• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo
Latest
★   बीसीसीआईले मुख्य प्रशिक्षकको लागि अष्ट्रेलियालीलाई प्रस्ताव गरेको छैन: जय शाह ★   सुरक्षित मातृत्व सेवा सरकारले थप व्यवस्थित बनाउन जरुरी:सभापति डा.राणा ★   पपुवा न्युगिनीमा पहिरोमा परी करिब १०० जनाको मृत्यु भएको आशङ्का ★   राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत खनालद्वारा पदभार ग्रहण ★   क्यान्सरको जोखिम पहिचान गर्न स्वास्थ्य शिविर ★   डोजर लगाएपछि बागलुङका ताल सुक्दै ★   संसदलाई विधिसंगत रुपमा छलफलको केन्द्र बनाऔं: सभामुख घिमिरे ★   व्यावसायिक चियाखेतीसँगै पर्यटन प्रवर्द्धनमा भोजपुरका रञ्जित ★   कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित ★   धावनमार्गमा खाल्डो परेपछि त्रिभुवन विमानस्थल ४५ मिनेटको लागि बन्द

भक्तपुरका कुमालेलाई माटोका पाला र भाँडा बनाउन भ्याइनभ्याइ



भक्तपुर । तिहार लागेसँगै भक्तपुरमा माटोका भाँडा बनाउन भ्याइनभ्याइ भएको छ । भक्तपुर नगरपालिका–४ तालाक्वो पोर्टरीस्क्वायरमा पुस्तौदेखि माटोका भाँडा बनाउँदै आएका कुमाले समुदाय तिहार सुरु नहुँदैदेखि माटोका भाँडा बनाउन व्यस्त छ ।

भक्तपुरमा आकर्षक माटोको भाँडा बनाउने बोलाछें र तालाक्वको पोर्टरी स्क्वायरमा प्रजापति समुदायका पूरै परिवार यतिखेर तिहारका लागि आवश्यक पाला बनाउन एकछिन फुर्सद छैन ।

शिवप्रसाद प्रजापतिले आफूहरुले यसवर्ष करिब २० लाख पाला बनाएर बिक्री गर्ने योजना बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “करिब ६० घरपरिवार माटोको भाँडा, पाला बनाउन व्यस्त छन्, बजारमा भारतीय पाला छिरिरहेको छ, सरकारले यसलाई रोक्न सके यसवर्ष हामीले २० लाख पाला बनाएर काठमाडौँ उपत्यकादेखि पोखरासम्म बिक्री गर्ने योजना बनाएका छौँ ।”

उहाँले भक्तपुरका पाला देशका विभिन्न ठाउँमा पुग्ने गरे पनि अहिले तराईदेखि पहाडसम्म स्थानीयस्तरमै पाला निर्माण गरेपछि यहाँका पाला उपत्यका र काभ्रेमा मात्रै खपत हुने बताउनुहुन्छ । यसवर्ष एक दर्जन पाला रु ४० मा खुद्रा बिक्री गरेको र थोकमा प्रतिगोटा रु दुई मा बिक्री भइरहेको उहाँले बताउनुभयो ।

केही वर्ष अगाडिसम्म भक्तपुरमै माटो पाइने भए पनि असहले साँखुबाट महँगोमा माटो ल्याउनुपर्दा प्रजापति समुदायलाई समस्या परेको भन्दै उहाँले स्थानीय सरकारले माटो ल्याउन सहजीकरण गरिदिनुपर्ने बताउनुहुन्छ ।

“तिहार आइसक्यो माटोको पाला, भिउँट, धुपौरोको थुप्रै अर्डर आएको छ”, तालाक्व पोर्टरी स्क्वायरका ३८ वर्षीय विनोदकुमार प्रजापतिले भन्नुभयो, “माटोको समस्याले अर्डरअनुसारको काम गर्न पाइएको छैन ।” उहाँका अनुसार वर्षभरिमा राम्रो आम्दानी गर्ने समय नै यही हो । त्यसैले यो मौकालाई गुम्न नदिन यहाँका सिङ्गो समुदायका स–परिवार बिहानैदेखि रात नपरेसम्म माटोकै काममा व्यस्त हुने गरेको उहाँको भनाइ छ । भाँडा बनाउने परम्परागत मेसिन लोप भएपछि आधुनिक र सजिलो विद्युतीय मेसिनबाट माटोको भाँडा बनाउन व्यस्त उहाँले यस वर्ष १५ हजार पाला बिक्री गरिसक्नुभएको छ । पूजामा प्रयोग हुने धुपौरो, घैँटो बनाउन व्यस्त उहाँले यस वर्ष साना र ठूला दुवै प्रकारको पालाको माग रहेको बताउनुभयो ।

पोटरी स्क्वायरकै दयाराम प्रजापतिको पनि हात एकछिन पनि खाली छैन । बाजे बराजुको पालादेखि माटोको भाँडा बनाउँदै आएको उहाँको परिवारमा यो जिम्मेवारी अहिले दयारामले सम्हाल्दै आउनुभएको छ । उहाँ भन्नुहुन्छ, “यस वर्ष पालाको माग धेरै छ, तिहार आइसक्यो, मागअनुसारको पाला उत्पादन गर्न भ्याएकै छैन ।”

यहाँ उत्पादन भएका पाला यतिखेर भक्तपुर, काठमाडौँ, ललितपुर, काभेपलाञ्चोक, बनेपा, पनौती, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, पोखरा, नारायणगढ, वीरगञ्जलगायतका स्थानमा बिक्री हुने गरेको छ ।

पाला बनाउन व्यस्त विनोद प्रजापतिले माटो र काठको अभाव भएको भन्दैसरकारले इलेक्ट्रिक चुलोको व्यवस्था गरिदिए सहज हुने बताउनुभयो । भक्तपुरमा माटो पाउन छाडेको करिब एक दशक भइसक्यो । साँखुबाट व्यापारीले माटो ल्याउने गरे पनि त्यो पनि मागअनुसार आउँदैन, माटोको अभावले पेसा नै सङ्कटमा पर्ने अवस्था आएको उनीहरु गुनासो गर्छन् ।

स्थानीय विकास प्रजापतिले साँखुबाट व्यापारीले एक मिनीट्रक माटोको रु १३ हजारदेखि १५ हजारसम्म लिने गरेको बताउनुहुन्छ ।  माटो र दाउराको अभावले समस्या आएको उहाँको भनाइ छ ।

विगतमा भक्तपुरका कुमाले बाहिर जिल्लामै गएर माटोको भाँडा बनाउने गर्दथे भने कतिपय विभिन्न जिल्लामा बसाई सरेर गएका कुमालेले सोही ठाउँमै माटोको भाँडा बनाउने गरेपछि माग घटेको स्थानीय बलराम प्रजापति बताउनुहुन्छ । पुर्खादेखि गर्दै आएको काम छाड्न नसकिएको बताउँदै यहाँले माटोको भाँडाबाट घरखर्च चल्ने गरेको बताउनुहुन्छ । रासस