• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

कालीगण्डकी कोरिडोर: बेगखोला-नागढुङ्गा खण्डको काम लयमा फर्कियो



file photo

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत म्याग्दीको बेगखोला-भुरुङ तातोपानी खण्डको काम तीन वर्षपछि लयमा फर्किएको छ ।

समुदाय, जनप्रतिनिधि र सरोकारवालाको दबाबपछि बेगखोलादेखि भुरुङ तातोपानीको नागढुङ्गा खण्डका निर्माण व्यवसायी काममा फर्किएर कालोपत्रको तयारी थालेका हुन् ।

रघुगङ्गा गाउँपालिका(३ राहुघाटदेखि अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीको नागढङ्गासम्मको १९ किलोमिटर सडक कालोपत्र गर्न विसं २०७४ मा शर्मा युनाइटेड जेभी र बेनी-जोमसोम-कोरला सडक योजनाबीच ठेक्का सम्झौता भएको थियो ।

मुख्य ठेकेदारले काम नगरेर सहायकलाई ठेक्का दिएको, प्रतिकूल भूगोल, विपद् र कोरोना महामारीका कारण यो सडक निर्माण विसं २०७७ हिउँददेखि सुस्ताएको थियो । धरौटी जफत, ठेक्का तोड्ने र कालोसूचीमा राखेर कारबाही गर्ने प्रक्रिया अघि बढाएपछि ठेकेदार काममा फर्किएका बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख ध्रुव झाले जानकारी दिनुभयो ।

“पहिरोग्रस्तस्थल र कडा पहरा फुटाउनुपर्ने भागमा बाहेक सडक विस्तार, नाली, पर्खाल निर्माण र सब बेस विछ््याउने काम सकिएको छ,” उहाँले भन्नुभयो “चमेरे, वैसरी र महभिर बाहेकको सडक कालोपत्रको तयारी भएको छ ।

शर्मा युनाइटेडका इञ्जिनियर प्रशान्त तिमिल्सिनाले करिब छ किलोमिटर दुरीमा सब बेस र बेस राख्ने काम सकिएको बताउनुभयो । “मौसमले साथ दियो भने छदेखि आठ किलोमिटर सडक यसपाली कालोपत्र गर्नका लागि मजदुर र उपकरण परिचालन गरी तयारी थालेका छौँ”, उहाँले भन्नुभयो ।

यसखण्डका विभिन्न स्थानमा करिब चार किलोमिटर पहिरोस्थल भएकाले ग्राभेल गर्ने, महभिरमा कडा पहरा भएकाले आयोजनाले सुरुङ निर्माण गर्ने योजना बनाएको र तातोपानी कुण्डको केही भागमा वैकल्पिक सडक निर्माण गर्नुपर्ने भएकाले ठेक्काबाट हटाइको छ । रघुगङ्गा गाउँपालिकाको राहुपारेदेखि बेगखोला खण्डको करिब छ किलोमिटर दुई वर्षअघि कालोपत्र भएको थियो । राहुघाट–बेगखोला खण्डको सडक कालोपत्र गर्ने जिम्मेवारी लिएको सहायक ठेकेदार ओमकारेश्वर कन्ट्रक्सनका सञ्चालकलाई ताकेता गरिएको शर्मा युनाइटेडका इञ्जिनियर तिमिल्सीनाले बताउनुभयो ।

बेगखोला–नागढुङ्गा खण्डको कामलाई पूर्णता दिन मूल ठेकेदार आएको छ । राहुघाट–बेगखोला खण्डको सहायक ठेकेदारले काम नगरे मूल ठेकेदारलेनै पूर्णता दिने जनाएको छ । कालोपत्र भइसकेको बैसरी र सिरुबारी क्षेत्रमा ठूलो पहिरो खसेकाले जोखिम बढाएको छ । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले बेनी–जोमसोम–कोरला सडक आयोजनाको म्याग्दी खण्डमा अलपत्र परेको कालोपत्र गर्ने कामलाई लयमा फर्काउन सङ्घीय सरकारकामन्त्री, सचिव र आयोजनाका प्रमुखसँग समन्वयका साथै जिल्ला र पालिकास्तरमा समन्वय तथा सहजीकरण गरिएको बताउनुभयो ।

“म्याग्दी खण्डमा सडक निर्माण अलपत्र हुँदा यात्रुलाई सास्ती भएको विषयमा प्रधानमन्त्री र विभागीय मन्त्रीको ध्यानाकर्षण गराएका छौँ”, गत हप्ता निर्माणाधीन सडक अनुगमन गर्नुभएका उहाँले भन्नुभयो, “नागढुङ्गादेखि मुस्ताङको घाँसा खण्डसम्मको सडक निर्माणलाई पनि लयमा फर्काउन दबाबका साथै समन्वय र सहजीकरण गरिरहेका छौ ।” रासस