काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुई दिने राजकीय भ्रमण सम्पन्न गरेर मंगलबार स्वदेश फर्किनु भएको छ । मंगलबार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नु भएकी राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नि प्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतले स्वागत गर्नुभएको थियो । भ्रमणका क्रममा दुवै देशका राष्ट्राध्यक्षले विभिन्न चार विषयमा समझदारी गर्नुभएको छ ।जसमा पर्यटन सहयोग, सरसफाई, सांस्कृतिक आदानप्रदान र रोहनपुर–सिंहबाद रेलमार्ग सम्बन्धी समझदारी भएका छन् ।
राष्ट्रपति भण्डारी र नेपाली प्रतिनिधिमण्डललाई ढाकास्थित हजरत शाहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा त्यहाँका विदेशमन्त्री डा एके अब्दुल मोमेन, बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रलगायतले बिदाइ गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारी बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा सोमबार त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।











