• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo
Latest
★   ३९ जिल्लाका १ सय ६५ ठाउँमा डढेलो, ठाउँठाउँमा आगलागी ★   राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस आज मनाइँदै ★   च्याम्पियन्स लिगः डर्टमण्डले पिएसजीलाई हरायो ★   आईपीएलमा पञ्जाबले चेन्नईलाई लगातार पाँचौं पटक हरायो ★   नागरिक उड्डयनमन्त्री तामाङ्गद्वारा त्रिदेवीनगर, कोटेश्वरको सडक चौडा गर्न स्थलगत निरीक्षण ★   रोहितको कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा ★   हार्दिक पाण्ड्यालाई २४ लाख जरिवाना ★   विभिन्न देशका ओलम्पिक खेलाडी विराटनगरमा ★   यी ४ टोली टी–२० विश्वकपको सेमिफाइनल पुग्ने, इंग्ल्याण्डका पूर्व कप्तानले गरे भविष्यवाणी ★   पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि नि:शुल्क गरिने

परदेशमा पर्व: अमेरिकामा रहेका नेपालीले यसरी मनाए दसैँ- फोटो फिचर



अमेरिका । अमेरिकामा स्थायी बसोबास गर्दै आएका नेपालीले आफ्नो परम्परा र संस्कृतिको जगेर्ना गर्दै निकै रमाइलो वातावरणमा वडादसैँ मनाएका छन् ।

अमेरिकाका कैयौँ राज्यमा छरिएर बसोबास गर्दै आएका नेपालीले विजया दशमी २०८० का अवसरमा आफ्ना मान्यजनबाट टीका, जमरा र प्रसाद ग्रहण गरेर दसैँ मनाएका हुन् ।

नेपालीले कतै आआफ्ना घरबस्तीमा त कतै मन्दिर या सार्वजनिकस्थलमा जम्मा भएर सामूहिकरुपमा दसैँ पर्व मनाएका हुन् ।

अमेरिकी जीवनशैलीमा व्यस्त भएर आफ्नो जीवनयापन चलाइरहेका नेपालीले विभिन्न राज्यमा स्थापित मन्दिरमा पुगेरै टीका ग्रहण गरेका तस्वीर पनि सामाजिक सञ्जालमा राखेका छन् ।

नेपालीको उपस्थिति बाक्लो रहेका टेक्सस, न्यूयोर्क, मेरिल्याण्ड, क्यालिफोर्निया, भर्जिनिया, आयोवा लगायतका क्षेत्रमा नौरथा सुरु भएदेखि नै घरमा मकै र जौका जमरा राखेर स्थानीय समयानुसार बुधबार टीका र जमरा ग्रहण गरेका हुन् ।

पछिल्ला वर्षमा नेपालीले अपार्टमेन्टको बसाईभन्दा व्यक्तिगत घर खरिद गर्ने सङ्ख्या पनि उल्लेख्यमात्रामा बढ्दै गएकाले पनि आफ्ना घरमा नै घटस्थापना गरेर जमरा राख्ने प्रचलन बढेको देखिएको छ ।

एकै स्थानमा ४०–५० को सङ्ख्यामा नेपालीको घर भएका स्थानमा एकापसमा मिलेर जमरा राखेर टीकाको दिन त्यही स्थानबाट बाँडफाँट गर्ने गरेको पनि पाइन्छ । यसरी राखिएको जमरा विजया दशमीका दिन मान्यजनको हातबाट टीकासहित ग्रहण गरिन्छ ।

पारिवारीक कामका लागि अमेरिका पुग्नु भएका नेपाली का‌ग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले पनि न्युयोर्कको बफ्लोमा नेपाली समुदायसंग दसैं मनाउनु भयो । शर्मासंग टिका तथा जमरा ग्रहण गरेपछि बफ्लोमा बस्दै आउनु भएका लोकनाथ अधिकारीले भन्नुभयो “पछिल्ला वर्षमा नेपालीको कडा परिश्रमका कारणले व्यवसाय तथा रोजगारीमा वृद्धि भएसँगै आफ्ना चाडबाड र रीतिरिवाजमा बढी ध्यान गएको मैले अनुभूति गरेको छु । यसले हामीबीच आपसी भाइचारा र सम्बन्धमा विस्तार भएको छ र कुनै महत्वपूर्ण अवसर या कसैलाई गाह्रो सारो पर्दा पनि एकजुट हुन सजिलो भएको छ ।”

उहाँले भन्नुभयो “यस पटकको विजया दशमी अर्थात् टीका साच्चै अबिष्मरणीय रह्यो । परदेशको दशैंलाई पारिवारीक मिलन सहित अर्शिबचन र टिका आदरणीय दाजु बिश्वप्रकाश शर्माको हातबाट ग्रहण गर्न पाउदा कुनै शव्दमा नै बर्णन गर्न सकेको छैन । भनिन्छ समय साच्चै नै बलवान छ । सात समुद्रपारी जुरेको यो संयोगले छुट्टै आनन्दनुभूति भएको छ ।”

