• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

प्रतिनिधिसभामा हारेकाहरुको राष्ट्रिय सभामा जान दौडधुप



फाईल फोटो

काठमाडौँ । राष्ट्रियसभाको चुनाव नजिकिएसँगै उम्मेदबार बन्नेहरुको दौडधुप सुरु भएको छ । राष्ट्रिय सभामा राष्ट्रिय जीवनमा ख्याती कमाएका र वरिष्ठ नागरिकको सभा हुनुपर्ने मान्यता भए पनि कुनै पनि पार्टी त्यस्तो बनाउनेतर्फ देखिएका छैनन् ।

पार्टीका नेताहरुकै दौडधुप यहाँ जानका लागि सुरु भएको छ । नेताहरुमापनि अघिल्लो प्रतिनिधिसभाको निर्वाचन अर्थात् गतवर्ष मात्र चुनाव हारेकाहरु यहाँ जानलाई तँछाडमछाड गरेको देखिएको छ । यस्तो दौडमा सबैभन्दा बढी हारेका कांग्रेस नेताहरू नै अगाडि छन् ।

पार्टीका नेता कृष्णप्रसाद सिटौलाको जोडबल यो दौडमा सबैभन्दा धेरै देखिएको छ । उनलाई पछ्याउँदै छन् सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, केन्द्रीय सदस्यहरू सुजाता कोइराला, पुष्पा भुसाल, भरत शाह र गेहेन्द्र गिरी । यी सबै नेताले गत वर्ष पाँच दल गठबन्धन गरेर गएको चुनावमा पनि हार व्यहोरेका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसका पूर्वमहामन्त्री समेत रहीसकेका सिटौलालाई राष्ट्रिय सभामा ल्याउनुपर्ने बताउन थालेका छन् । उनले सिटौलालाई ल्याउनु आफ्नो एक बाध्यता रहेको निकटस्थसँग सुनाउँदै आइरहेको बताइन्छ । उता कांग्रेसका नेता शेखर कोइरालाका निकटस्थहरु भने आफ्नो राजनीतिक सहजताका लागि देउवाले सिटौला अघि सारेको बताएका छन् ।

त्यसो त पूर्वमा कोइरालालाई टक्कर दिने सिटौला बाहेक अर्काे त्यति स्तरको नेता नरहेको र उनलाई राष्टिय सभाको अध्यक्षमा व्यवस्थापन गर्न सके कोइरालालाई पनि राम्रै हुने सुझाव उनी निकले सुझाव दिने गरेका छन् । सिटौला संविधान जारी भएपछि २०७४ र २०७९ का दुवै निर्वाचनमा झापा–३ बाट हारेका थिए । चुनाव हारेलगत्तै राष्ट्रपति बन्न खोजेका उनी सफल नभएपछि यतिबेला राष्ट्रिय सभामा छिर्ने दाउमा छन् ।

उनी त्यहाँ छिरेभने राष्ट्रिय सभाको अध्यक्ष पनि उनी नै हुने निश्चित जस्तै छ । शनिबार सकिएको कांग्रेसको केन्द्रीय कार्यसमितिमा बोल्ने सयभन्दा बढी सदस्यले चुनाव हारेका र बारम्बार अवसर पाएकालाई राष्ट्रिय सभामा नलैजान आग्रह गरेका थिए । तर जसले जे भनेपनि पार्टीको १३ र १४ औं महाधिवेशनमा सभापति बनाउन सिटौलाको सहयोग निर्णायक रहेकाले पनि देउवा उनलाई ल्याउने छन् । सिटौला झापा–३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग लगातार दोस्रो पटक हारेका थिए ।

अर्का नेता शाह पनि रूपन्देही–५ बाट एमालेका वासुदेव घिमिरेसँग हारेका थिए । सुजाता कोइराला मोरङ–२ बाट एमालेका ऋषिकेश पोखरेलसँग धेरै मत अन्तरले हारेकि थिइन् । त्यसैगरी डिना मकवानपुर–१ बाट राप्रपाका दीपक सिंहसँग, पुष्पा भुसाल एमालेका टोपबहादुर रायमाझीसँग अर्घाखाँचीबाट पराजित भएका थिए । कांग्रेसमा समानुपातिक सूचीमा परेर निर्वाचित हुन नसकेका नेता पनि अहिले राष्ट्रिय सभाका आकांक्षी भएका छन् ।

नेता गोपालमान श्रेष्ठ यसको अग्रपंक्तिमा छन् । पार्टीमा निरन्तर राजनीतिक लाभ लिनेमा पर्ने यी नेता पटक–पटक मन्त्री भइसकेका छन् । श्रेष्ठको दाउ पनि राष्ट्रिय सभामा अध्यक्ष नै बन्ने देखिन्छ । अघिल्लो चुनावमा समानुपातिकतर्फ मुस्लिम समूहबाट एक नम्बरमा रहेका सहमहामन्त्री फरमुल्ला मन्सुर पनि राष्ट्रिय सभाका लागि लागेका छन् ।

यो दौडमा माओवादी नेता गिरिराजमणि पोखरेल, नेकपा एसका घनश्याम भुसाल र नेकपा एमालेका प्रमेश हमाल समेत रहेका छन् । निर्वाचन आयोगले कुनै एक निर्वाचनमा हारेको व्यक्ति पाँच वर्षसम्म अर्काे कुनै राजनीतिक लाभ लिने खालको निर्वाचनमा उम्मेदबार हुन नपाइने गरी कानुनको मस्यौदा गरेको छ ।

यसअघि पनि प्रतिनिधिसभामा हारेका बामदेव गौतम र नारायणकाजी श्रेष्ठलाई लगत्तै राष्टिय सभामा ल्याउँदा निकै विरोध भएकाले निर्वाचन आयोगले सो कानुनको मस्यौदा गरेको थियो । तर कानुन पास नभएकाले अहिले हारेकाहरु नै उम्मेदबार बन्ने पक्का देखिएको छ । २० जना सांसदको पदावधि फागुन २० बाट सकिँदै छ । यसका लागि माघ ११ गते १९ सिटको निर्वाचन हुनेछ र बाँकी एक सदस्यलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत गरिनेछ । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासहित २० जनाको पदावधि सकिन लागेको हो ।