७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

हिउँमै भेडीगोठ

हिउँमै भेडीगोठ
अ+ अ-

ढोरपाटन । समुन्द्री सतहदेखि तीन हजार एक सय मिटरको उचाइ । वरपर सेताम्य हिउँ । चौबिसै घण्टा चिसो सिरेठो चलिराख्ने । माथिपट्टी नाङ्गा डाँडा, छेउमै घना जङ्गल । त्यही जङ्गलको एक तलपट्टी भेडीगोठ । करिब एक हजारको हाराहारीमा भेडा बाख्राको ठूला बथान । नजिकै मध्यपहाडी लोकमार्ग । दैनिक लोकमार्ग भएर दर्जनौं गाडी चर्को आवाजमा हरन बजाउँदै ओहोरदोहोर गर्छन् । ती गाडीका आवाजमले भेडीगोठालेलाई छुँदैन । उनीहरु आफ्नै धुनमा भेडाको स्याहारसुसारमा व्यस्त हुन्छन् ।

एक दशक अगाडिसम्म बागलुङ, पूर्वी रुकुम र रोल्पाको सिमाना पातीहाल्ने सुनसान थियो । लोकमार्गको ट्र्याक खुले पनि गाडी गुड्दैनथे । तीन जिल्लाका भेडी गोठालाको मात्रै यहाँ चहलपहल हुन्छ । लोकमार्गसँगै जोडिएका गोठमा अहिले पनि गोठाला बस्दै आएका छन् । चिसो याममा गाली खुट्टा भेडीगोठाले काम गरिरहेका भेटिन्छन् ।

धेरैजसो गोठालाहरु असार र कात्तिक महिनामै बेंसी झरे पनि चार जना अहिले पनि पातीहाल्ने क्षेत्रमा भेडाबाख्राको हेरचाहमा व्यस्त छन् । केही दिन अगाडि वर्षासँगै परेको हिमपातले तीन दिन दैनिकी कष्टकर बन्यो । चिसो ह्वात्तै बढेपछि यहाँ भएका गोठाला बेंसी झर्ने तरखरमा छन् । अहिले पूर्वी रुकुमको भूमे गाउँपालिकाका श्रीप्रसाद पुन, जोरप्रसाद पुन, सत गुरुङ र रास गुरुङको परिवार भेडीगोठमा छन् ।

उहाँहरुका ठूलो सङ्ख्यामा भेडाबाख्रा हुँदा अहिलेसम्म पातीहाल्ने क्षेत्रमै रहेका हुन् । उहाँहरु सबैले भेडापालन थालेको दशकौँ बित्यो । पाँच पुर्खादेखि भेडापालन गर्दै आएको बताउने श्रीप्रसाद ६१ वर्षको हुनुभयो । उहाँले भेडापालन थालेको ५३ वर्ष भयो । बाउबाजेले गर्दै आएको पेसालाई अङ्गाल्नुभएका गुरुङले आफ्ना हातपाखुरा चल्दासम्म यही काम गर्ने चाहना रहेको बताउनुभयो ।

उमेर ढल्दै गए पनि गुरुङमा काम गर्ने जोस जाँगर भने युवाको जस्तै छ । गुरुङका सबै दौतरी यही पेसामा लागे पनि अहिलेका नयाँ पुस्ताले भेडाबाख्रा पालनमा चासो दिँदैनन् । नयाँ पुस्ताले परम्परागत पेसालाई चासो नदिँदा पुर्खौंदेखि गर्दै आएको पेसा हराउने डर गुरुङलाई छ । आफ्नो पालामा पढ्ने लेख्ने र विदेश जाने चलन नहुँदा गाउँका सबै मानिस पशुपालनमा लागेको सुनाउँदै अहिलेका पुस्ता विदेश पलायन हुन र बजार झर्ने गरेको गुरुङले बताउनुभयो ।

भेडापालनबाटै परिवार चलाउनेदेखि सम्पत्ति जोड्नेसम्म गरेको सुनाउने गुरुङले हिजोआज गाउँमा विकास हुँदै गएपछि पुरानो पेसा लोप हुने अवस्थामा पुगेको सुनाउनुभयो । गत असारमा पशुचौपाया लिएर लेक आएको भन्दै चिसो बढेकाले अब गाउँ झर्ने गुरुङको भनाइ छ ।

