• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

किर्ते कागजात प्रकरण: वायुसेवा निगमका अधिकृतसहित चारजना पक्राउ



त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौँ । नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेमतो गरेको आरोपमा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत अधिकृतसहित चार जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हिजो र आज गरी उक्त प्रकरणमा चार जनालाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीले आज नेपाल वायुसेवा निगममा कार्यरत अधिकृतहरू अरविन्द यादव र विश्वनाथ कोइरालालाई पक्राउ गरेको हो । यसअघि प्रहरीले निगममा अर्का अधिकृत होमनाथ पोखरेल र र एजेन्ट पदम लामालाई पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार वायुसेवा निगमका अधिकृतहरूले ट्राभल एजेन्टको मिलेमतोमा विदेश जान चाहनेहरूलाई नक्कली सर्टिफिकेट, बैंक स्टेटमेन्ट, प्रहरी रिपोर्ट र नक्कली भिसा बनाइदिने र आर्थिक लाभ लिने गरेको पाईएको छ ।

यस प्रकरणमा प्रहरीले चारजना कन्सल्टेन्सी सञ्चालकसहित १३ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।