• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

वर्तमान सरकार सम्पूर्ण रुपमा असफल भयो: विष्णु पौडेल



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले वर्तमान सरकार पूर्णत: असफल भएको बताउनुभएको छ । रोल…

वर्तमान सरकारको एक वर्षे कार्यकालको समिक्षा गर्दै उहाँले आम नेपाली यो सरकारसँग असन्तुष्ट र असहमत रहेको तथा सत्तारुढ दलका नेताहरुले नै वर्तमान सरकार असफल भएको प्रतिक्रिया दिएको दाबी समेत गर्नुभयो ।

मंगलवार न्युज एजेन्सी नेपालसँग संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वउपप्रधानमन्त्री समेत रहनु भएका उपाध्यक्ष पौडेलले काग्रेस महामन्त्री गगन थापाको अभिव्यक्तिप्रति संकेत गर्दै सरकार असफल भयो भनेपछि बोक्ने किन ? भनि पनि गर्नुभयो ।

उहाँले वर्तमान सरकारलाई खिँचडीको संज्ञा दिँदै यो सरकार मुलुकमा रहेसम्म देशले दु:ख मात्रै पाउने जिकिर गर्नुभयो । वर्तमान सरकारसँग देश बनाउने कुनै नीति, विचार, विश्लेषण, गन्तव्य नभएको उपाध्यक्ष पौडेलको भनाई थियो । उहाँले वर्तमान सरकारलाई राख्ने नेपाली जनताको चाहना नभएको पनि पटकपटक दोहोर्‍याउनु भयो ।

उपाध्यक्ष पौडेलले भन्नुभयो, ‘यो सरकार चाँही सम्पूर्ण रुपमा असफल भयो । यो सरकार जति दिन बस्छ, जति दिन रहन्छ । देशले सबै क्षेत्रमा सुशासनको क्षेत्रमा, शान्ति सुरक्षाको क्षेत्रमा, राष्ट्रिय स्वाभिमान र राष्ट्रको सम्मान अभिवृद्धिको क्षेत्रमा, संविधानको रक्षा र कार्यान्वयनको क्षेत्रमा, मानव अधिकारको क्षेत्रमा, शान्ति प्रक्रियाका बाँकि काम पूरा गर्ने सन्दर्भमा, राजश्व परिचालनका सन्दर्भमा, अर्थतन्त्रलाई गतिशील र चलायमान बनाउने सन्दर्भमा सबै सन्दर्भमा यो सरकार असफल भयो । यो सरकार जति दिन बस्छ, देशले त्यति दु:ख पाउने हो । त्यतिधेरै देश ओरालो लाग्ने हो । यो सरकार असफल सरकार हो । यस्तो प्रकारको सरकार बन्नुपर्छ भन्ने नेपाली जनताको चाहना होइन । नेपाली जनताको जनादेश पनि यो होइन । यो प्रकारको खिचडी सरकार नेपाली जनताले चाहेको होइन । तर अव के छ भने संसदको अंक गणितले यही सरकार बन्यो । यो खिचडी सरकारले देशलाई अगाडि लैजान सक्दैन । यसको कुनै नीति छैन, विचार छैन, विश्लेषण छैन, गन्तव्य छैन, केही पनि छैन । बाँडने र खाने भन्दा यो सरकारको केही पनि छैन । यो असफल सरकार हो । सरकार त असफल भयो । तर सरकार फेर्नका लागि, सरकार बदल्नका लागि संसदको अंक गणितले साथ दिनु पर्छ । त्यो संसदको अंक गणितले साथ दिन्छ कि दिँदैन भन्ने कुरा चाँही एमालेको इच्छाले मात्रै तय गर्दैन । हामी देखिराखेका छौं–सरकारमा सहभागी दलहरु र त्यसका नेताहरुले भनिराखेका छन–यो सरकार असफल भयो । यसलाईं नम्बर दिनुपर्‍यो भने १० प्रतिशत नम्बर दिन्छु भनिराखेका छन साथीहरु । १० प्रतिशत नम्बर पनि दिने, सरकार पनि बोकेर हिँडने पनि देखेका छौं हामी फेरी । त्यसकारणले प्रश्न के छ भन्दाखेरी यो सरकार असफल भयो भन्ने कुरा स्वयम् सत्तारुढ दलका नेताहरुले पनि भनिरहनु भएको छ । असफल भयो भने यो असफल सरकारलाई बोक्ने किन ? प्रश्न यो हो । तर के छ भन्दाखेरी फेरि पनि नेकपा एमाले जनमतको हिसावले देशको पहिलो पार्टी हो । संसदको सिट संख्याको हिसावले हाराहारीको तर दोस्रो सिट संख्यामा छौं । हाम्रो संख्या सरकार बनाउनका निम्ति र सरकार फेर्नका निम्ति पुग्दैन । पर्याप्त छैन । त्यसले गर्दा यो सरकार कतिसम्म रहन्छ वा रहँदैन भन्ने कुरा संसद भित्रको अंकगणितले तय गर्ने कुरा भयो । तर आम नेपालीले यो क्षेत्र वा त्यो क्षेत्र भन्ने छोडौं । निजी क्षेत्रको कुरा गर्नुस् । युवा विद्यार्थीको कुरा गर्नुस् । बुद्धिजीविको कुरा गर्नुस् । पेशा कर्मीको कुरा गर्नुस् । मजदुर, किसानको कुरा गर्नुस् । सबै क्षेत्र यो सरकारसँग असन्तुष्ट छन । असहमत छ । र, यो सरकारले देशलाई रसातलतर्फ लगिरहेको छ । यो सरकार सम्पूर्ण रुपमा असफल रह्यो ।’

उपाध्यक्ष पौडेलले सरकार परिवर्तनका लागि एमालेसँग संसदको अंंक गणित पर्याप्त नभएकाले त्यतातर्फ ध्यान नदिएको स्पष्ट पार्नुभयो ।