२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजामा सहयोग रोक्नु ‘अपराध’ हुन सक्छ– आईसीसी



अ+ अ-

कायरो । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) का प्रमुख अभियोजकले गाजामा मानवीय सहयोग रोक्नु मानवीय अपराध हुनसक्ने आइतबार चेतावनी दिनुभएको छ ।

“जेनेभा महासन्धिले प्रदान गरेको राहत आपूर्तिमा अवरोध उत्पन्न गर्नु अदालतको क्षेत्राधिकारभित्र अपराध हुनसक्छ”, कायरोमा पत्रकारहरूसँग करिम खानले भन्नुभयो ।

उहाँले इजिप्टको रफाह क्रसिङको भ्रमण गरेपछि सो कुरा बताउनुभएको हो । उहाँले अत्यावश्यकीय सामग्रीले भरिएका ट्रकहरू रफाह क्रसिङमा रोकिएको र गाजामा प्रवेश नपाएको बताउनुभयो ।

“मैले मानवीय सहयोगसहित भरिएका ट्रकहरू त्यहाँ रोकिएको देखेँ जहाँ कसैलाई त्यो सहयोग आवश्यक थिएन, इजिप्टमा रोकिएको थियो, रफाहमा रोकिएको थियो”, उहाँले भन्नुभयो, “यी आपूर्ति गाजाका नागरिकहरूलाई कुनै ढिलाइ नगरी उपलब्ध गराउनु पर्छ ।”

हाल हमास नियन्त्रित प्यालेस्टिनी क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोग प्रवेश गराउने रफाह एउटा मात्र प्रवेश विन्दु हो । हमास नियन्त्रित उक्त क्षेत्रले पूर्ण घेराबन्दी र इजराइली बमबारीको सामना गरिरहेको छ ।

इजराइली अधिकारीहरूका अनुसार अक्टोबर ७ मा हमासका बन्दुकधारीहरूले सीमा पार गरेर गरेको हमलापछि इजराइलले गाजालाई घेराबन्दी गरेको छ र ठूलो मात्रामा बमबारी सुरु गरेको छ । हमासले गरेको हमलामा अधिकांश सर्वसाधारणसहित एक हजार चार सय जना मारिएका थिए भने हमासले दुई सय ३० नागरिकलाई बन्धक बनाएको थियो ।

इजराइलले गरेको जवाफी हमलामा अहिलेसम्म आठ हजारभन्दा बढी मानिस मारिएको र तीमध्ये आधाजति बालबालिका रहेको हमास–नियन्त्रित स्वास्थ्य मन्त्रालयले बताएको छ ।

अक्टोबर २१ मा रफाह क्रसिङमार्फत सीमित सहयोग सामग्री वितरण सुरु भएको थियो र अहिलेसम्म एक सय १७ ट्रक रफाह क्रसिङबाट गाजा प्रवेश गरेका छन् । घेराबन्दी हुनुभन्दा पहिला सहयोग सामग्री र अन्य सामग्री लिएर करिब पाँच सय ट्रक प्रत्येक दिन गाजामा प्रवेश गर्थे ।

गाजामा सर्वसाधारणलाई आधारभूत खाद्यान्न र औषधि सुनिश्चित गर्नका लागि इजराइलले बिना कुनै ढिलाइ ठोस प्रयास गर्नुपर्ने आफूले इजराइललाई स्पष्टरूपमा भन्न चाहेको खानले बताउनुभयो ।

आइतबार संयुक्त राष्ट्रसङ्घले प्यालेस्टिनी शरणार्थीका लागि उसको एजेन्सी युएनआरडब्लुएले गाजामा सञ्चालन गरेको खाद्यान्न सहायता केन्द्रहरूमा लुटपाट भएपछि सार्वजनिक व्यवस्था बिग्रन सक्ने चेतावनी दिएको थियो ।

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले मृतकहरूको सङ्ख्या बढ्दै गएको र आवश्यक खाद्यान्न, पानी, औषधि र आश्रयको आपूर्ति कम हुँदै गएकाले गाजा क्षेत्रको अवस्था प्रत्येक घन्टा भयावह हुँदै गएको बताउनुभयो ।

इजराइलीले प्यालेस्टिनी क्षेत्र वा प्यालेस्टिनीले इजराइली क्षेत्रमा गरेको जुनसुकै अपराधको पनि आफ्नो कार्यालयमा अनुसन्धान भइरहेको खानले बताउनुभयो ।

“यसमा गाजा र पश्चिम किनारमा भएका हालका घटना सामेल छन्”, उहाँले भन्नुभयो, “सन् १९६७ देखि इजराइलले कब्जामा लिएको क्षेत्रमा प्यालेस्टिनी नागरिकहरूविरुद्ध त्यहाँ बस्नेहरूले आक्रमण गरेका घटनाको सङ्ख्या बढ्दै गएको रिपोर्टले म अत्यन्त चिन्तित छु ।”

खानले बन्धक बनाउनु जेनेभा महासन्धिको उल्लङ्घन भएकोमा पनि जोड दिनुभयो । “हमासले इजराइलबाट बन्धक बनाएका सबैलाई तत्काल रिहा गर्न र परिवारसँग उनीहरूको सुरक्षित फिर्तीका लागि आग्रह गर्दछु”, उहाँले भन्नुभयो, “हमाससँगको युद्धमा इजराइलको नैतिक दायित्व मात्र नभएर युद्धका कानूनहरूको पालना गर्ने पनि दायित्व छ, यो नियम इजराइलमा अन्धाधुन्ध रकेट हमला गर्ने हमासमा पनि समानरूपमा लागू हुन्छ ।” रासस