आफ्ना नजिकका आफन्तजनसँग कुराकानी, भेटघाट गर्न र दसैं मनाउन कतिपय नेपाली एक राज्यबाट अर्को राज्यसम्म यात्रा गर्ने गरेका पनि बताउँछन् ।

अमेरिकी जनजीवनलाई नजिकबाट भोग्न पाएका आप्रवासी नेपालीलाई आफ्नो चाडबाड र आफन्तको खोजीमा चासो हुन थालेको देखिन्छ । सायद यसैकारणले होला यसपटकको दसै. मा हरेक राज्यमा बाक्लो जमघट भएका दृश्य यत्रतत्र देखिएको छ ।

दसैँका लागि भनेर नेपालबाटसमेत अभिभावक झिकाएर अमेरिकाको भूमिमा दसैँ मान्न पाउने आफूलाई भाग्यमानी सम्झन्छन् । उनीहरुले नेपालबाट आएका अभिभावकसँगै प्रवासी भूमिमा दसै मान्न पाउँदा असाध्यै खुसी लागेको प्रतिक्रिया दिएका छन् ।

आयोवामा बस्दै आउनु भएका ध्रुब अर्यालले भन्नुभयो ‘हामीहरुले हाम्रो भाषा, संस्कृतिलाई जगेर्ना गर्न सक्यौं भने मात्र भावी पिँढीसम्म नै यस्ता चाडपर्व स्थापित हुन सक्छन् । त्यसैले पारिवारिक वातावरणमै दसैँ मनाउनु भावी पिँढीका लागि एउटा मार्गनिर्देशन पनि हो ।”

काममा सधै व्यस्त रहनुपर्ने भएकाले एकअर्कासँग भेटघाट गर्न र परिवारसँग समय बिताउन चाडबाडले महत्वपूर्ण सेतुको काम गरेको छ ।

एक राज्यबाट अर्को राज्यमा पुग्न घण्टौँको सडक यात्रा तथा हवाई यात्रालाई समेतलाई प्रवाह नगरी नेपालीको चहलपहल हुनु आफै‍मा संस्कृति जगेर्नाको गतिलो उदाहरण पनि हो ।

त्यसो त दसैँको मौका पारेर विभिन्न राज्यमा रहेका स्थानीय सामुदायिक सङ्घसंस्थाले सांस्कृतिक कार्यक्रम पनि गर्ने गरेका छन् ।

यहाँका मन्दिरमा राखिएको जमरा, समुदायमा समन्वय गरेर लगाइएको टीकाले आफूलाई नेपालमै छु कि अमेरिकामा भन्ने छुट्याउन गाह्रो भएको अनुभवसमेत यहा रहेका नेपालीहरुको छ ।

टेक्सस, भर्जिनिया, मेरिल्याण्डमा रहेका नेपाली सामुदायिक केन्द्र, मन्दिरमा मानिस लाइन लागेर टीका ग्रहण गरेका दृश्य आफैमा निकै रोचक छ ।

अध्येताका अनुसार नेपालबाट अमेरिका आएका नेपालीको उपस्थिति सन् १९९५ बाट बढ्न थालेको हो । विस्तारै डाइभर्सिटी भिसाका माध्यमबाट आउनेको सङ्ख्या बढ्दै जाँदा र हरेक वर्ष झण्डै १० हजारको सङ्ख्यामा आएका विद्यार्थीका कारण अमेरिकाको भूमिमा पनि दसैँ मान्न र मनाउने परिपाटी वृद्धि हुँदै गएको छ ।

भर्जिनिया, पेन्सल भेनिया मेरिल्याण्डमा नेपालीले नै सञ्चालनमा ल्याएका बाख्रा फार्मका कारणले दसैँका बेला काठमाडौँ, पोखरा, विराटनगर, वीरगञ्ज, नारायणगढलगायतका स्थानमा देखिने खसी बजारको झल्कोसमेत अनुभूत गर्न सकिन्थ्यो । तर बलि नै दिन भने यहाँको कानूनले बर्जित गरेको छ । यहाँका स्थानीय केही ग्रोसरी स्टोरलेसमेत खसीको मासु बिक्री गर्ने भएकाले दसैँमा मांशाहारीका लागि थप सजिलो भएको थियो ।

वर्ष दिनमा आउने दसैँमा मीठोमसिनो खाने, राम्रो लगाउने भन्ने विगतका परम्परा एवं भनाइलाई पछिल्ला वर्षमा विदेशमा आएर बस्न थालेकाले पनि आफ्ना भावी सन्ततिसम्म पु-याउन सकेको देखिन्छ ।

आफ्नो कला र संस्कृतिको जगेर्ना कसरी गराउने भन्ने विषय उनीहरुले आफ्ना सन्ततिलाई यस्तै चाडबाड एवं परम्पराको जगेर्नाबाट पनि सिकाउन सक्दछन् ।

अनेकतामा एकता सांस्कृतिक पर्वको विशेषता भने झैँ अमेरिकामा पनि दसैं पर्वले विस्तारै नेपाली आप्रवासीको महत्वपूर्ण पर्वका रुपमा मान्यता पाउँदै गएको देखिन्छ ।