२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

करेन्ट लगाउँदा खोलामा माछा पाउन छाडे

करेन्ट लगाउँदा खोलामा माछा पाउन छाडे
अ अ+ अ-

दुल्लु । अवैध रूपमा करेन्ट लगाएर माछा मार्दा खोलामा माछा पाउन छोडिएको छ । लोपोन्मुख असला माछा अत्यधिक पाइने दैलेखको छामघाट र ताराघाट खोलामा अवैध रूपमा करेन्ट लगाएर माछा मार्न थालेपछि माछा पाउन छाडेको स्थानीयले बताएका छन् । सोलार ब्याट्री र बजारमा पाइने कन्भर्टरको प्रयोग गरी अवैध रूपमा खोलाभित्र करेन्ट लगाइ माछा मार्न थालेपछि खोलामा पाइने लोपोन्मुख असला माछासहित अन्य माछा पाइन छाडेका हुन् । 

पहिलेपहिले खोलामा बाहिरदेखि नै सहजै माछा खोलामा खेलिरहेको देखिने भए पनि अहिले एउटा पनि देख्न रहर भएको स्थानीय कलम कार्कीले बताउनुभयो । करेन्ट लगाएर माछा सखाप पार्दा स्थानीय प्रशासन मुकदर्शक भएको देख्दा आफू निकै दुःखी भएको कार्कीले गुनासो गर्नुभयो । प्रत्येक दिन हुलका हुल युवाले करेन्ट लगाएर माछा मार्ने गरेको खोली बजारका बमबहादुर थापाले जानकारी दिनुभयो । 

कुनै बेला खोली बजार छामघाट र ताराघाट खोलाको स्वादिलो माछा पाइने क्षेत्रका रुपमा लोकप्रीय थियो । अहिले आफूलेसम्म माछा खान नपाएको थापाको गुनासो छ । करेन्टको प्रयोगले माछा मात्र होइन खोलामा पाइने अन्य जलचर पनि मर्ने हुँदा प्राकृतिक प्रणालीमा नै सङ्कट आउने खतरा बढ्ने जिल्ला कृषि विकास कार्यालय दैलेखका प्रमुख तिलकप्रसाद पाण्डेले बताउनुभयो । 

बारम्बार स्थानीय प्रशासन र सरकारलाई जानकारी गराउँदा पनि कुनै चासो नदिएको धीरबहादुर थापाले जानकारी दिनुभयो । “मैले व्यापार गर्न लाको ३० वर्ष भयो, हाम्रो व्यापार नै माछा बेच्ने थियो, यहाँको माछा खान यो बाटो हिँड्ने सबै रुचाउथे अहिले पनि ती पुराना ग्राहक माछाका लागि आउँछन्, माछा छैनभन्दा अचम्मित हुन्छन् र यति ठूलो खोला छ माछा किन छैनभन्दा आफूसँग उत्तर नहुँदा निकै दुःखी हुनुपर्छ ।” थापाको मात्र होइन अहिले खोलीबजारमा व्यापार गर्ने सबैको त्यही पीडा छ । पहिले पहिले दिनमा १० देखि १५ हजारसम्मको व्यापार गर्ने होटेलमा अहिले दिनमा पाँच छ सयको पनि नहुने डम्बर महताराले गुनासो गर्नुभयो । खोलीबजारको व्यापार खस्किनुका साथै खोलामा जाल खेल्ने जलारीको पेशा झन् सङ्कटमा परेको छ ।
 
वर्षौंदेखि खोलामा जाल हानेर माछा मार्ने पेशामा लागेको जलारी निकै  चिन्तित छन् । “ खोलामा दिनभरि जाल हान्दा नि एक छाक माछा हुँदैन करेन्ट लगाउँदा माछा सखाप भो अनि हाम्रो जालमा कसरी माछा आउँछ”, भन्नुहुन्छ कर्णबहादुर कार्की । उहाँले आफूले जाल खेल्ने गरेको २० वर्ष भएको बताउँदै यही पेशाले १० जनाको परिवार पालेको स्मरण गर्नुभयो । विगतमा आफ्नो फुर्लुङ सधैँ भरिने र त्यसमा सात/आठ किलो माछा हुने गरेको उहाँले बताउनुभयो । अहिले यो यो पेशा नै छोड्ने तयारीमा रहेको उहाँको भनाइ छ । खोलामा अवैध उत्खनन र करेन्टको प्रयोग नै माछा नपाउनुको मूल कारण भएको  कृषि कार्यालयका प्रमुख पाण्डेको भनाइ छ । 

करेन्टको प्रयोगले माछा नै सखाप हुने र कोही बाँचीहाले नपुंसक हुने हुन्छ । माछाले भुरा उत्पादन गर्ने प्रक्रिया नै बन्द हुँदा माछा लोप भएको उहाँको दाबी छ । भैरवी गाउँपालिकाका प्रमुख प्रेम बुढाले अवैध करेन्ट लगाउनेबारे आफूलाई जानकारी नभएको तर यदी त्यस्तो भएमा अब नियन्त्रण गरिने बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले आफू आएको एक हप्ता मात्र भएकाले अवैध खोला उत्खनन र करेन्ट लगाउने कार्य गरेको पाए कानूनबमोजिम कारवाही गर्ने बताउनुभयो । दैलेखको भैरवी र महाबु गाउँपालिकाको बीच भएर बग्ने छामघाट खोला लोपोन्मुख असला माछाको मुख्य खोलाका रुपमा चिनिन्छ ।

