• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   विपद्का लागि सातै प्रदेशमा एयर एम्बुलेन्स जरुरी छ: गृहमन्त्री लामिछाने ★   एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर ★   सार्वजनिक सेवा प्रशारण फेरि मन्त्रालयको हालीमुहाली हुनेगरी अघि बढेको छ: नेता रिजाल ★   सूचनाका श्रोत फराकिलो भएपनि विचारहरु संकुचित हुँदैछन्: प्रमुख सचेतक परियार ★   गण्डकीका मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने ★   मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण ★   रासायनिक विषादीको प्रयोग घटाउन ‘आइपिएम’ कृषक पाठशाला ★   गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो ★   दुई महिनामै बन्द हुँदै कपिल शर्माको कमेडी शो ★   आम सञ्चार विधेयक चाँडै मन्त्री परिषद्मा पेश हुँदैछ: मन्त्री शर्मा

खेतमा पराल डढाउने चलनले आगलागीका घटना वृद्धि



फाईल फोटो

झापा । सावधानी नअपनाइ खेतमा पराल डढाउने प्रचलनले यहाँ आगलागीका घटना बढ्न थालेका छन् । परालमा जानजान र दुर्घटनाबस आगो सल्किएका कारण मङ्सिरमा १५ आगलागीका घटना भएको प्रहरीले जनाएको छ ।

मेचीनगरको वडा नं ८ मा धान झारेपछि बाँकी रहेको परालको घुस्यान जलाउँदा आगो अनियन्त्रित भएर कुञ्जनमणि धमलाको घरमा क्षति पुग्यो । दिउँसै लागेको उक्त आगो मेचीनगर र दमक नगरपालिकाका दुई दमकलले निभाएको थियो ।

“बेलैमा नगरपालिकाको दमकल नआएको भए अरु धेरै क्षति हुन्थ्यो”, सोही वडाको प्रगतिशील टोल विकास संस्थाका सचिव सुरेश भट्टराईले भन्नुभयो, “हेर्दाहेर्दै कुञ्जनमणि धमलाको गोठ जलेर खरानी भयो, गोठमा भण्डारण गरेको डेढ बिघाको पराल र मालसामान पनि डढ्यो ।”

जिल्ला प्रहरी कार्यालयका अनुसार यस मङ्सिरमा जिल्लाका विभिन्न स्थानमा आगलागीका १५ घटना हुँदा रु नौ लाख ५६ हजार पाँच सय बराबरको धनमाल क्षति भएको छ । प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार खेतमा असरल्ल फ्याँकिने परालमा स्थानीयले नै आगो लगाउने गरेका छन् । पर्यावरणीय दृष्टिलेसमेत हानिकारक र मानव बस्तीमै क्षति पुग्ने भएकाले खेतभरि धेरैमात्रामा परालमा आगो लगाउने कार्य रोक्न जनचेतनाको खाँचो रहेको रेग्मीले बताउनुभयो ।

गत कात्तिक र साउनमा परालको कुन्युमा आगलागीका नौ घटना हुँदा रु चार लाख १९ हजार बराबरको धनमाल क्षति भएको उहाँले जानकारी दिनुभयो । जिल्लाका गाउँमा धान काटेर खेतमै कुन्यु लगाएर राख्ने र थ्रेसर मेसिन ल्याएर पालैसँग धान झार्ने चलन छ । धान झारेपछि पराल नबिक्ने भएकाले कृषकले पराललाई खेतमा फिजाएर आगो लगाइदिने गर्छन् । त्यही आगो अनियन्त्रित भएर बस्तीसम्म पुग्ने गरेको भट्टराई बताउनुहुन्छ ।

विर्तामोड–१० विराटपोखरमा यसै साता धानको कुन्युमा दिउँसै आगलागी हुँदा शन्तकुमार लोहारले अधिया कमाएको डेढ सय मन धान डढेर नष्ट भयो । लाइटरबाट निस्किएको आगो फैलिँदा उक्त आगलागी भएको थियो ।

यसै साता मेचीनगर–९ मागुरमाडीमा पाँच बिघा खेतको धान र चार वटा परालको कुन्युमा आगलागी भएको वडाध्यक्ष कञ्चन तामाङले बताउनुभयो । उक्त आगलागी अनियन्त्रित हुँदा नजिकैको टङ्कप्रसाद उप्रेतीको घरमा आंशिक क्षति पुगेको थियो । नगरपालिकाबाट आएको दमकलले आगो निभाउनुपरेको थियो ।

सुक्खा मौसममा धान र परालमा छिटो आगो सल्किने हुँदा त्यसबाट तीव्र गतिमा आगो फैलिन्छ । चुरोटको ठुटा जथाभावी फ्याँक्दा, लागुऔषधका प्रयोगकर्ताले नसालु पदार्थ खान जथाभावी आगो बाल्दा र बालबालिकाले आगो निस्कने वस्तु चलाउँदा आगलागी हुने गरेको छ ।

घरैपिच्छे गाईबस्तु पाल्ने चलन हराउँदै गएको र व्यावसायिक गाई फार्मले कलिलो मकैको साइलेज बनाएर खुवाउने गरेका कारण धानको पराल बिक्न छाडेको मेचीनगर–१० धुलाबारीका बिपी भट्टराई बताउनुहुन्छ । पराल नबिकेपछि भण्डारण गरेर राख्नुको साटो खेतमै छरेर आगो लगाउँदा बस्तीमा वायु प्रदूषणसमेत फैलिएको पाइन्छ । डढेको परालको पिरो धुँवाले आँखा पोल्ने समस्या आउने गरेको स्थानीय बताउँछन् । रासस