७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री पौडेलले बोलाए संसदीय दलको बैठक



अ+ अ-

हेटौँडा । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संसदीय दलको बैठक डाकेका छन् । 

मुख्यमन्त्री पौडेलले आगामी बुधबारको लागि दलको बैठक बोलाएका हुन् । प्रदेश सभामा एमाले संसदीय दलका नेतासमेत रहेका पौडेलले बुधबार बस्ने बैठकमा आफ्नै दलका सांसदहरूले प्रदेशसभामा दर्ता गरेको अविश्वासको प्रस्ताव फिर्ता लिन निर्देशन दिने बताइएको छ ।

यता एमालेकै सांसद अष्टलक्ष्मी शाक्यलगायतले अविश्वासको प्रस्ताव पेश गरेपछि उनले प्रस्ताव फिर्ता लिन निर्देशन दिने तयारी गरेका हुन् । अविश्वासको प्रस्ताव प्रदेश सभामा विचाराधीन रहेको छ ।  एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा हुँदा एमालेकै माधव नेपाल समूह र माओवादी केन्द्रका सांसदहरुले पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

यस्तै बुधबारको संसदीय दलको बैठकमा एमालेकै वरिष्ठ नेता नेपाल पक्षका सांसद सहभागी हुन्छन् या हुँदैनन भन्ने बारे अझै टुंगो लाग्न सकेको छैन । 

प्रदेश सभामा ११० सदस्यमध्ये एमालेको एकल बहुमत छ । जसमा नेकपा एमालेका ५७ नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, विवेकशील साझाका ३, नेपाल मजदुर किसान पार्टीका २, राष्ट्रिय प्रजातन्त्र पार्टी २, नयाँ शक्ति पार्टी १ जना सांसद रहेका छन् ।