हरेक दिन साँझ पर्दा नपर्दै बागमती नदीको वारिपारि नै श्रद्धालु भक्तजनको घुईचो लाग्न सुरु हुन्छ । बागमती नदिको पारी पट्टि, पशुपतिनाथको दक्षिण ढोका सामुन्नेजस्तैमा माइकबाट सुमधर भजनहरु गुञ्जन थाल्छन् । साथमा साँझको आरतीले झझलाकार स्वर्ण पशुपतिधाम पहेँलपुर देखिन्छन् ।
यता बागमतीमा पर्ने आरतीको छाँयाले दिव्य बागमती पनि स्वर्णमयि देखिन्छिन् । साथमा पशुपतिनाथका घण्ट, यता सुमधुर भजन र उपस्थित भक्तालुहरुको करतल ध्वनीले पशुपति क्षेत्र संगीतमय बन्न पुग्दछ । अनि यसको साथमा शुरु हुन्छ कतिपय भक्तालुको शिव ताण्डव नृत्य ।
माहौलले यहाँ उपस्थित सबैलाई बडो राम्रो र रोमाञ्चक रुपमा उचाल्ने गर्दछ । भनिन्छ, त्यस सन्ध्या आरतीका समयमा दिव्य पशुपतिनाथ क्षेत्रका नाग नागिन्हरु पनि आफू बसेका चरबाट बाहिर निस्किने गर्दछन् । कतिपय दर्शनार्थीहरु यही दुर्लभ दृश्यका लागि पनि साँझको आरतीका लागि पुग्ने गर्दछन् । यसैले पशुपति क्षेत्रको सन्ध्या आरतीको विशेष महत्व रहेको छ ।
जय शिव शंकर शम्भो जय गिरिजाधीश ।
शिव जय गिरिजाधीश ।।
जय जय करुणासागर पशुपति जगदीश ।
ओम् हर हर हर महादेव ।।
बिगत १३ बर्षदेखी निरन्तर रुपमा सञ्चालन हुदै आएको आरती हेर्नका लागि दैनिक हजारौँ भक्तजन तथा श्रद्धालुहरु यहाँ पुग्ने गरेका छन् । पशुपतिनाथका नित्य दर्शन गर्ने जस्तै आरतीको समयमा दैनिक रुपमा आउने भक्तजनहरु पनि निकै छन् ।
महाराजगञ्जबाट बिगत ७ बर्षदेखि आरतीका लागि नै पशुपति पुग्दै आएकी ७० बर्षीया कृष्णादेबी शाह आरतीमा आउन नपाएको दिन आफूलाई रित्तो अनुभब गर्नुहुन्छ । घाम पानीको शरीर भन्छन् गारो सारो त भैहाल्छ कहिलेकाहीँ आउन नसक्दा सारै खल्लो महशुस हुने उहाँको अनुभब रहेको छ ।
आरतीको यस्तो शक्ति देखिन्छ कि एकपटक पुगेको मानिसलाई फेरि पनि पटकपटक पुगीरहन मन लाग्छ । बागमती नदिको वारिपारि हेर्ने हो भने पाका उमेर समूहका भन्दा यूवा युवतीको बाहुल्य रहेको देखिन्छ । आरती गायक राजन खतिवडाको मन्त्रमुग्ध पार्ने भजन सुरुहुने बित्तिकै एक खालको अनौठो अनूभुति हुन्छ ।
मानिसहरु भजनमा नै समर्पित हुन्छन् । ठाउ मिलेसम्म मन्त्रमुग्ध भएका नाच्छन् । आरती स्थलको पारीपट्टि शबहरु जलिरहेका हुन्छन्, शब जलाउदाको धुवाँ आकाशरि रङ्मगिएको हुन्छ । त्यही अन्तिम सत्यलाई बुझेर होला आरतीले मान्छेलाई एकाकार बनाएको हुन्छ ।
