• १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
  •   Unicode
Logo
Latest
★   ‘राष्ट्रसङ्घलाई सबल बनाउन नेपालको पूर्ण सहयोग रहन्छ’ ★   रारामा रिसोर्ट निर्माणका लागि सम्झौता हुनु खुसीको कुरा हो : प्रधानमन्त्री ★   बाढीको जोखिममा रहेका पच्चीस परिवारका लागि सुरक्षित आवास निर्माण गरिँदै ★   मिचेल मार्शको कप्तानीमा टी–२० विश्वकप खेल्ने अष्ट्रेलियाको टोली घोषणा ★   कानुन आवेगमा आउनु हुँदैन ★   सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा टेलिकमको नयाँ अफर ★   मर्यादित काम र श्रमिकको सम्मान गर्न पूर्वराष्ट्रपति भण्डारीको आह्वान ★   कांग्रेस सदैव मजदुरका हकहितमा क्रियाशील छ : सभापति देउवा ★   श्रमिकको हितसँग जोडिएका नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयन आवश्यक : राष्ट्रियसभा अध्यक्ष दाहाल ★   अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सभामुखको शुभकामना

सन् २०२३ मा विश्व खेलकुदः खेलाडीलाई प्रशिक्षकको चुम्बनदेखि म्याक्सवेलको अविश्वसनीय इनिङ्स



काठमाडौँ । विश्वका खेलप्रेमीका लागि सन् २०२३ औसत रह्यो । विगतमा झैँ यस वर्ष पनि खेलकुदमा केही कीर्तिमानसँगै विवादास्पद घटना पनि भए । वर्षको सुरुआत प्रसिद्ध फुटबल खेलाडी क्रिष्टियानो रोनाल्डो साउदी अरबको क्लब अल नासरमा अनुबन्धितसम्बन्धी समाचारले चर्चा कमायो ।

तेलमा निर्भर अर्थतन्त्र भएको साउदी अरबले फुटबलमार्फत कमाएको चर्चा निकै महत्त्वपूर्ण थियो । साथै वर्षको अन्त्यतिर अष्ट्रेलियाका प्रसिद्ध क्रिकेटर डेभिड वार्नरले एकदिवसीय क्रिकेट प्रतियोगिताबाट सन्न्यास लिने घोषणा गरे भने इन्डियन प्रिमियर लिग (आइपिएल)सहित विश्वका दुई दर्जनभन्दा लिग खेलेका नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान सन्दीप लामिछाने बलात्कारको आरोपमा अदालतबाट दोषी ठहर भए ।

रोनाल्डोको प्रवेशले साउदीमा फुटबलको रौनक

वर्षको सुरुआतमा सञ्चारमाध्यममा प्रकाशित समाचारले विश्वका करोडौँ फुटबल प्रेमीलाई अचम्मित बनायो । कारण थियो, पोर्चुगगाली स्टार क्रिस्टियानो रोनाल्डो साउदी अरबको क्लब अल नासरमा अनुबन्धित हुनु । रोनाल्डो साउदी अरब जाँदै गर्दा धेरैले पैसाका लागि गएको भन्दै आलोचना पनि गरे । तर यो रोनाल्डोको करिअरको तुलनामा साउदीको अर्थतन्त्रका हिसाबले महत्त्वपूर्ण थियो । साउदी अरबका युवराज मोहम्मद बिन सलमानले सन् २०३० सम्ममा तेलमा निर्भर मुलुक अर्थतन्त्रको विकल्प खोजिरहेको अवस्थामा फुटबल एउटा माध्यम थियो । रोनाल्डोपछि साउदी अरबका क्लबमा ब्राजिलियन स्टार नेयमार, फ्रान्सका करिम बेन्जिमा र नगोलो कान्टे, ब्राजिलका फ्याबिन्हो, सेनेगलका सादियो माने तथा अल्जेरियाका रियाद मारेज पनि साउदी प्रो लिगका लागि अनुबन्ध भए । साउदी अरब पुगेका रोनाल्डो वर्ष २०२३ मा ५४ गोलसहित सर्वाधिक गोलकर्ता समेत भएका छन् ।

