तिर्ने सर्तमा बस्दै आउनुभएको छ । टिनले छाएको भुइँतले दुई कोठाको घर छ । मेघनाथ न्यून दृष्टिका कारण दुवै आँखा देख्न सक्नुहुन्न । सङ्गीताले नजिकको कालिका सिमसार पर्यटकीय क्षेत्रमा चटपटे बेचेर दम्पतीको गुजारा चलाइरहनु भएको छ ।

“आँखा नदेख्ने भएकाले मैले उहाँ ९मेघनाथ०लाई डोहोर्याएर कोठाबाट बाहिर निकालेको थिएँ,” सङ्गीताले भन्नुभयो, “हात्तीले आँगनमै झम्टेला भन्ने कल्पना पनि गरेका थिएनौँ, धन्न बाँचियो ।”

धुलाबारीको मेची आम्दा र भद्रपुरको ओमसाई पाथीभरा हस्पिटलमा उपचार गरेर निरौला दम्पती अहिले घरमै बसेर औषधि खाइरहेका छन् । सङ्गीताको कम्मर र मेरुदण्डमा असर परेको छभने दुवै खुट्टाको लिगामेन्ट च्यातिएको चिकित्सकहरुले बताएका छन् । मेघनाथको खुट्टामा भित्री चोट छ ।

अस्पतालमा पुग्दा चटपटे बेचेर कमाएको रु पाँच सय मात्र थियो सङ्गीताका साथमा । गाउँलेसँग रु २६ हजार सापटी मागेर अस्पतालको उपचार खर्च व्यहोरेको उहाँले बताउनुभयो । अस्पतालमा लामो बस्दा खर्चको बिल बढ्ने भएकाले अहिले उहाँहरु घरमै आएर ओछ्यान पर्नुभएको छ । हिँड्डुल गर्न नसक्ने भएकाले चटपटे बेच्न जान नपाउँदा दैनिक गर्जो टार्नै मुस्किल परिरहेको सङ्गीताको भनाइ छ ।

निरौला दम्पती जस्तै हात्तीपीडित घाइतेहरु उपचारमा ठूलो धनराशि खर्च भएका कारण बिचल्लीमा परेका छन् । उपचार सहयोग पाउन सरकारी अस्पतालमा उपचार गराएको हुनुपर्ने नियमप्रति पीडितहरु असन्तुष्ट छन् ।

मेचीनगर–२ बाहुनडाँगीका ४२ वर्षीय गोपाल रिजाललाई गत कात्तिक १९ गते घाँस काट्न जाँदा जङ्गली हात्तीले आक्रमण गरेर गम्भीर घाइते बनायो । उहाँको छातीको १० वटा करङ भाँचिएको थियो भने फोक्सोमा रगत जमेको थियो ।डेढ महिना विर्तामोडको बी एन्ड सी हस्पिटलमा उपचार गराएपछि ह्विलचियरमा बस्न सक्ने हुनुभएको उहाँ हालै अस्पतालबाट घर फर्किनुभएको छ । उहाँको उपचारमा रु २२ लाख खर्च भएको छ । एककोठे सानो झुपडीमा बस्दै आउनुभएको उहाँसँग उपचार खर्च व्यहोर्ने सामथ्र्य थिएन । दुई भाइले विदेशमा कमाएर घर बनाउने भनेर ल्याएको रकम उहाँको उपचारमा खर्च गरिएको छिमेकी कल्याण काफ्लेले बताउनुभयो । “गाउँमा तीन लाख जति चन्दा उठ्यो,” काफ्लेले भन्नुभयो, “वैदेशिक रोजगारीबाट भर्खरै फर्किएका भाइले ल्याएको सबै रकम लगाउँदा पनि नपुगेपछि आफन्त र छिमेकीहरुबाट ठूलो रकम ऋण लिइएको छ ।”

विदेशमा कमाएको सबै सम्पत्ति दाजुको उपचारमा खर्चिएका भाइहरुको पनि बिचल्ली भएको उहाँले बताउनुभयो । कुनै पनि सरकारी कोषबाट उहाँले हालसम्म उपचार सहयोग पाउनुभएको छैन ।

विगत दुई महिनामा झापामा हात्तीको आक्रमणमा चारजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले बताउनुभयो । सरकारले वन्यजन्तुको आक्रमणमा मृत्यु भएकालाई रु १० लाख दिने र घाइते भएमा अवस्था हेरेर रु २० हजारदेखि रु दुई लाखसम्म उपचार खर्च व्यहोर्ने गरेको छ । घाइतेको उपचार खर्च पाउन सरकारी अस्पतालमा उपचार गराएको हुनुपर्ने नियम छभने अस्पतालको बिल भरपाईसहित निवेदन दिएको लामो समयपछि मात्र उपचार रकम पीडितले पाउने गरेका छन् ।

हात्तीले आक्रमण गरेको ३५ दिनभित्र पीडितले डिभिजन वन कार्यालयमा उपचारको बिलसहित निवेदन दिइसक्नुपर्ने राईले बताउनुभयो । बालीको क्षति पनि सरकारले व्यहोर्ने गरेको छ । सरकारले ढिलो र झन्झटिलो प्रक्रियाबाट रकम उपलब्ध गराउने भएकाले विपन्न परिवारका पीडितले बेलैमा उपचार नपाउने अवस्था आएको हात्तीपीडित मेचीनगर–२ का कल्याण काफ्ले बताउनुहुन्छ । स्थानीय पालिकाबाटै छिटोछरितो तरिकाले हात्तीपीडितलाई उपचार सहयोग पुर्याउन राहत कोष वितरणको व्यवस्था हुनुपर्ने उहाँको धारणा छ । रासस