जलचर संरक्षण ऐन भएन कार्यान्वयन 

आठविस नगरपालिकाले साना माछा मार्न रोक लगाए पनि कर्णाली नदीमा साना माछा मार्ने काम जारी छ । जलचर संरक्षण ऐन २०७५ अनुसार एक वर्ष अगाडि नगरपालिकाले सूचना जारी गर्दै कर्णाली नदीमा साना माछा मार्न रोक लगाएको थियो । 

जलचर संरक्षण ऐन २०७५ अनुसार साना माछा मार्न रोक लगाएको नगरपालिकाले बेवास्ता गर्दा माछा मार्ने काम नरोकिएको स्थानीयवासी बताउँछन् । स्थानीय सरकारले सूचनासँगै स्थानीयवासीमा जनचेतना जगाउनुपर्ने आठबिस नगरपालिकाका अर्जुनबहादुर शाहीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “कागजमै लेख्नेबित्तिकै काम पूरा हुँदैन । कार्यान्वयन गर्दा केही हदसम्म कमी आउथ्यो । तर सरकारकै चासो नभई दिँदा साना माछा मार्ने काम जारी रहेको हो । जलचर ऐन ल्याएको एक वर्षपछि मात्र नगरपालिकाले ऐन कार्यान्वयनको शुरुआत गरेको थियो । विसं २०७६ चैत १ देखि कालिकोटसँग सिमाना जोडिएको दही खोलादेखि रामाघाटसम्म साना माछा मार्न नगरपालिकाले रोक लगाएको थियो । कर्णालीमा साना माछा मार्दा माछा नै लोप हुन थालेपछि साना माछा मार्न रोक लगाएको भए पनि अनुगमन नहुँदा समस्या उस्तै रहेको छत्र माझीले जानकारी दिनुभयो । 

“नगरपालिकाले इलाका प्रहरी कार्यालय र राकम कर्णाली जलचर संरक्षण समूहसँगको समन्वयमा माछा मार्न रोक लगाएको थियो । माछा मार्नेक्रम जारी छ । न त जलचर संरक्षण समूह सक्रिय छन् न स्थानीय सरकारले चासो दिएको छ । मनपरी नदीमा माछा मारिरहेका छन्”, माझीले थप्नुभयो । 

ऐनमा उल्लेख भएबमोजिम नदीमा साना र भुरा माछा मार्न पाइँदैन । माछाको गर्भाधारण गर्ने समयमा कुनै पनि माछा मार्न पाइँने छैन । “त्यो बेला कर्णाली नदीमा माछा मार्न निषेध गरिएको छ । “ नदी आसपासका मानिसमा जनचेतना अभावकै कारण फाटफुट माछा मार्न सक्छन्”, नगरप्रमुख खड्गराज उपाध्यायले भन्नुभयो । पैँतीस किलोमिटर कर्णाली नदी आठबिस नगरपालिकाको क्षेत्रमा पर्दछ ।

नगरपालिकाकाले चैत १ मा सूचना जारी गर्दै साना तथा भुरा माछा मार्न रोक लगाएको प्रमुखको भनाइ छ । सूचनामा उल्लेख गरिएको थियो “नदीमा साना माछा मार्दा माछा नै लोप हुने देखिएकाले ‘साना माछा नमार्नु होला ।” माछा व्यवसायी वा अन्य कसैले साना माछा मारेमा जरिवानासँगै माछा मार्ने सबै सामग्री जफत गरिने भनिए पनि स्थानीय सरकार र जलचर संरक्षण समूह सक्रिय नभई दिँदा समस्या समाधान हुन नसकेको स्थानीय उदय विकले बताउनुभयो । 

नगरपालिकाले ठूलो प्वाल भएको जाल तथा साना माछा मार्न प्रयोग हुने सामग्री खरीद बिक्रीसमेत नगर्न आग्रह गरे पनि राकम बजारमै धमाधम जाल बिक्री भइरहेका छन् । साना माछा मारेको पाइएमा पहिलोपटक रु पाँच हजार, दोस्रोपटक रु १० हजार र तेस्रोपटक रु १५ हजार जरिवाना तोकिएको थियो ।  

सानो प्वाल भएको जालमा साना माछा मारिने हुँदा रोक लगाएको नगरपालिकाका उपप्रमुख दिपा बोहराले जानकारी दिनुभयो । नगरपालिकामा पर्ने चिनेखोला, कानेगाडखोला र रामघाट खोलामा साना माछा मार्ने नमार्नेमा नगरपालिकाले चासो दिएको छैन । साना खोलामा समेत साना माछा मार्न रोक लगाउनुपर्ने नगरपालिका चन्द्रबहादुर शाहीले बताउनुभयो । रासस