मेस्सी गए मियामी

विश्वका उत्कृष्ट फुटबल खेलाडीमध्येका एक लियोनल मेस्सी अमेरिकी फुटबल क्लब इन्टर मियामीमा अनुबन्धन हुनु गत वर्षको सर्वाधिक चर्चाको विषयमध्ये एक बन्यो । क्यानाडा र मेक्सिकोसँग मिलेर सन् २०२६ को विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्न लागेको अमेरिकाका लागि मेस्सीको आगमनले ठूलो चर्चा दिलायो । समाचारमा जनाइएअनुसार साउदी अरबको क्लब अल हिलालको ५० करोड यूरोको अफर अस्वीकार गर्दै मेस्सीले प्रतिवर्ष करिब छ करोड डलरको सम्झौतामा इन्टर मियामी रोजेका थिए । इन्टर मियामीमा प्रसिद्ध फुटबल खेलाडी डेबिड बेकहमको पनि स्वामित्व छ । साथै अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकपको उपाधि जिताउन सफल मेस्सीको जर्सी नम्बर १० लाई उनको सम्मानमा अर्जेन्टिना सरकारले ‘रियाटर’ गर्ने घोषणा गरेको छ । अर्थात् अब उक्त नम्बरको जर्सी अर्को खेलाडीलाई दिइने छैन । यसअघि उक्त नम्बरको जर्सी प्रसिद्ध फुटबल खेलाडी डिएगो म्याराडोनाको थियो ।

चुम्बनले निलम्बन

अगस्टमा फुटबलको दुनियाँमा विवादास्पद घटना घट्यो । स्पेन फुटबल फेडेरेसनका अध्यक्ष लुई रुबियालेजले महिला फुटबल खेलाडी जेनी हर्मोसोलाई चुम्बन गरेपछि उनी निलम्बनमा परे । फुटबल वर्ल्डकप जितेको स्पेनको महिला टोलीलाई बधाई दिने क्रममा अध्यक्ष रुबियालेजले हर्मोसोलाई अङ्गालो मार्दै चुम्बन गरेका थिए । त्यसपछि हर्मोसाले प्रत्यक्ष प्रसारणमा उक्त चुम्बन आफूलाई नराम्रो लागेको प्रतिक्रिया दिएपछि उनलाई अन्तर्राष्ट्रिय फूबटल महासङ्घ (फिफा)ले तीन वर्षका लागि निलम्बन गरेको थियो ।

पहिलो टाइम आउट

भारतमा सम्पन्न विश्वकप क्रिकेटअन्तर्गतको बङ्गलादेश र श्रीलङ्काबीचको खेलमा श्रीलङ्काली खेलाडी एन्जेलो म्याथ्युज क्रिकेट इतिहासमा पहिलो पटक ‘टाइम आउट’को सिकार बने । यसअघि क्रिकेटको नियममा मात्रै सीमित टाइम आउट नियम म्याथ्युजको हकमा लागू भयो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को नियमअनुसार कुनै ब्याटर आउट भएपछि दोस्रो ब्याटरले दुई मिनेटभित्र बल खेलिसक्नुपर्छ । तर हेलमेटको फिता बिग्रिएपछि म्याथ्युजले नियमअनुसार समयसीमाभित्र बल खेल्न सकेनन् । त्यसपछि बङ्गलादेशका कप्तान सकिव अल हसनले अपिल गरे र खेलको नियमअनुसार म्याथ्युज आउट भए । खेल बङ्गलादेशले तीन विकेटको खेल जित्यो ।

भलिबल खेल हेर्न ९२ हजार दर्शक

अगस्टमा अमेरिकामा सम्पन्न एक खेलमा ९२ हजार दर्शक जम्मा भए । द युनिभर्सिटी अफ नेब्रास्काले विश्वभर महिलाहरूको कुनै पनि खेलमा यति धेरै दर्शक उपस्थित भएको पहिलो घटना भएको दाबी गरेको छ । उक्त खेल हेर्न मेमोरियल स्टेडियममा ९२ हजार तीन जना दर्शक जम्मा भएका थिए । यसअघि बार्सिलोनामा भएको वुमन्स च्याम्पियन्स लिग फुटबल म्याचमा ९१ हजार छ सय ४८ दर्शक जम्मा भएका थिए ।

