११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

चिसोमा ट्रेकिङ: यसरी अपनाउन सकिन्छ सावधानी

चिसोमा ट्रेकिङ: यसरी अपनाउन सकिन्छ सावधानी
अ अ+ अ-

काठमाडौँ । विगत दुई दिनदेखि नै मुगु, जुम्ला, हुम्ला, मनाङ, मुस्ताङका उच्च क्षेत्रमा हिमपात भएको छ । हिमपातका कारण त्यस क्षेत्रको जनजीवनमा असर परेको छ भने कतिपय ठाउँमा यातायातका साधनसमेत अवरुद्ध हुन पुग्ने भएकाले ट्रेकिङमा जानेले विशेष सावधानी अपनाउनुपर्ने यस क्षेत्रका जानकारले बताएका छन् ।

यसपाली गत वर्षको भन्दा चाँडो चिसो बढेकाले जाडो बढी नै हुने अनुमान गरिएको छ । तराईमा बाक्लो हुस्सु लागेर चिसो बढ्ने क्रम बढेकोे छ । देशभरिकै मौसम चिसो हुँदा प्रत्यक्ष असर ट्रेकिङ क्षेत्रमा पनि पर्छ । ट्रेकिङको याम करिब–करिब सकिए पनि साहसिक पर्यटक नियमितजसो नै जाने गर्छन् । अहिले पनि सयौँ पर्यटकले ट्रेकिङ गरिरहेका छन् । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल ९टान०का अनुसार यो याममा दृश्यहरु मनमोहक देखिन्छ तर हिमपात सुरु भएकाले चुनौती पनि उत्तिकै छ । सावधानी अपनाउँदा भने ट्रेकिङ गर्न कुनै समस्या नहुने टानका महासचिव विनोद सापकोटा बताउनुहुन्छ ।

उहाँका अनुसार अब ट्रेकिङको याम सकिने क्रममा छ । सेप्टेम्बर, अक्टोबर नोभेम्बर, मार्च, अप्रिल र मे मुख्य याम भए पनि अहिले नजाने भन्ने होइन । विदेशी अहिले कम जान्छन् भने आन्तरिक पर्यटकहरु बढी गइरहेका छन् । केही दिनदेखि हिमपात भएको र चिसो बढी हुन थालेकाले यो बेलामा जाँदा विशेष सावधानी अपनाउनुपर्ने महासचिव सापकोटाको भनाइ छ ।

अक्टोबर, नोभेम्बर, डिसेम्बर, जनवरी, फेब्रुअरी भने दृश्य मनोमोहक देखिने भएकाले साहसिक पर्यटकका लागि आकर्षक हुन्छ । सगरमाथा बेस क्याम्प, अन्नपूर्ण, मनास्लु, कञ्चनजङ्घा क्षेत्र ट्रेकिङको राम्रो गन्तव्य हो । उहाँका अनुसार हिमपात भएसँगै ठूला हिमालमा हिउँ थपिने तथा दिउँसो घाम लागेर हिमपहिरो आउने, हिमपात हुने हुन्छ । यस्तो समयमा बढी जोखिम हुन्छ । त्यसैले त्यस्तो जोखिम क्षेत्र पहिचान गरेर हिँड्नुपर्छ । अनुभवी व्यक्ति बिना ट्रेकिङ जानुहुदैन । हिमाली क्षेत्र बाहेक अन्य क्षेत्रमा जाँदा पनि चिसोबाट जोगिने उपायसहित जाँदा राम्रो हुन्छ ।

“यसरी जाँदा कपडा पनि क्षेत्र अनुसार सुहाउँदो लगाउनुपर्छ, हिउँ पर्नाले बाटो पुरिएको हुनसक्छ, बाटो चिनेको मान्छेसँग हिँड्नुपर्छ । पर्यटक एक्लै पनि हिँड्ने गर्छन्, त्यसरी हिँड्नु थप जोखिम हुन्छ । ” महासचिव सापकोटा भन्नुहुन्छ, “यतिबेला माथिल्लो लेयरमा हिउँ पर्दिन्छ । एउटा लेयर जमेर बसेको हुन्छ । त्यसमाथि नयाँ हिउँ गएर थपिन्छ, जब घाम लाग्छ, अनि पानी छिरेर लेयर छुट्याइदिन्छ र माथिल्लो भाग झर्नसक्छ त्यसकारण हिउँ खस्ने सम्भावित क्षेत्र हो भनेर पहिचान भएका व्यक्ति लिएर जानुपर्छ र त्यही अनुसार हिउँमा हिँड्न मिल्ने जुत्ता, हिउँबाट जोगिने कपडा लगाउनुर्छ नभए अम्ला खाइदिने हुन्छ ।”

नेपालमा अनुमानित दुई लाखभन्दा बढीले ट्रेकिङ गर्ने गरेका बताइए पनि यकिन तथ्याङ्क भने छैन । नेपाल ट्रेकिङको उत्कृष्ट गन्तव्य हो । त्यसैले अहिले पर्यटक बढ्न थालेकाले व्यवसायी हर्षित पनि छन् । नेपाल पर्यटन बोर्डका कार्यकारी समिति सदस्य एवं कोरियन आल्पाइन फेडेरेशनका नेपाल प्रतिनिधि ङावा ङिमा शेर्पा मनोरम दृष्य हेर्ने पर्यटकका लागि अहिले उपयुक्त मौसम भए पनि जोखिम भने बढी हुने बताउनुहुन्छ ।

