• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौंमा तीन दिने जापानी खाना ‘उत्सव’ हुँदै ★   सहकारी सरकारको प्राथामितामा परेन अर्थबिद्: दिनेशचन्द्र देवकोटा ★   कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा पद तथा गोपनीयताको सपथ ★   उमेशराज जोशी र भीमप्रसाद ढकाल प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा ★   क्रिकेट खेलाडीले जनही १३ लाख पाउने ★   जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय ★   राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ ★   चालक दलका सदस्यले बिरामी बिदा हडताल गरेपछि एयर इन्डियाका ७४ उडान रद्द ★   पाकिस्तानको लाहोर एयरपोर्टमा आगलागी ★   सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, उपेन्द्र यादव अनुपस्थित

शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा: राष्ट्रपति पौडेल



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा भएको बताउनुभएको छ ।

काठमाडौं महानगरपालिकाद्धारा मंगलबार आयोजित तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कक्षाकोठाको शिक्षाले विद्यार्थीको आँखा र मस्तिष्क खुलाउने र खेलकुदले मस्तिष्क, हातखुट्टा र मनलाई क्रियाशील र अनुशासित बनाउने बताउनुभयो । उहाँले भन्नुभयो–‘अतिरिक्त क्रियाकलाप र खेलकुद शिक्षालाई पूर्ण बनाउने र विद्यार्थीमा अभिवृत्ति, सिप, ज्ञान, सामाजिक मूल्यको आर्जन र कार्य तत्परता विकास गर्ने खुला मैदान हुन् ।’

शिक्षण सिकाइ विद्यार्थीका लागि शरीरमा मुटुजस्तै र शिक्षण सिकाइमा खेलकुदको समाविष्टता स्वनिर्भरता र सशक्तीकरणको प्राण भएको बताउनुभयो । उहाँले भन्नुभयो –‘खेलकुदकै माध्यमले युवा विद्यार्थीले आफ्नो आत्मविश्वास, सकारात्मक अनुभूति र अन्तरनिहीत प्रतिभाको विकास गर्न सक्छन् । खेलकुद क्षेत्रको विकासका लागि संघ, प्रदेश र स्थानीय तीन तहबाट यसमा यथेष्ठ प्रयत्नहरु होउन् भनेर म सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउन चाहन्छु ।’

राष्ट्रपति पौडेलले पुस्तक र विद्यालयको सीमाको सिकाइले मात्र विद्यार्थीलाई पूर्ण बनाउन नसक्ने भन्दै यसका लागि परिवार, समाज र परिवेश समावेश हुने, खुला गरेर सिक्ने तथा गरिखाने पुस्तकविहीन शिक्षा आवश्यक रहेको बताउनुभयो । उहाँले युवा विद्यार्थीको खेलकुदमा संलग्नता समृद्धि, सफलता र समाज निर्माणको आधार भएको बताउँदै युवा विद्यार्थीहरू शिक्षामा निरन्तर अग्रसर हुँदा उनीहरूमा नयाँ विचार र नवप्रवर्तन क्षमता पनि विकास हुने स्पष्ट पार्नुभयो ।

खेलकुद जस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीहरूलाई भविष्यमा जीवनयापनका लागि सक्षम बनाई मुलुकलाई प्रगतिशील बनाउन सहयोग गर्ने राष्ट्रपति पौडेलको धारणा थियो । उहाँले भन्नुभयो–‘खेलकुदले युवालाई शारीरिक रूपमा स्वस्थ र कामका लागि तयार बनाउँछ । यो उनीहरूलाई ऊर्जा, सजीवता र सामथ्र्य दिने माध्यम तथा स्वास्थ्य ठिक राखी शिक्षामा अग्रसर हुने र आफ्नो जीवनमार्गमा सफल बनाउने कारक पनि हो ।’

राष्ट्रपति पौडेलले खेलकुदले सामाजिक जीवनलाई समृद्धिपूर्ण बनाई सांस्कृतिक अनुभूति प्रदान गर्ने उल्लेख गर्दै खेलकुदमा भाग लिने विद्यार्थी एकअर्काप्रति सहयोगी भई सामूहिक प्रयत्न र सामाजिक भावनातर्फ अग्रसर हुन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो–‘यो परिवार, समाज र राष्ट्रलाई समृद्ध बनाउने असल मार्ग हो भन्ने पनि मलाई लाग्छ । खेलकुदले युवामा नेतृत्वको विकास गराई जटिल परिस्थितिमा सहजतासाथ प्रतिस्पर्धा गर्ने क्षमता प्रदान गर्ने भएकाले यसमा सहभागी हुनेले धैर्य र समर्थनको भावना विकास गर्न सक्नुपर्छ जुन हाम्रो राष्ट्रको लागि आजको आवश्यकता हो ।’

उहाँले राष्ट्रपति रनिङ सिल्ड नाममा काठमाडौँ महानगरपालिकाभित्रका विद्यार्थीबीच भएको यस खेलकुद प्रतियोगिताले विद्यार्थीमा उत्साह र प्रेरणा प्रदान गर्नेछ भन्ने आफुले विश्वास लिएको बताउँनुभयो । उहाँले भन्नुभयो–‘स्कुल कलेजजस्ता सार्वजनिक स्थानमा आयोजना हुने खेलकुद प्रतियोगिता विद्यार्थीबीचमा सामूहिकता, सहभागिता र उत्साह जगाउने र शिक्षाको मनोक्रियात्मक क्षेत्रलाई सफल बनाउने साध्य भएकाले शिक्षा र खेलकुदबीच अद्भुत सम्बन्ध हुन्छ जसले जीवनभर सफलताको खोजी गर्न बाटो देखाउँछ । यस्ता प्रतियोगिता शिक्षणसिकाइका अङ्गकै रूपमा सबै विद्यालयमा सञ्चालन हुनुपर्छ भन्ने म ठान्दछु ।’