जोन राहमको अनुबन्धन

प्रसिद्ध गल्फर जोन राहमले फ्रोफेशनल गल्फर एसोसिएसन अफ अमेरिका (पिजीए)सँगको आबद्धता त्यागेर ‘लिभ गल्फ’मा आबद्धता जनाएका छन् । यसका लागि लिभ गल्फले दुई पटकका विजेता राहमलाई ५० करोड डलर दिने सम्झौता गरेको समाचारमा जनाइएको छ ।

भव्य एसियाड र विवाद

चीनको हाङझाउमा सम्पन्न १९औँ एसियन गेम्स भव्यरूपमा सम्पन्न भयो । जसमा विश्वका ४५ देशका १२ हजारभन्दा बढी खेलाडीले विभिन्न खेलमार्फत सहभागिता जनाए । कूल चार सय ८१ वटा खेल भएको प्रतियोगितामा चीन दुई सय एक स्वर्ण, एक सय ११ रजत र ७१ कास्य गरी कूल तीन सय ८३ पदकसहित पहिलो स्थानमा रह्यो भने जापान ५२ स्वर्ण, ६७ रजत र ६९ कास्य गरी कूल एक सय ८८ पदकसहित दोस्रो भयो । दक्षिण कोरिया ४२ स्वर्ण, ५९ रजत र ८९ कास्य गरी एक सय ९० पदकका साथ तेस्रो हुँदा २८ स्वर्ण, ३८ रजत र ४१ कास्य गरी एक सय सात पदकका साथ भारत चौथो स्थानमा रह्यो । प्रतियोगितामा नेपालले एक रजत र एक कास्य पदक जित्न सफल भयो ।

प्रतियोगिता भव्यरूपमा सम्पन्न भए भने केही विवाद भने देखियो । एक सय मिटरको हर्डल्स खेलका क्रममा भारतीय खेलाडी ज्योति याराजी तेस्रो स्थानमा रहँदा पनि रजत पदक जित्न सफल भइन । ‘गलत सुरुआत’ गरेको भन्दै दोस्रो स्थानकी चिनियाँ खेलाडी वु यानी बाहिरिएपछि कास्य पदक विजेता याराजीलाई पदक वितरणको समयमा रजत पदक प्र्रदान गरियो । एसियाडमै भारतीय खेलाडी निरज चोपडाको खेलमा पनि विवाद भयो । ‘ज्याभ्लिन थ्रो’ खेलमा निरजले पहिलो प्रयासमा ८७ मिटरको कीर्तिमानलाई तोडे पनि आधिकारिकरूपमा गणना नहुँदा दोस्रो पटक थ्रो गर्नुपरेको थियो । दोस्रो पटकको प्रयासमा निरजले स्वर्ण पदक जित्न सफल भए ।

रग्बी विश्वकपमा दक्षिण अफ्रिकाको कीर्तिमान

दक्षिण अफ्रिकाले चौथो पटक रग्बी विश्वकप जित्दै कीर्तिमान कायम गर्न सफल भयो । ‘डिफेन्डिङ च्याम्पियन’ दक्षिण अफ्रिका उपाधि रक्षासँगै चौथो पटक विश्वकपको उपाधि चुम्ने पहिलो मुलुक बन्यो । दक्षिण अफ्रिकाले यसअघि सन् २०१९, २००७ र १९९५ मा पनि विश्वकप उपाधि जितेको थियो । यसअघि न्युजिल्याण्ड र दक्षिण अफ्रिकाले समान तीन पटक विश्वकपको उपाधि जितेका थिए । चौथो पटक विश्वकपको उपाधि चुम्ने क्रममा दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई १२–११ ले पराजित गरेको थियो ।

अब्बल भारतलाई निराशा

विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूहचरणदेखि सेमिफाइनलसम्म सबै १० वटा खेल जितेको घरेलु टोली भारत तेस्रो पटक उपाधि चुम्नबाट चुक्यो । प्रतियोगिताभर ब्याटिङ, बलिङ र फिल्डिङ सबै क्षेत्रमा अब्बल भारतलाई फाइनलमा अस्ट्रेलियाले रोक्यो । खेल सुरु हुनुभन्दा अघि प्रतियोगिताको ‘फेबरेट टिम’ भारतलाई छ विकेटले पराजित गर्दै अस्ट्रेलियाले छैटौँ पटक विश्वकपको उपाधि चुम्दै कीर्तिमान कायम ग¥यो । प्रतियोगिताभर शानदार प्रदर्शन गरेको भारतले उपाधि जित्न नसक्दा करोडौँ दर्शन निराश बने । यद्यपि प्रतियोगितामा ‘प्लेयर अफ द टुर्नामेन्ट’ भारतीय ब्याटर विराट कोहली बने । जसलाई सन् २०२३ मा भएका महत्त्वपूर्ण खेल प्रतियोगिताका रूपमा लिन सकिन्छ । कोहली एकदिवसीय क्रिकेटमा ५० वटा शतक प्रहार गर्ने पहिलो खेलाडी पनि बने ।

