• ९ असार २०८१, आईतवार
  •      Sun Jun 23 2024
  •   Unicode
Logo
Latest
★   कमिन्सको लगातार ह्याट्रिक, अफगानिस्तानले दियो अष्ट्रेलियालाई १४९ रनको लक्ष्य ★   कर्णाली र सुदूरपश्चिमबाहेकका प्रदेशमा आज ठूलो पानी पर्ने ★   प्रतिनिधिसभाको बैठकबाट आजै बजेट पारित गर्ने तयारी ★   बेल्जियमले रोमानियालाई हरायो ★   टर्कीलाई हराउँदै पोर्चुगल युरो कपको अन्तिम १६ मा प्रवेश ★   टी–२० विश्वकपः बंगलादेशलाई हराउँदै भारत सेमिफाइनलको दौडमा बलियो ★   चीनले १७ जना नेपाली विद्यार्थीको नि:शुल्क मुटु उपचार गर्ने ★   उपप्रधानमन्त्री महासेठद्वारा निर्माणाधीन मुग्लिन–पोखरा सडक अनुगमन ★   पनौतीमा देवताबीच यौनिकता दर्शाई हिलेजात्रा सम्पन्न ★   जब सभामुख घिमिरेसँग विद्यार्थीले संसदीय मर्यादाको कुरा गरे…

विश्वकप छनोटको दोस्रो चरण पार गर्ने नेपालको लक्ष्य



काठमाडौँ । नेपालले विश्वकप २०२६ को छनोट (एशिया) मा दोस्रोचरण पार गर्दै एशियन कपसमेत खेल्ने लक्ष्यसहित तयारी गरिरहेको छ ।

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको प्रशिक्षणमा २६ सदस्यीय खेलाडी हाल बन्द प्रशिक्षणमा छन् । करिव २० दिनदेखि टोलीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रशिक्षण गरिरहेको छ । दोस्रो चरणको छनोटअन्तर्गत समूह ‘एच’ मा रहेको नेपालले पहिलो खेलमा नै बलियो टोली संयुक्त अरब इमिरेट्स (युएई) को सामना गर्दैछ । अनुभवी पोर्चुगिच प्रशिक्षक पाउलो बेन्टोको प्रशिक्षणमा रहेको युएई फिफा वरीयतामा ६९ औं स्थानको टोली हो ।

१७६ औं स्थानको नेपालका लागि युएई कठिन प्रतिद्वन्द्वी रहनेमा दुई मत छैन । यद्यपि, नेपाली टोलीका स्ट्राइकर अञ्जन विष्टले विश्वकप छनोट खेलका लागि सबैले धेरै मेहनत गरेको र यस पटक एशियन कपसमेत खेल्ने लक्ष्य रहेको बताउनु भयो ।

विश्वकप छनोटको प्रारम्भिक चरणमा लाओसलाई हराएको नेपाल दोस्रो चरणको पहिलो खेल युएईबिरुद्ध आगामी कात्तिक ३० गते प्रतिष्पर्धा गर्दै छ । यो समूहमा नेपाल र युएर्ईसहित यमन र बहराइन गरी चार राष्ट्रले प्रतिष्पर्धा गर्नेछन् । नेपालले दोस्रो चरणमा सबै आफूभन्दा बलिया राष्ट्रसँग खेल्नेछ । नेपाली टोलीका मुख्य प्रशिक्षक एनेस अहिलेसम्म चोटले कुुनै समस्या नगर्नु र तयारीमा राम्रो भएकाले सुखद् नतिजा आउनेमा आशावादी देखिएका छन् ।

साथै नेपाली टोलीले चरणवद्ध रूपमा घरेलु क्लवहरूसँग अभ्यास खेल पनि खेलिरहेको छ । पहिलो खेलका लागि नेपाली टोली आगामी कात्तिक २६ गते दुबई प्रस्थान गर्ने तयारी गर्र्दैछ । त्यो खेल नेपालको समयअनुसार राति साढे ९ बजे हुनेछ । नेपालका प्रशिक्षक एनेसले अधिकांश युवा टोली रहे पनि आफ्नो प्रशिक्षण टोलीले मेहनत गरिरहेको बताउनु भएको छ । टोलीमा अनुभवी खेलाडी धेरै नरहे पनि मेहनति र उत्साहले राम्रो नतिजा ल्याउने प्रशिक्षकको विश्वास छ ।

नेपाली टोलीका महत्वपूर्ण खेलाडीसमेत रहेका डिफेन्डर अनन्त तामाङले पनि बलियो टोलीबिरुद्ध पनि सुखद् नतिजा ल्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले अधिकांश लाओससँग खेलेका खेलाडी रहेको र केही नयाँ खेलाडी भित्रिए पनि उनीहरू टोलीमा सेट भइसकेको बताउनु भयो ।

नेपालका कप्तान किरण चेम्जोङ, रोहित चन्द र मनिष डाँगी हाल विदेशी लिग खेलिरहेका छन् । किरण भारतमा, रोहित इण्डोनेसिया र मनिष थाइल्याण्डमा व्यावसायिक फुटबल खेलिरहेका छन् । त्यसैले उनीहरूबिना टोलीले अहिले प्रशिक्षण गरिरहेको छ । उनीहरूबिना पनि टोलीले प्रशिक्षण गर्नुले टिम सेटमा खासै असर नपर्ने अनन्तको विश्वास छ ।

यस पटक नेपाली टोलीमा समेटिएका केही नयाँ खेलाडीमध्ये एक हुन्, पोर्चुगलमा व्यावसायिक फुटबल खेलिरहेका निसान ठकुरी । प्रशिक्षक एनेसले सिधै ट्रयालमार्पmत उनलाई ३२ खेलाडीबाट २६ सदस्यीय टोलीमा समेटेका हुन् । वाग्लुङ घर भएका निसान पोर्चुगलको लिस्बनस्थित नेपजुम एफसीबाट व्यावसायिक फुटबल खेल्ने गर्छन् । उनी जुनसुकै पोजिसनमा पनि खेल्नसक्ने खेलाडी हुन् । खेलाडी विदेश पलायनको श्रृंखला चलिरहँदा उनीसहित केही युवा खेलाडीलाई एनेसले यस पटक टोलीमा ल्याउन सक्छन् ।

प्रशिक्षक एनेस युवा खेलाडीसहित सन्तुलित टोली बनाउँदै बलियो टोली युएइसँगको पहिलो खेलमा राम्रो प्रदर्शन गर्ने लक्ष्यमा छन् । यो खेललगत्तै नेपाल दोस्रो खेलका लागि स्वदेश फर्किनेछ । नेपालले दोस्रो खेल आगामी मंसिर ५ गते यमनबिरुद्ध घरेलु मैदानमा खेल्नेछ । त्यसका लागि नेपालले तयारी शुरु गरेको छ । नेपाली फुटबलको प्रशासकीय निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत मंगलवार नै दशरथ रंगशालामा पत्रकार सम्मेलन गर्दै सो खेलका लागि आवश्यक तयारी शुरु गरेको जनाएको थियो ।

सो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ सात बजे हुने एन्फाले जनाएको छ । यसअघि घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेलहरू प्राय: साँझ ५:३० बजे हुने गरेका थिए । यस पटक भने एन्फाले नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको सल्लाहअनुसार साढे एक घण्टापछि खेल सारेको छ ।