• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

नवरात्रको सातौँ दिन कालरात्रि देवीको पूजा आराधना गरिँदै



काठमाडौं । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ ।

प्राणीमात्रलाई कालले नष्ट गर्दछ । त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने मान्यता पाइन्छ । यस्ती देवीको स्वरुपलाई कालरात्रि भनिन्छ । कालरात्रि कृष्ण वर्णको हुनुका साथै यिनी भयङ्कर आकृतिको हुन्छिन् भन्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ ।

सातौँ दिन आज कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् ।

दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यिनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । नवरात्रको सातौँ दिन आज पूजा कोठा वा दसैँ घरमा फूलपाती पनि भित्र्याइँदै छ । फूलपाती अपराह्न भित्र्याउने वैदिक विधि छ ।