• १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
  •   Unicode
Logo
Latest
★   इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो, को अगाडि ? ★   न्यायाधीश र अधिवक्तामाथिको लाञ्छना आपत्तिजनक: सर्वोच्च बार ★   प्रधानमन्त्रीद्वारा देशकै सर्वाधिक ठूलो विद्युत् सबस्टेसन उद्घाटन ★   बझाङ-१ मा एमालेको अग्रता कायमै ★   इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ र ३ को मतगणना सकियो ★   फुपुको छोरीको हत्या गरी फरार रहेका अभियुक्त ९ वर्षपछि पक्राउ ★   खेलाडीले प्रेसर अझै राम्रोसँग म्यानेज गर्नसक्थेँ– प्रशिक्षक मोन्टी ★   सन्दीपको मुद्दा आज पनि हेर्न नभ्याइनेमा ★   नेपालमा लगानीका लागि धेरै सम्भावना छन्: मन्त्री चौधरी ★   इलाम अपडेटः कांग्रेसको अग्रता कायमै, कसको मत कति ?

सांसद कानुन बनाउन निर्वाचित हुन्छन् तर जनताले त्यसरी हेर्दैनन् : सांसद राणा



काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टीका (राप्रपा)का सांसद डा धवलशम्शेर राणाले संसद्मा प्रतिपक्षको भूमिका सशक्तरूपमा निभाइरहेको तर सत्तापक्षले आफ्नो भूमिका निभाउन नसकेको जिकिर गर्नुभएको छ । “संसद्मा प्रतिपक्षको भूमिका सरकारका काम–कारबाहीका बारेमा निगरानी राख्दै सरकारका राम्रा काममा टेवा दिने र कमी–कमजोरीमा खबरदारी गर्नु हो । हामी संसद्मा जनताको विचारको प्रतिनिधित्व गर्दै आवाज उठाइरहेका छौँ । सरकारले कार्यान्वयन गर्नुपर्ने विषय पनि उठाइरहेका छौँ । तर सरकारले कार्यान्वयन गर्दैन । सरकार जवाफदेही छैन । हामी प्रतिपक्षको भूमिका सशक्तरूपमा निभाइरहेका छौँ तर आफ्नो भूमिका निभाउन सरकार सकिरहेको छैन”, उहाँले भन्नुभयो ।

रासससँग कुराकानी गर्नुहुँदै सांसद राणाले जनताको भावना र विचारको प्रतिनिधित्व गर्ने सर्वोच्च निकायका रूपमा रहेको संसद्मा सत्तापक्षले प्रतिपक्षको कुरा सुन्ने बानीको विकास गरी जनताका समस्या समाधान र कानुन निर्माण केन्द्रित हुनुपर्छ भन्नुभयो । राप्रपाका महामन्त्रीसमेत रहनुभएका राणाले प्रतिपक्षले उठाएका विषयप्रति सरकार जवाफदेही नहुँदा सरकार असफल भएको आरोप समेत लगाउनुभयो । “हामी सरकारका खराब कामप्रति विरोध गरिरहने, औँल्याइरहने, सत्तापक्ष नसुनेको जस्तो गरिरहने यस्ता अभ्यासले हामीलाई कहाँ पु¥याउँछ ?”, उहाँले प्रश्न गर्नुभयो ।

विसं २०१८ मा जन्मनुभएका सांसद राणा बाँके क्षेत्र नं २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ । उहाँ नेपालगञ्ज उपमहानगरपालिका पूर्वप्रमुख पनि हुनुहुन्छ । सांसदमा विकास निर्माणका कामको क्षेत्राधिकार नभएको जनताले नबुझ्दा पीडा महसुस भएको अनुभव उहाँ राख्नुहुन्छ ।

“सांसदहरू कानुन बनाउन निर्वाचित हुन्छौँ तर जनताले त्यसरी हेर्दैनन् । जनताले सडक, खानेपानी, बिजुलीलगायतका विकास निर्माणका लागि निर्वाचित गरेको महसुस गर्छन् । केही जनताले विकास निर्माण गर्न सकेन भन्छन् नै । यो नबुझ्दा आफूलाई पीडाचाहिँ लाग्दोरहेछ”, उहाँले भन्नुभयो । आफ्ना मतादाता निर्वाचित भएको एक वर्षमा विकास निर्माण काम नभएको र कानुन निर्माणको अवस्थाप्रति सन्तुष्टि रहने वातावरण नभएको उहाँको ठहर छ ।

आफूले विगतमा दुई पटकसम्म स्थानीय तहको नेतृत्व गरेको स्मरण गर्दै उहाँले भन्नुभयो, “केही जनताले कानुन निर्माण गर्ने निकायमा निर्वाचित गरेको बुझ्नुहुन्छ । विकासका पूर्वाधार निर्माण गर्ने निकाय स्थानीय तह हो । दुई–दुईपटक प्रमुख भएर स्थानीय निकायमा त्यो भूमिका म निभाएको छु ।”

विसं २०४९ बाट सांसद राणाले राप्रपाको युवक सङ्गठनबाट आफ्नो राजनीति सुरुआत गर्नुभएको थियो । पछि स्वतन्त्ररूपमा चुनावमा प्रतिस्पर्धा गरी सांसद पदमा निर्वाचित हुनुभएको सांसद राणापछि नेकपा (एमाले) प्रवेश गरी २०५४ सालमा निर्वाचित नगरप्रमुखसमेत हुनुभएको थियो । पुनः राप्रपा फर्कनुभएका सांसद राणा २०७४ सालमा प्रमुख भएर हाल प्रतिनिधिसभा सदस्य हुनुहुन्छ ।

संसद्मा सत्तापक्ष र प्रतिपक्षको सहकार्यमा कानुन निर्माण गर्नुपर्दछ । जुन कुनै एक दलका समर्थकका लागि होइन । जनता र मुलुकमा अमनचयन सिर्जना गर्नका लागि । भूमिका र जिम्मेवारीका हिसाबले एउटा विधायकले विधेयक र कानुन निमार्णमा केन्द्रित हुनुपर्ने हो तर सोहीअनुसार हुनसकेको छैन । सांसद राणाले संसद्ले करोडौँ खर्च गरेर विधेयक पास गर्न नसकेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।

“हामी करोडौँ खर्च गरेर एउटा विधेयक पास गर्छौँ । संसद्ले आवश्यक विधेयक पास गर्न नसकेको अवस्था छ । कानुन बनाउने मुख्य जिम्मेवारी बोकेका सांसदप्रति जनता सन्तुष्टि हुने अवस्था छैन”, उहाँले भन्नुभयो । सांसद राणाले अभावैअभाव र असहमतिका बीच चलिरहेको सदन एउटा गठबन्धन छाडेर अर्को गठबन्धनमा उभिएको परिणाम रहेको आरोप लगाउनुभयो ।

मुलुकको आर्थिक अवस्था निरासाजनक रहेकामा चिन्ता व्यक्त गर्दै सांसद राणाले भ्रष्टाचार नै देश विकासको बाधक रहेको बताउनुभयो । “मुलुकमा हरेक कुराको अभाव छ । रोजगारी छैन, विकास छैन । भ्रष्टाचार मौलाउँदै जानु देश विकासको बाधक हो । मुलुकको आर्थिक अवस्था सुदृढ बनाउन सबैले पहल गर्नुपर्छ”, उहाँले भन्नुभयो ।रासस