१५ भाद्र २०८३, सोमबार
,
Latest
समानान्तर ग्रुपद्वारा बाढीपीडितका लागि ६३ लाख ३७ हजार सहयोग चेम्बरद्वारा विपद्को समयमा जिम्मेवार भएर व्यापार-व्यवसाय गर्न अपिल भोटेकोशी बाढीः शव पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया सुरु पहिरोमा ज्यान गुमाएकाहरूको शान्तिको कामना गर्दै स्वयम्भूमा परित्राण पाठ तथा दीप प्रज्ज्वलन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको एक करोड एक लाख सहयोग नुवाकोटबाट त्रिशूलीसम्मको सडक सञ्चालनमा राहत कोषको नाममा नक्कली खाता र क्यूआर बनाएर ठगी, सतर्कता अपनाउन राष्ट्र बैंकको आग्रह रसुवा बाढीका कारण ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२६’ भदौ २८ मा सारियो रवि लामिछानेद्वारा राष्ट्रपति पौडेललाई बाढीपछिको उद्धार र राहतबारे ब्रिफिङ बाढी प्रभावित क्षेत्रमा टेलिकमको सेवा पुनःस्थापना तीव्र, ११० साइट सुचारु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङमा प्लास्टिकका फूल बिक्रीमा रोक



अ+ अ-

बलेवा । बागलुङ नगरपालिका–१ रामरेखाका भुवन बोहराको बगैँचामा थरीथरीका फूल फुलेका छन् । तिहार पर्खेर बसेका फूल भुवनले व्यावसायिक रुपमा उत्पादन गर्नुभएको हो ।

बजार र धार्मिक तीर्थस्थलहरु नजिकै रहेकाले तिहारका लागि मात्रै नभएर अन्य समयमा समेत बिक्री हुने अपेक्षाका साथ उहाँले फूलको व्यावसायिक उत्पादन थाल्नुभएको हो । जिल्लामा यसरी व्यावसायिक रुपमा फूलको उत्पादन गर्नेहरु निकै कम छन् ।

तिहार नजिकिँदै गर्दा फूलले बजार नपाउला कि भन्ने चिन्ता नरहेको बोहराले बताउनुभयो । बागलुङ नगरपालिकाले प्लास्टिक र आयातित फूलको प्रयोगलाई रोक लगाउँदै स्थानीय उत्पादनलाई प्राथमिकता दिने निर्णय गरेपछि बजारको चिन्ता हटेको उहाँको भनाइ थियो ।

“तिहारका लागि स्थानीय रुपमा उत्पादन हुने फूल पर्याप्त हुन्छ । यहाँका हरेक घरमा थरीथरीका फूल फुल्छन् । पछिल्लो समय गाउँघरमा प्राकृतिक रुपमा फुल्ने फूलहरुको प्रयोगमा कमी आउन थालेको छ”, बोहराले भन्नुभयो, “बजारमा विदेशी बजारबाट आउने र प्लास्टिकका फूलले प्राकृतिक फूलको महत्व बिर्साएको छ ।” प्लास्टिक र आयातित फूलकै कारण पुष्प व्यवसायमा कसैले हात नहाल्ने उहाँको भनाइ थियो ।

गाउँको तुलनामा सदरमुकाम तथा बजार क्षेत्रमा प्लास्टिकका फूल बढी खपत हुने गरेको थियो । यस वर्ष बागलुङ नगरपालिकाले प्लास्टिकका फूल निषेध गरेको छ । प्लास्टिकका फूलमाला बिक्री वितरणमा रोक लगाएर स्थानीय व्यवसायीले उत्पादन गरेका फूललाई प्राथमिकता दिइएको नगर उपप्रमुख राजु खड्काले बताउनुभयो ।

नगरपालिकाको उपभोक्ता हित संरक्षण समितिको बैठकले बागलुङ नगरभित्र प्लास्टिकजन्य फूलको कारोबारमा रोक लगाउने निर्णय गरेको थियो । “जिल्ला प्रशासन, उपभोक्ता मञ्चलगायत सरोकारवालासँग मिलेर निर्णय कार्यान्वयनका लागि अनुगमनसमेत सुरु गरेका छौँ”, उहाँले भन्नुभयो, “आयात रोक्ने र प्राकृतिक वस्तुको उपयोग बढाउन यो निर्णय गरेका हौँ । यसबाट प्लास्टिकका फूलको खरिदमा बाहिरिने ठूलो रकम स्थानीयस्तरमा खर्च हुन्छ ।”

प्लास्टिकजन्य फूूलमालाका कारण वातावरणमा पार्ने असर रोक्नाका साथै स्थानीय फूूल उत्पादनलाई प्रोत्साहन गर्ने लक्ष्यका साथ बिक्री वितरणमा रोक लगाइएको खड्काको भनाइ थियो । बजारमा प्लास्टिकका फूलको कारोबार भएको पाइए कारबाही गरिने नगरपालिकाले जनाएको छ । रासस