• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

गाजामा भएको कारवाहीलाई लिएर राष्ट्रसङ्घका महासचिवको इजराइलद्वारा राजीनामा माग



महासचिव एन्टोनियो गुटेरेस (फाइल)

अक्टोबर ७ मा हमासले गरेको आतङ्ककारी हमलापछि गाजामा इजराइलको जवाफी कारवाहीविरुद्ध संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको टिप्पणीलाई लिएर इजराइलले उहाँको राजीनामा माग गरेको छ ।

राष्ट्रसङ्घमा इजराइली राजदूत गिलाड एर्डानले महासचिव गुटेरेसलाई राष्ट्रसङ्घको नेतृत्व गर्नका लागि ‘अनुपयुक्त’ भन्दै उहाँको राजीनामा माग गर्नुभयो ।

“बालबालिका, महिला र वृद्धवृद्धाहरूको सामूहिक हत्याको अभियानामा समझदारी देखाउने महासचिव राष्ट्रसङ्घको नेतृत्व गर्न योग्य हुनुहुन्न, म उहाँलाई तुरुन्त राजीनामा दिन आग्रह गर्दछु, इजराइली नागरिक र यहुदीहरूका विरुद्ध भएको सबैभन्दा भयानक अत्याचारका लागि दया देखाउने महासचिवसँग कुरा गर्नुको कुनै औचित्य नै छैन”, सामाजिक सञ्जाल एक्समा उहाँले भन्नुभयो ।

राष्ट्रसङ्घका महासचिव गुटेरेसले हमासले गरेको हमला ‘शून्यमा नभएको’ भन्दै ‘प्यालेस्टिनी नागरिकहरूको सामूहिक सजाय’ लाई उचित नभएको भनी टिप्पणी गरेपछि इजराइलको उक्त भनाइ आएको हो ।

“हमासले गरेको हमला शुन्यमा भएको होइन भन्ने कुरालाई पनि मान्यता दिनु महत्वपूर्ण हो, प्यालेस्टिनी जनता ५६ वर्षदेखि दमनकारी कब्जामा परेका छन्, उनीहरूले आफ्नो भूमि निरन्तर बस्तीको व्यवस्थापन र हिंसाबाट ग्रस्त भएको देखेका छन्, उनीहरूको अर्थतन्त्र अवरुद्ध भएको छ, उनीहरूका मानिस विस्थापित भएका छन् र घर ध्वस्त भएको छ, आफ्नो दुर्दशाको राजनीतिक समाधान हुने उनीहरूको अपेक्षा हराउँदै गइरहेको छ”, महासभामा महासचिव गुटेरेसले भन्नुभयो, “प्यालेस्टिनी जनताको गुनासोहरूले हमासले गरेको भयानक हमलालाई उचित ठहर गर्न सक्तैन, ती भयानक हमलाले प्यालेस्टिनी जनताको सामूहिक सजायलाई उचित ठहर गर्न सक्तैन ।” रासस