म्याक्सवेलको अविश्वसनीय पारी

नोभेम्बर ७ । विश्वकप क्रिकेटको ३९औँ खेल । अफगानिस्तानले पहिलो ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा दुई सय ९१ रन बनाएपछि जवाफी ब्याटिङमा पाँच पटकको विश्व विजेता अस्ट्रेलिया उत्रिएको थियो । सो खेलमा ‘फेबरेट’ मानिएको अस्ट्रेलियाको सुरुआत राम्रो रहेन । चार रनमा पहिलो विकेट र ४३ रनमा दुई विकेट गुमाएको अस्ट्रेलियाले ४९ मा तेस्रो तथा चौथो विकेट र ६९ रनमा पाँचौँ विकेट गुमायो । त्यसपछि ८७ रनमा छैटौँ र ९१ रनमा सातौँ विकेट गुमायो । क्रिजमा थिए कप्तान प्याट कुमिङ्स र ग्लेन म्याक्सवेल । त्यसपछि खेलमा चमत्कार जस्तै भयो । अनिश्चितताको खेल भनिने क्रिकेटमा सोही अविश्वसनीय खेल हुँदै थियो । धेरैको अनुमान अफगानिस्तानले सहजै खेल जित्यो भन्नेमा थियो । तर घाइते म्याक्सवेलले हार मानेनन् । कूल ९१ रनको अवस्थाबाट उनले अस्ट्रेलियालाई विना कुनै विकेट दुई सय ९३ रनमा पु¥याए र खेल जिताए । उनले एक सय २८ बलमा १० छक्का र २१ चौकासहित अविजित दोहोरो शतक अर्थात दुई सय एक रन बनाए । उनलाई अर्कोतर्फबाट कप्तान कुमिङ्सले दिए । उनले ६८ बलमा १२ रन बनाउँदै खेलको अन्तिमसम्म साथ दिए । यो खेलपछि म्याक्सवेलको खेल जगत्मा निकै चर्चा भयो ।

चर्चामा आइपिएल

 

इन्डियन प्रिमियर लिग (आइपिएल)हरेक वर्ष चर्चामा आउँछ । गत वर्ष पनि आइपिएलका केही घटनालाई लिएर विशेष चर्चा भयो । सन् २०२३ को आइपिएलमा लखनउ सुपर जाइन्ट्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीच गत मे महिनामा भएको खेलमा विराट कोहली र अफगानिस्तानका तीव्र गतिका बलर नवीन उल हकबीच विवाद भयो । सोही विवादमा नवीन उल हकको समर्थनमा लखनउका तर्फबाट गौतम गम्भीर पनि सामेल भए । त्यसपछि नवीनले कोहलीलाई सामाजिक सञ्जालमा गिज्याउने प्रयास समेत गरे । कोहलीका समर्थकले नवीनलाई निकै ट्रोल पनि गरे ।

वर्षको अन्त्यमा आगामी वर्षको आइपिएलका लागि भएको अक्सनमा कोलकाता नाइट राइडर्सले अस्ट्रेलियाली खेलाडी मिचेल स्टार्कलाई २४ दशमलव ७५ करोड भारतीय रुपैयाँमा खरिद गरेर नयाँ कीर्तिमान कायम ग¥यो । साथै सोही अक्सनमा अस्ट्रेलियाका कप्तान प्याट कुमिङ्सलाई सनराइजर्स हैदराबादले २० दशमलव ५० करोड भारतीय रुपैयाँमा खरिद गर्यो । यी दुवै रकम कुनै एक सिजनमा एक खेलाडीले पाएको हालसम्मकै सबैभन्दा ठूलो रकम हो ।

