८ पुष २०८२, मंगलवार
,
Latest
प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल भद्रकाली पुनःनिर्माणको अनुगमन, समुदायको अपनत्व र समन्वय अनुकरणीय भएको उपप्रमुख डंगोलको भनाइ ‘टाइगर कप’ भलिबल माघ ९ देखि, तयारी तीव्र राजनीतिक स्वतन्त्रताको विवेकपूर्ण प्रयोगले मात्रै हरेक क्षेत्रमा स्वतन्त्रता सुनिश्चित हुन्छः मन्त्री खरेल बागमती प्रदेश सरकारद्वारा अस्पताल अनुगमन अभियान सुरु हुथी र यमन सरकारबीच करिब तीन हजार कैदी आदान–प्रदान गर्ने सहमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

उडान खुल्योः मौसम सुधार हुन समय लाग्ने



अ+ अ-

काठमाडौं । प्रतिकूल मौसमका कारण करिब दुई घन्टा उडान प्रभावित भएको मुलुकको एक मात्र भित्रुवन अन्तरराष्ट्रिय विमानस्थलमा केही मात्रामा उडान खुलेको छ । मौसम खराबीले आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै उडान प्रभावित भएकामा केहीबेरदेखि उडान सञ्चालन भएको विमानस्थलले जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले विमानस्थलमा अहिले यान्त्रिक पद्धत्ति (आइएफआर) बाट उडान शुरु भएको जानकारी दिनुभयो । “बाक्लो धुवाँसहितको तुवाँलोले भिजिबिलिटी शून्य भएकाले उडान प्रभावित भयो, अहिले उडान गर्न चाहने वायुयानलाई आइएफआर उडान खुला गरिएको छ”, उहाँले भन्नुभयो ।

विमानस्थलको भिजिबिलिटी कम हुँदा आन्तरिकतर्फ आठ जहाज अन्यन्त्र मोडिएका छन् । अन्तरराष्ट्रियतर्फ एक जहाज भारतको दिल्ली मोडिएको गरिएको महाप्रबन्धक तिवारीले बताउनुभयो ।     

उहाँका अनुसार नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सको जहाज अवतरण भएको छ ।

मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ । अहिले नेपालको आकाशमा बाक्लो तुवाँलो देखिएको छ । विभागका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले केही दिनदेखि वायुमण्डलमा देखिएको धुलो र धुवाँका साथै आज नेपाल तथा भारतका केही स्थानमा लागेको डढेलोको धुवाँले मौसम बिग्रिएको बताउनुभयो । 

उहाँका अनुसार अझै तीन दिनसम्म पानी पर्ने छैन । मौसम सफा हुन डढेलो कहिले नियन्त्रणमा आउँछ भनेर अनुमान गर्न पनि सकिने अवस्था छैन । नेपालका मकवानपुर, चितवन, पर्सालगायत जिल्लामा डढेलो लागेको बताइएको छ ।