• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo

सरकार हत्याराको पछि थियो, तर फैसलापछि मलाई आँट र हिम्मत आयो: भारती मानन्धर



काठमाडौं । नवौं संविधान दिवसको अवसरमा आममाफी पाएका रिगल डन भनिने योगराज ढकालको आममाफी सर्वोच्च अदालतले बदर गरिदिएको छ ।

नेपालगञ्जका चेतन मानन्धरको हत्या अभियोगमा कैद भुक्तान गरिरहेको रिगललाई सरकारले आममाफी दिएको थियो । रिगलको आममाफीविरुद्ध चेतनकी पत्नी भारतीले सर्वोच्चमा रिट निवेदन दिएकी थिईन् ।

रिट निवेदक भारतीले सर्वोच्चको फैसलाले आफूलाई थप साहस दिएको बताएकी छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले सिंगो सरकार हत्याराको पक्षमा लाग्दा पनि आफूले न्याय पाएको भन्दै अदालतलाई धन्यवाद दिईन् । फैसलापछि आफूले न्यायाधीशहरुप्रति शब्दमा धन्यवाद पनि व्यक्त गर्न नसकेर न्यायलयको सम्मानमा सर्वोच्चको सिँढी ढोगेर धर्धरी रोएको सुनाईन् ।

सरकारका कुर्सीहरु बिकिसकेकाले न्यायाधीशको कुर्सी पनि बिक्छ भन्ने आफ्नो धारणा फैसलाले गलत सावित गरिदिएको उनले बताईन् । ‘फैसला सुन्दा अब न्यायाधीशरु पनि बिक्छन् होला भन्ने जुन मेरो सोच थियो, त्यो देखि म गलत भए । त्यो फैसलापछि म यति खुसी भएँ, आफ्ना कुरा भन्न नसकेर म धर्धरी रोएँ । मैले अदालतको सिँढी ढोगेँ । सिंगो सरकार हत्याराको पछि लागेको थियो । फैसलापछि मलाई आँट र हिम्मत आयो । सरकारका कुर्सी बिकिसकेपनि न्यायलय बिकेको रहेनछ भन्ने सोचेर मैले अदालतको सिँढी ढोगेकी हुँ,’– उनले भनिन् ।

नेपाल सरकार र राष्ट्रपतिले पैसामा बिकेर हत्याराहरुलाई आममाफी दिएको उनले बताईन् । सरकारजस्तै न्यायलय पनि बिकेको छ कि भनेर आफ्नो विश्वास डग्मगाइरहेको अवस्थामा त्यो गलत साबित भएको उनले बताईन् ।

फैसला सुन्ने क्रमको आफ्नो मनोभावना सुनाउँदै उनले भनिन्, ‘उहाँहरु (न्यायाधीश) पनि कुनै राजनीतिबाट जोडिएका हुन्छन् होला, उहाँहरुले पनि मलाई के न्याय दिनुहुन्छ होला र रु दवावमा आएर उहाँहरुले पनि मलाई न्याय दिनुहुन्न होला भनेर म डगमगाएको थिएँ । मैले फैसला सुनेँ । मैले आँखा बन्द गरेर दुई जना साथीहरुको हात पक्रिएर फैसला सुनिरहेको थिएँ । सत्यको जीत हुन्छ कि हत्याराहरुको जीत हुन्छ भन्ने सोचमा म थिएँ ।’

उनले अन्यायमा परेका आम पीडितहरुलाई न्यायका लागि लड्न समेत आह्वान गरिन् ।