आइपिएलकै चर्चा बीच मुम्बई इन्डियन्सले कप्तानमा रोहित शर्मालाई हटाएर हार्दिक पाण्ड्यालाई नियुक्त गरिनुले पनि ठूलो चर्चा कमायो । उक्त निर्णयलाई लिएर शर्माका समर्थकले सामाजिक सञ्जालमा ठूलो विरोध समेत गरे ।

आधा शताब्दीपछि च्याम्पियन बन्यो डेनभर नगेट्स

उत्तरी अमेरिकाको द नेशनल बास्केटबल एसोसिएसन (एनबीए)मा पहिलो पटक डेनभर नगेट्स क्लबले उपाधि जितेको छ । डेनभर नगेट्सले यो खुसी ५७ वटा प्रतियोगितापछि प्राप्त गर्न सफल भयो ।

क्रिकेटमा नेपालको चमत्कार

सन् २०२३ नेपाली क्रिकेटका लागि निकै महत्त्वपूर्ण र उपलब्धिपूर्ण रह्यो । आइसिसी मेन्स क्रिकेट वर्ल्ड कप लिगका ३६ खेलमध्ये अन्तिम १२ खेलमा ११ खेल जित्नैपर्ने दबाबमा रहेको नेपाल कसरी जिम्बाब्वेमा सम्पन्न आइसिसी क्रिकेट वर्ल्ड कप क्वालिफायरमा छनोट भयो भन्ने कथा निकै रोचक छ । लगातार खेल हारेर अङ्क तालिकाको पुछारतिर पुगेको नेपालको आशा गुमिसकेको अवस्थाबाट कप्तान रोहित पौडेल र प्रशिक्षक मोन्टी देसाईले नेपाली टोलीलाई जिम्बाब्वेसम्म पु¥याउन सफल भए ।

प्रतियोगिताको अन्तिम खेलमा युएईले प्रस्तुत गरेको तीन सय ११ रनको विशाल लक्ष्य पछ्याएको नेपालले आसिफ शेख र गुलसन झाको अर्धशतकीय पारीमा डक वर्थ लुइस पद्धतिका आधारमा नौ रनले विजयी हुँदै जिम्बाब्वेको यात्रा तय गर्यो ।

गत वर्ष अर्को प्रतियोगितामा नेपालले युएईलाई पराजित गर्दै इतिहासमा दोस्रो पटक एसिया कपका लागि छनोट भई भारत र पाकिस्तान जस्ता ठूला टोलीसँग खेल्ने मौका प्राप्त ग¥यो । तर वर्षको अन्त्यतिर क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौँले बलात्कार मुद्दामा दोषी ठहर गरेपछि भने क्रिकेट समर्थकमा केही निराशा छायो ।

कीर्तिमानले भरिएको नेपालको खेल

चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत भएको नेपाल र मङ्गोलियाबीचको टी–२० खेलमा नेपालको पारी कीर्तिमानले भरियो । निर्धारित २० ओभरमा तीन सय १४ रन बनायो । त्यति मात्रै होइन, दुई सय ७३ रनले मङ्गोलियालाई पराजित गर्यो । यो पनि नयाँ कीर्तिमान थियो ।

सोही खेलमा कुशल मल्लले टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा ३४ बलमा शतक प्रहार गर्दै छिटो शतक प्रहार गर्ने खेलाडी बने । मल्ल टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा कम उमेरमा शतक प्रहार गर्ने खेलाडी पनि बने ।

मल्लपछि दीपेन्द्र सिंह ऐरीले सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने खेलाडी बने । उनले नौ बलमै अर्धशतक पूरा गरे । साथै पाँच सय २० को स्ट्राइक रेटमा रन बनाउने उनी पहिलो खेलाडी पनि बने । ऐरीले पहिलो छ बलमा छ छक्का प्रहार गरेर यसअघि युवराज सिंह, क्रिस गेल र हज्रातुल्ला जाजाईले बनाएको कीर्तिमान बराबरी गरे । साथै नेपालले मङ्गोलियाविरुद्ध प्रहार गरेको २६ वटा छक्का पनि कुनै एउटै पारीमा एउटा टोलीले प्रहार गरेको छक्कामा कीर्तिमान थियो । (विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा) कमलकुमार बस्नेत/रासस