६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुकुमपूर्वमा पुनः हिमपात, जनजीवन कष्टकर



अ+ अ-

रुकुमपूर्व । रुकुमपूर्वको माथिल्लो क्षेत्रमा पुनः हिमपात भएको छ । जिल्लाको हिमाली र उच्च लेकाली क्षेत्रमा हिमपात भएको हो । हिमपातका कारण चिसो निकै बढेको छ । चिसोेको कारण जिल्लावासीको जनजीवन प्रभावित बनेको छ । यस वर्ष पटक–पटक भएको हिमपातका कारण मानिससँगसँगै पशुचौपायलाई पनि समस्या भएको छ ।

जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिकाको अधिकांश क्षेत्र, सिस्ने र भूमे गाउँपालिकाको माथिल्लो क्षेत्रमा बिहीबारदेखि हिमपात भएको छ । यसअघि परेको हिउँ बिलाउन नपाउदै फेरि हिउँ थपिएपछि चिसोका कारण दैनिकी कष्टकर बनेको पुथाउत्तरगङ्गा गाउँपालिका–१ मैकोटका तेजकुमार गुरुङले बताउनुभयो । मैकोटलगायत आसपास क्षेत्रमा यसअघि परेको हिउँ बिलाउन नपाउँदै पुनः हिउँ थपिएपछि घरबाट बाहिर निस्कन पनि मुस्किल परेको उहाँको भनाइ छ ।

बाक्लो हिउँ जमेका कारण मैकाटका नागरिकलाई गाउँपालिकाको केन्द्र तकसेरा र सदरमुकाम रुकुमकोट झर्न समस्या भएको त्यहाँका स्थानीयवासीले बताएका छन् । यस्तै हिउँले जमिन ढाक्दा पशुचौपायलाई चरन क्षेत्रको अभाव खड्किएको मैकोटमा अर्का स्थानीयवासी विकास पुनले बताउनुभयो । पहिले भण्डारण गरी राखेको घाँसपात सकिएकाले अहिले पशुचौपायलाई के खुवाउने भन्ने पीर किसानलाई परेको उहाँको भनाइ छ ।

हिमपातका कारण लामो समययता विकास निर्माणका कामकाज सञ्चालन गर्न पनि नसकिएको पुथाउत्तरगङ्गा गाउँपालिका–१ का कार्यवाहक वडाध्यक्ष मग कामीले बताउनुभयो । समयमै विकास निर्माणका काम सञ्चालन गर्न नसक्दा वडालाई घाटा भएको उहाँले बताउनुभयो । यस्तै वडा नं २, ३, ५ लगायतमा पनि विकास निर्माणका काम ठप्प रहेका छन् । यस वर्ष जिल्लामा सातौँ पटकसम्म हिमपात भइसकेको छ । रासस