• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

आँबुखैरेनीमा पढ्दै, कमाउँदै: कुखुरापालनमा विद्यार्थी रमाउँदै



तनहुँ । आँबुखैरेनी–६ स्थित कन्यादेवी माध्यमिक विद्यालयमा विद्यार्थीलाई पढ्दै, कमाउँदै कार्यक्रमअन्तर्गत कुखुरापालन व्यवसाय सुरु गरिएको छ ।

एक वडा, एक उत्पादनअन्तर्गत आँबुखैरेनी गाउँपालिका कार्यालयले रु पाँच लाख अनुदान प्रदान गरेपछि विद्यालयले स्थानीय जातका कुखुरापालन गरेको हो । गाउँपालिकाबाट प्राप्त भएको उक्त अनुदान रकमबाट विद्यालय भवन मर्मतसम्भार, विद्यालय कम्पाउण्ड, दाना र चल्ला खरिदमा खर्च गरिएको विद्यालयका प्रधानाध्यापक सूर्यमान गुरुङले जानकारी दिनुभयो ।

सुरुमा कुखुराका चल्ला र दाना खरिदमा करिब रु एक लाख ३५ हजार खर्च भएको छ । खर्च कटाएर रु ३० देखि ४० हजारसम्म मुनाफा लिन सकिने योजना रहेको उहाँले बताउनुभयो । “विद्यालयमा हाल एक सय २५ विद्यार्थी अध्ययनरत छन्”, उहाँले भन्नुभयो, “कक्षा ९ र १० का ४१ विद्यार्र्थीमध्ये करिब २० जना विद्यार्थी कुखुरापालनमा छन् ।”

गाउँपालिकाबाट प्राप्त अनुदानलाई आयमूलक क्षेत्रमा लगानी गरी कोष वृद्धि गर्दै जाने योजना छ । हप्तामा एक दिन विद्यार्थीको पालो आउने गरी कार्यविभाजन गरिएको छ । यस विद्यालयबाट एसइई पास गरेर अन्य विद्यालय जाँदा प्राविधिक धार र व्यावसायिक धारमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि आधारभूत तहबाट प्राविधिक र व्यावसायिक शिक्षा प्रदान गरेको हो ।

गत असारको ६ गते दुई सयवटा स्थानीय जातका चल्ला ल्याएर पाल्न सुरु गरिएको र तीन महिनामै बिक्री गर्न लायक भएको प्रअ गुरुङले बताउनुभयो । “६० वटा जति कुखुरा बिक्री गरिसकिएको छ”, उहाँले भन्नुभयो, “भाले प्रतिगोटा रु आठ सय र पोथी रु सात सयमा बिक्री गर्ने गरिएको छ ।”

विद्यालय परिसरमा करिब १३ रोपनी क्षेत्रफल रहेको छ । कुखुरालाई चरन क्षेत्र प्रशस्त भएकाले पालन कार्यमा सहज भएको सो विद्यालयले जनाएको छ । कुखुरापालनबाट आएको मुनाफाबाट केही रकम विद्यालयका लागि र विद्यार्थीको पठनपाठनमा खर्च गर्ने गरी अनुदान रकम प्रदान गर्ने योजना रहेको गाउँपालिका पशु चिकित्सक सन्तोष देवकोटाले जानकारी दिनुभयो । विद्यालय तहबाटै विद्यार्थीलाई प्राविधिक र व्यावसायिक शिक्षातर्फ आकर्षित गराउन गाउँपालिकाले यस किसिमको अभियानलाई प्राथमिकता दिँदै आएको छ ।

आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित कृषि व्यवसाय प्रवर्द्धन केन्द्र र पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत कन्यादेवी माध्यमिक विद्यालयमा अनुदान रकम प्रदान गरेको गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । रासस