उहाँका अनुसार यस्तो बेलामा हिमपहिरो आउने सम्भावना हुनेहुँदा बिहानै घाम लाग्नुभन्दा पहिला नै गन्तव्यमा पुग्नुपर्ने हुन्छ । “बेलुका चिसोले हिउँ सेट भएको हुन्छ । बिहान १० देखि ४ बजेसम्म हिउँ पग्लिने हुँदा जोखिमपूर्ण हुन्छ । त्यही भएर गाइडले ख्याल गर्नुपर्‍यो । अनुभवी गाइडको निर्देशनमा हिँड्नुपर्छ”, ट्रेकिङ क्षेत्रका अनुभवी शेर्पा भन्नुहुन्छ, “अर्को जोखिम भनेको हिउँ परिहाल्यो भने बाटो भुलिन सक्छ, खाल्डोमा पर्न सकिन्छ । अनि हिउँ परिरह्यो भने चिसो बढेर बिरामी बनाउन सक्छ । कपडा न्यानो लगाउनुपर्छ खाना त्यहीअनुसार तातो खानुपर्छ र बासस्थानको पनि सोही अनुसार व्यवस्थापन गर्नुपर्छ ।”

यो याममा होटलसमेत बन्द गरिने भएकाले राम्रो अध्ययन गरेर होटल छन्, छैनन् सबै यकिन गरेर मात्रै ट्रेकिङमा जानुपर्नेमा उहाँ जोड दिनुहुन्छ । संसारको सबैभन्दा बढी र राम्रो टे«किङ गन्तव्य नै नेपाल भएको जिकिर गर्दै शेर्पा दुई सय ५० जति पोटेन्सियल टे«किङ क्षेत्र रहेकामा त्यसमध्ये नौ–दस वटाबाट मात्रै फाइदा लिन सकिएको बताउनुहुन्छ । अन्नपूर्ण, सगरमाथा, लाङटाङ, मुस्ताङ अनि डोल्पा आकर्षक गन्तव्यका रुपमा रहेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अहिले चिसो बढेकाले विशेष गरी ट्रेकिङमा जानेहरुले सावधानी अपनाउनुपर्नेमा जोड दिएको छ । तराई क्षेत्रमा हुस्सु बढ्न थालेको छ । शीत लहरसमेत सुरु हुने भएकाले अब हिमाली क्षेत्रको हिमपात, तराई क्षेत्रको शीतलहर र पहाडी क्षेत्रको उच्च चिसोबाट जोगिन सबैमा अनुरोध गर्दै प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले जाडो छल्न आगो ताप्ने क्रममा आगलागी हुने भएकाले त्यसतर्फ पनि ख्याल गर्न अनुरोध गर्नुभएको छ ।

यस्तो छ मौसम

हाल नेपालमा पश्चिमी वायुको साथै भारतीय उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव परेको छ । देशको पूर्वी भू–भागमा बङ्गालको खाडीको मध्य–पश्चिम क्षेत्र आसपास विकसित मिचुङ नामक शक्तिशाली समुद्रिक आँधीको समेत आंशिक प्रभाव परेको छ । हाल कोशी र लुम्बिनी प्रदेशका साथै देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली छ ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको र देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

राप्ती कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको र वर्षा र हिमपातसँगै देशभरिको तापक्रममा गिरावट आउन सक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद् सन्दिप अधिकारीले आग्रह गर्नुभएको छ ।

तापक्रमको अवस्था

मौसमविद् अधिकारीका अनुसार काठमाडौँमा हिजो न्यूनतम तापक्रम सात दशमलव चारसम्म झरिसकेको छ । जोमसोममा सबैभन्दा कम देखिएको छ । हिजो माइनस पाँच दशमलव पाँच डिग्री तापक्रम रहेको थियो । यसपालीको यो सबैभन्दा कम तापक्रम हो । हिजो दोलखाको जिरीमा एक डिग्री, जुम्लामा माइनस तीन दशमलव आड डिग्रीसम्म झरेको छ । मनाङमा दैनिक तपक्रम हेर्ने स्टेसन नभएकाले चिसो कति पुग्यो भनेर यकिन भन्न सकिने अवस्था नभएको विभागले जनाएको छ ।

मौसमविद् अधिकारी आज पूर्वी तराईमा बादल लागेको बताउनुहुन्छ । त्यस क्षेत्रमा हवाई उड्डयनमा असर पर्ने देखिएको छ । पश्चिबाट मौसमको असर सुरु भए पनि आजदेखि विस्तारै खुलेको र धनगढी तथा डडेलधुरामा मोसम सुधारात्मक रहेको जनाइएको छ । काठमाडौँमा पनि मौसम सुधारिए पनि विस्तारै चिसो बढ्दै जाने बताइएको छ । रासस