“यो चिसोमा बस्न हामीहरुलाई बानी प¥यो, अहिले मात्रै होइन वर्षौंदेखि लेकबेंसी गरेर भेडाबाख्रा पाल्दै आएका छौँ, कहिले हिउँ, कहिले झरी वर्षा, यो सबै सहन थालेका छौँ, यो वर्षको पहिलो पटक मङ्सिरमै हिउँ प¥यो, हिउँले भेडाबाख्रा कठ्याङ्ग्रिएर मर्ने हुँदा अब गाउँमै जाने तयारी गरेका छौँ”, गुरुङले भन्नुभयो, “पहिला गोठ हुन्थे, पशुचौपाया र गोठाला हुन्थेउँ, अहिले त लेक पनि निकै रमाइलो भएको छ, दिनदिनै गाडी आउँछन्, गाडी आएपछि हामीहरुलाई पनि धेरै सजिलो भएको छ, पहिले खर्च बोकेर ल्याउनुपथ्र्यो, अचेल गाडीमा हालेर ल्याउँछौँ, गाउँ जान परे पनि सजिलै छिट्टै पुगेर आउन पाएका छौँ, जङ्गलमा गाडी गुड्दा पनि रमाइलो लाग्दो रैछ ।”

पातीहाल्ने क्षेत्रमा तीन जिल्लाका भेडा गोठाला आउने गरे पनि बागलुङको निसीखोला र रोल्पाली भेडा गोठाले असोजमै बेसी झरेका थिए । निसीखोला र रोल्पामा बेंसीमा पनि चरन क्षेत्र बढी हुँदा उहाँहरु पहिले नै बेंसी झर्नुभएको हो । पूर्वी कुरुमका गोठाला भने पुरै झरिसकेका छैनन् । अहिले पातिहाल्ने क्षेत्रमा रहेका गोठालामध्ये जोरप्रसाद पुन पनि हुनुहुन्छ । पुनको यहाँ रहेको बथानमा करिब तीन सय भेडाहरु छन् । उहाँले पनि भेडा पाल्न थालेको तीन दशक बढी भयो । गाउँका सबै पशुपालनमा आबद्ध भएको हुँदा उहाँ पनि ११ वर्षकै उमेरदेखि यो पेसामा लाग्नुभएको थियो ।

भेडापालनले अहिलेसम्म गाउँका धेरैलाई विदेश जानबाट रोकेको पुन बताउनुहुन्छ । हिउँदमा बेंसी र बर्खामा लेकमा बसेर भेडा पाल्ने किसानको न्यूनतम पनि एक सय ५० बढी भेडाबाख्रा हुने हुँदै उहाँहरु बेचेर विदेश जान नसकेको उहाँको भनाइ छ । जता गएर जे पेसा अङ्गाले पनि जीवनयापन नै गर्ने भएको भन्दै गाउँमै परम्परादेखि गरिँदै आएको काम गरे पनि परिवार चलाउन सकिने पुनले बताउनुभयो । आफू अहिलेसम्म कुनै पनि ठूलाठूला सहरमा नपुगेको उहाँको भनाइ छ ।

पुनले भन्नुभयो, “जहाँ गएर पनि काम गर्नै पर्छ, पैसा कमाउन सहज छैन, यहाँ लेक हो, हिउँले चिसो छ, फोहर कपडा लगाएर हिँड्नुपर्छ, तर कमाइ त यहाँ पनि छ नि, अरुको गुलामी गर्नुभन्दा यही मालिक बनेर भेडागोठालो गर्नु राम्रो लाग्छ हाम्लाई, वर्षमा १५÷२० भेडाबाख्रा बेचे पनि परिवार चलाउन सकिन्छ, मैले त छोरा भतिजलाई पनि यही आउँ, यही पेसामा लाग भन्छु तर मान्दैनन्, हामीहरुले कहिल्यै पनि काम सानो ठूलो मानेनौँ र आफ्नो ठाउँमै काम गर्नु पर्छ भनेर लाग्यौँ ।”

मध्यपहाडी लोकमार्गले भेडीगोठ जोडिएपछि ग्राहक बथानमै आएर भेडाबाख्रा किन्ने गरेको सत गुरुङले बताउनुभयो । पहिलेपहिले आफूहरु बागलुङको निसीखोला, बुर्तिबाङ, हुँदै गुल्मीको रिडीसम्म पुग्ने गरेको सुनाउँदै अचेले भेडा बिक्रीका लागि टाढा जान नपर्ने उहाँको भनाइ छ । हरेक वर्ष गोठबाटै लाखौँको भेडाबाख्राको बिक्री हुने गुरुङले बताउनुभयो । रासस