• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo

राष्ट्रिय सभा निर्वाचनमा अवसर नपाएकालाई अवसर दिनुपर्छः काँग्रेस महामन्त्री थापा



काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टीले राष्ट्रिय सभा निर्वाचनमा अवसर नपाएकालाई उम्मेदवार बनाउनुपर्ने बताउनुभएको छ ।

बुधवार संस्थापन इतर पक्षको भेला सकिएलगत्तै उहाँले सञ्चारकर्मीमाझ सो प्रतिक्रिया दिनुभएको हो । महामन्त्री थापाले यसअघि निर्वाचन नलडेका र मौका पनि नपाएकाहरुलाई राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारी बनाउनका लागि पार्टी सभापति शेरबहादुर देउवालाई दबाब दिने निर्णय गरेको पनि बताउनु भयो । त्यसका लागि एउटा मापदण्ड बनाएर जाने विषयमा पनि छलफल गरिएको उहाँको भनाई थियो । त्यसैगरी बैठकले महासमिति बैठक सार्न नहुने निष्कर्ष पनि निकालेको छ । पार्टीको महासमिति बैठक पनि समयमै गर्नुपर्ने विषयमा पनि छलफल भएको महामन्त्री थापाले बताउनु भयो । उहाँले बैठकमा सुशासनको पक्षमा जोड दिएर अघि बढ्न सरकारलाई पनि संगठित रुपमा दबाब दिन नेताहरुले जोड दिएको बताउनु भयो ।

महामन्त्री थापाले भन्नुभयो, ‘यो भन्दा अगाडि १४ औं महाधिवेशन पछाडि नेपाली काँग्रेसको अहिलेको नेतृत्व आईसकेपछि स्थानीय तहको चुनाव भयो । प्रतिनिधि सभाको चुनाव भयो । राष्ट्रिय सभाको चुनाव भयो । तीन वटा चुनावको उम्मेदवारी छनौट गर्ने काम भयो । यी चुनावहरुमा उम्मेदवारी छनौट गर्ने काम गर्दाखेरी एउटा यसले कुनै मापदण्ड बनाएन । अथवा हामीले मापदण्ड अनुसार काम गर्न सकेनौं । दोस्रो चाहीँ एकदमै अन्यायपूर्ण व्यवहार भयो । पार्टी भित्रको मुख्य नेतृत्व पार्टीको सभापतिले सबैसँग न्यायपूर्ण व्यवहार गर्नुपर्ने ठाउँमा पार्टीको सभापति आफैँ एउटा समूहको संरक्षकजस्तो आफ्नो समूहमा जो छ, उसको लागि एउटा व्यवहार । जो आफ्नो समूहमा छैन । अझ महाधिवेशनमा आफूलाई मत दिएन । उसलाई हेर्ने अर्को नजर ।

सभापति भन्दा बाहेकले त्यो गर्ने बाँकी रहेकाले त्यो गर्ने कुरा त स्वभाविक भए । तर सभापतिले यस्तो गर्नुभयो । त्यसकारणले गर्दा यो पटक राष्ट्रिय सभा निर्वाचनमा दुई वटा कुरा स्पष्ट हुनुपर्छ भनेर छलफल ग¥यौं । एउटा, मापदण्ड । नेपाली काँग्रेसको तर्फबाट राष्ट्रिय सभामा जाँदैछ भने राष्ट्रिय सभाको जुन स्पिरिट छ । संविधानको जुन स्पिरिट छ । यी सबै कुराहरुको आधारमा जो साथीहरु राष्ट्रिय सभामा जान योग्य हुनुहुन्छ । अहिलेसम्म मौका पाउनुभएको छैन । जसले यो भन्दा अघिको निर्वाचनमा भाग लिनुभएको छैन । ती साथीहरु जाने कुरा एउटा । दोस्रो कुरा भनेको चाहीँ न्यायपूर्ण कुरा । यो समूहले यति पाउनुपर्छ, उति पाउनुपर्छ भन्दा पनि सभापति चाहीँ यो पटक राष्ट्रिय सभाको टिकट बाँडदै गर्दाखेरी सभापति सिंगो काँग्रेसको सभापति बन्न सक्नुहुन्छ कि हुन्न ?

सभापति सिंगो काँग्रेसको सभापति बनाउने हो । र, यसका निम्ति हाम्रो तर्फबाट प्रेरित गर्ने, दवाव दिने काम गर्नुपर्छ भनेर आज हामीले एउटा यस विषयमा छलफल गरेको हो । दोस्रो कुरा महासमिति बैठकको बारेमा छलफल भयो । महासमिति बैठक समयमै गर्नुपर्छ भन्ने त भयो नै । त्यसबाहेक महासमिति बैठकले राजनीतिक कुरामा, सांगठानिक कुराहरुमा आजको दिनमा दिशा निर्देश गर्ने कुरा के हुनसक्छ के–के छन् भन्ने बारेमा प्रारम्भिक छलफल मात्रै भएको छ । यसका बारेमा थप छलफल गर्ने भनेर हामीले सल्लाह गरेका छौं । आज हामीले छलफल गरेको तेस्रो महत्वपूर्ण विषय भनेको चाहीँ सुशासनको विषयमा हो । एकपछि अर्को काण्डहरु सार्वजनिक हुँदै आउने र अनि, अहिले हामी नेपाली काँग्रेस आफैँ सरकारमा हुने ।

हामी सरकारमा भएका बेला यस्ता काण्डहरु एकपछि अर्को ढंगले सार्वजनिक हुँदै आउने । यी विषयहरुलाई हामीले सामान्य रुपमा लिनुहुँदैन । यस विषयमा नेपाली काँग्रेस भित्र संगठित रुपमै दबाब सृजना गर्नुपर्छ भन्ने बारेमा पनि प्रारम्भिक छलफल गरेका छौं । सुशासन विषय एक पछि अर्को काण्डहरु । यी विषयकहरुका सन्दर्भमा पार्टी भित्रै कसरी लडेर जाने । यसलाई कसरी शुद्ध बनाउने । सरकारमा भएका साथीहरुले यी विषयलाई कसरी लिने ? प्रारम्भिक छलफल गरेका छौं । थप छलफल आगामी दिनमा हुन्छ ।’

महामन्त्री थापाले सरकारलाई सुशासनको पक्षमा अघि बढाउन दबाब नै दिनुपर्ने अवस्था आएको पनि बताउनु भयो ।