२४ मंसिर २०८२, बुधबार
,
Latest
नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी जेन–जी प्रतिनिधि र सरकारबीच १० बुँदे सहमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशको संकट समाधानका लागि अस्थायी संयुक्त सरकार बनाऔँः अध्यक्ष वैद्य



अ+ अ-

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्यले वर्तमान राज्यसत्ता र व्यवस्था असक्षम भएको भन्दै अस्थायी संयुक्त सरकार बनाउनुपर्ने बताउनुभएको छ ।

बिहीवार पार्टीको तात्कालिक राजनीतिक कार्यनीति विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष वैद्यले वर्तमान राज्यसत्ता, व्यवस्था र तिनका पक्षधर राजनीतिक दलहरु असक्षम र संकटग्रस्त बन्दै गएको बताउनुभएको हो । उहाँले वर्तमान राज्यसत्ता र संसदीय व्यवस्थाको विकल्पमा अस्थायी संयुक्त सरकार बनाउनुपर्ने बताउनु भयो । उहाँले सरकारले संघर्षका उपलब्धिहरुको रक्षासहित, राष्ट्रियता, जनतन्त्र र जनजिविकाको विषयमा आधारित तत्कालिक कार्यक्रमको कार्यान्वयन गर्ने बताउनु भयो ।

त्यस्तै वर्तमान संविधान खारेज गरी दलाल तथा नोकरशाही पुँजिवाद, सामन्तवाद र साम्राज्यवाद विरोधी अन्तर्वस्तुमा आधारित जनसंविधान निर्माणका लागि आधार तयार पार्ने उहाँले बताउनु भयो । अध्यक्ष वैद्यले अस्थायी संयुक्त सरकारको कार्यनीतिले जनताका तत्कालिक हक, हित तथा अधिकारको प्राप्ति र संघीय जनगणतन्त्र हुँदै वैज्ञानिक समाजवादमा जानका लागि एउटा साधनको काम गर्ने स्पष्ट पार्नुभयो । उहाँले अग्रगामी रुपान्तरणका लागि राष्ट्रिय राजनीतिक सम्मेलन र क्रान्तिकारी संयुक्त मोर्चा पनि आवश्यक भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘वर्तमान राज्यसत्ता, व्यवस्था तथा तिनका पक्षधर राजनीतिक दल असक्षम तथा संकटग्रस्त बन्दै गएको प्रष्ट हुन्छ । भयावह हुँदै जान थालेको राजनीतिक, आर्थिक तथा सांस्कृतिक संकटको समाधान हुनै सक्दैन । राजतन्त्र र हिन्दु धर्मको पुनःस्थापना पश्चगामी यात्रा हो । त्यो अस्वीकार्य छ । संसदीय निर्वाचनको निरन्तरताको चक्रव्युह सरकार ढाल्ने, अर्को बनाउने र फेरि ढाल्ने सत्तालिप्साका खेल र झुटा आश्वासन तथा भ्रम जाल पनि थेग्न सक्ने स्थितिमा देश र जनता छैनन् । साथै व्यवस्था होइन अवस्था फेर्नुपर्छ भन्ने धारणा पनि संसदीय यथास्थितिवादको अभिव्यक्ति बाहेक अरु केही होइन । यो एउटा थप भ्रमजाल मात्र हो ।

पुरानो संविधानमा टालो हालेर र संशोधन गरेर पनि केही हुँदैन । संकटग्रस्त बन्दै गएको वर्तमान दलाल तथा नोकरशाही एवं सामन्त वर्गिय राज्यसत्ता र संसदीय व्यवस्थाको विकल्प तथा अग्रगामी रुपान्तरणका लागि राष्ट्रिय राजनीतिक सम्मेलन, क्रान्तिकारी संयुक्त मोर्चा, अस्थायी संयुक्त सरकार र जनसंविधानको निर्माण हाम्रो तत्कालिन राजनीतिक कार्यनीति हुनेछ । यो कार्यनीति सहि तथा वस्तुवादी रहेको छ ।

अस्थायी संयुक्त सरकारका काम के हुन् त ? राजनीतिक प्रतिवेदनमा भनिएको छ, यस सरकारले संघर्षका उपलब्धिहरुको रक्षासहित, राष्ट्रियता, जनतन्त्र र जनजीविकाको विषयमा आधारित तत्कालिक कार्यक्रमको कार्यान्वयन गर्नेछ र पुरानो संविधान खारेज गरी दलाल तथा नोकरशाही पुँजिवाद, सामन्तवाद र साम्राज्यवाद विरोधी अन्तरवस्तुमा आधारित जनसंविधानको निर्माणका लागि आधार तयार पार्नेछ । यसप्रकारको कार्यनीतिले एकातर्फ आम जनताका तत्कालिक हक, हित तथा अधिकारको प्राप्ति र अर्कोतिर संघीय जनगणतन्त्र हुँदै वैज्ञानिक समाजवादमा जानका लागि एउटा साधनको काम गर्नेछ ।’

अध्यक्ष वैद्यले राजतन्त्र र हिन्दु धर्मको पुनःस्थापना पश्चगामी यात्रा भएको भन्दै त्यो यात्रा अस्वीकार्य रहेको बताउनु भयो । त्यस्तै सरकार ढाल्ने, बनाउने र पुनः ढाल्ने संसदीय निर्वाचनको निरन्तरता पनि जनता थेग्ने स्थितिमा नरहेका उहाँको भनाई छ ।