आरती कार्यक्रम लगभग एक घण्टा जतिको हुन्छ । तर दुई तीन घण्टाअघिदेखि नै भक्तजनहरु जम्मा हुने काम सुरु हुन्छ । आरती सुरु भएपछि ताण्डव गायन र भजन किर्तन चलिरहन्छ । मान्छेले यहाँ आएपछि आफैँलाई बिर्सिदिन्छ ।
आरतीका लागि बिशेष तालीम लिएका तीन कलाकारले भजनको तालका ताल मिलाएर आरती उतार्दा पशुपति क्षेत्र पटक पटक कर्तल ध्वनीले गुञ्जायमान हुन्छ । भारतको बनारसको गंगा तटमा आरती देखेर आएका केही ब्यक्तिहरुले पशुपतिमा पनि आरती गर्ने योजना बनाए ।
साउन ०६४ श्राबण महिनामा दुर्गा खतिवडा, सागर खतिवडा, धर्मराज बुढाथोकी, रमेश पोख्रेललगायत उत्साही यूवाहरुको अग्रसरतामा ११ सदस्य रहेको आरती सेवा समिति गठन भएपछि यसले निरन्तरता पाउन थाल्यो ।
अरुको पनि चासो बढ्दै गयो । केही रकमहरु जम्मा हुन थालेपछि आरतीको लागि आवश्यक सामग्रीको जोहो पनि हुन थाल्यो । बिस्तारै ब्यवस्थित रुपमा आरती सेवा समिति क्रियाशिल भएपछि संस्थाका सदस्य बन्नेहरुसँग दाताहरु पनि थपिए ।
एक लाख तिरेर आजिबन सदस्य बन्नेक्रम पनि सुरु भयो । सरकारले पनि सहयोग गर्न थाल्यो । आफ्ना परिबारको सुख शान्ति तथा जन्म बिहान, ब्रतबन्ध जस्ता कार्यको सन्र्दभ पारेर आफनो नाममा त्यस दिनको आरती गर्ने क्रम पनि सुरु भयो, जुन निरन्तर रहेको छ ।
सरकारको केही सहयोग, भक्तजनहरुले दिएको दानहरु जम्मा पारेर अक्षयकोष निर्माण भएको छ र त्यसबाट आउने ब्याजले आरती सञ्चालनलाई सहयोग पुगेको छ । समितिका उपाध्यक्ष एवं प्रवक्ता बाशुदेव शास्त्रीका अनुसार बिगत १३ बर्षदेखि अखण्ड रुपमा आरती नित्य रुपमा सञ्चालन भै रहेको छ ।
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाको अन्तिम संस्कारका समयमा भिड ब्यवस्थित गर्न कठिनाई भएपछि राती १० बजे पछि पनि आरती गरेर निरन्तरता दिइएको उहाँले जानकारी दिनुभयो । शास्त्रीका अनुसार २०७७ चैत्र ११ पछि कोरोना सक्रमणको समयमा पनि एक जना वा केही व्यक्ति उपस्थित भएर आरतीलाई निरन्तरता दिइएको छ ।
हाल दैनिक चारदेखि पाँच हजार भक्तजन आउने गरेको बताउनु भयो ।
शनिबार र मंगलबार भक्तजनको संख्या बढी हुने भन्दै शास्त्रीले आरती अभियानले धर्म संस्कार संस्कृतिका बारेमा नयाँ पुस्ता निकै नै उत्सुक रहेको आफुले पाएको बताउनुभयो । १३ बर्षअघि बागमती किनारबाट सुरु भएको आरती अभियान हाल मुलुकका विभिन्न १०८ ठाउमा फैलिएको छ ।
जनकपुरको गंगाशागर, लगायत बिभिन्न स्थानमा, नारायणी नदि किनार, गुप्तेश्वर महादेब, केदारेश्वरलगायका स्थानमा आरती अभियान सुरु हुन लागेको पनि उहाँले जानकारी दिनुभयो ।








